नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा स्वास्थ्य प्रवर्धनात्मक विद्यालय मापदण्ड कार्यान्वयनको क्रममा हेल्थ एम्वेसडरको छनौट कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा हेल्थ एम्बेसडर छनोट र क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको हो ।
उक्त अवसरमा प्रत्येक विद्यालयमा पाँच सय विद्यार्थी बराबर एक छात्र /एक छात्रा हेल्थ एम्बेस्डर छनोट गर्ने प्रावधान अनुसार पाँच हजार विद्यार्थी भएकाले पाँच जना छात्र र पाँच जना छात्रा हेल्थ एम्बेस्डर छनोट गरिएको छ ।
जसमा छात्रतर्फ आशिष गौतम, कौशल आचार्य, माधव कुँवर, आर्जित कार्की, सविन पोखरेल र छात्रातर्फ समिता गौतम, विनिता महत, अनुष्का खड्का, सायमा बानो र रीतिका गाहा छनोट भएका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका जनस्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण शाखा प्रमुख युवराज पाण्डेयले विद्यालयमा हेल्थ एम्बेसडर छनोट गर्ने महत्त्वपूर्ण कार्य भएकोले बुटवल उपमहानगरपालिका भित्रका १९ वटा वडाले नै अनुकरण गर्न सक्ने किसिमले कार्य सम्पादन गर्न निर्देशन दिँदै अतिरिक्त क्रियाकलापका साथै पढाइलाई समन्वय गरेर नेतृत्व गरी जङ्गफुट नियन्त्रण, विद्यालयको चमेना गृह अनुगमन, दिवा खाजा अनुगमन लगायतका कार्यमा सक्रिय रूपमा लाग्न आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा कक्षा ९ की विद्यार्थी आकृति गाहाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्टाफ नर्स दिपा केशरीले सहजीकरण गरेकी थिइन ।
हेल्थ एम्बेसडर छनोट कार्यक्रममा शिक्षक प्रतिनिधि अनमी शिक्षक सुजिता श्रेष्ठ, एम्बेसडर छनोट भएका विद्यार्थीहरु विनिता महत, समिता गौतम, माधव कुँवर र आशिष गौतमले प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपालमा स्वास्थ्य प्रवर्धनात्मक विद्यालय मापदण्ड अनुसार विद्यालय तहमा कोशी प्रदेशमा एक सय साठी, मधेश प्रदेशमा चालिस, बागमती प्रदेशमा आठ सय अड्चालिस, गण्डकी प्रदेशमा चवन्न, सुदूरपश्चिम प्रदेशमा छत्तीस र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट दुई सय अड्चालिस गरी सरकारी तवरमा एक हजार तीन सय छयासी सामुदायिक विद्यालयहरूमा स्टाफनर्सहरु कार्यरत रहेका छन् ।