रुपन्देहीमा उपनिर्वाचनको माहोल तातिँदै गएको छ । पछिल्लो समय दलहरुले उपयुक्त उम्मेदवारको खोजी गरिरहँदा स्वतन्त्र युवाहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
बिहीबार मात्रै भैरहवामा पत्रकार सम्मेलन गरी स्वतन्त्र युवा अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
गुप्ताले उम्मेदवारी घोषणा गर्दै रैथाने, यहाँको क्षेत्र र माटो बुझेको भएकाले आफू चुनावमा होमिएको जनाए । उनले क्षेत्र नम्बर ३ ले स्थानीय नेता नपाउँदा जनता र क्षेत्रको समस्या जहाँकोतही रहेको बताए । विगतमा यहाँबाट निर्वाचितहरु क्षेत्रमा नआउने, जनताका समस्या नसुन्ने, सम्भावना भएको यो ठाउँलाई बेवास्ता गर्ने काम हुँदै आएकाले यसपटक आफूलाई योग्य ठानेर उम्मेदवार बनेको जनाए ।
आफूले अहिले उम्मेदवारी घोषणा गरेको तर भोलिका दिनमा अन्य दल तथा समूहसँग सहकार्य हुन सक्ने गुप्ताले बताए । गुप्ताले गत बैशाखमा मात्रै राप्राप रुपन्देहीको उपाध्यक्ष पदबाट राजीनामा दिएर स्वतन्त्ररुपमा आफ्नो राजनीतिक गतिविधि बढाउँदै आएका थिए ।
निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेपछि क्षेत्रमा यसअघि बुटवलका लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । गुप्ताले आफू राजनीतिक चेत भएको व्यक्ति भएकाले सबैसँगको सहकार्य, सहमती र सहअस्तित्वलाई स्वीकार्दै अघि बढ्ने गुप्ताले जनाए । उम्मेदवारीसँगै गुप्ताले आफ्नो एजेण्डा पनि सार्वजनिक गरेका छन् । ‘अबको नेतृत्व रैथाने’ भन्दै गुप्ताले ६ वटा बुँदामा आफूले अघि सार्ने एजेण्डा तय गरी सार्वजनिक गरेका हुन् ।
जसअनुसार पर्यटन क्षेत्रको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन र बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक कार्यक्रमहरु गर्न पहल गर्ने उनले बताए । यस्तै, कृषितर्फ कृषकको आर्थिक सुधारका लागि मल, बीउ एवं सिंचाईका लागि सुविधा र उत्पादित सामाग्रीहरुको बजारीकरण गर्ने उनले योजना अघि सारेका छन् ।
यसैगरी उद्योगतर्फ उद्योगी–व्यवसायीहरुले हाल भोगिरहेको समस्याहरु समाधान लागि उच्च प्राथमिकता दिने उनको भनाई छ । गुप्ताले गुणस्तरीय शिक्षाका लागि पालिकास्तरदेखि नै समाधानको पहल गर्ने, जिल्लामा उत्पादित सम्पूर्ण सामाग्रीहरुलाई विश्वबजारसम्म जोड्नका लागि सुरुवात गरी रोजगारीमा बढोत्तरी गर्ने जनाए ।
यस्तै, अन्तर्राष्ट्रियरुपमै परिचित सिद्धार्थनगर नगरपालिकाको क्षेत्रविस्तार गरी उपमहानगर बनाउन पहल गर्ने र समानुपातिक रुपमा क्षेत्रको विकास गर्ने बताए । सिद्धार्थनगर–३ निवासी ४३ वर्षीया गुप्ता बौद्धिक युवाका रुपमा गनिन्छन् । उनले विद्यार्थीकालबाटै विभिन्न पार्टीका कमिटीहरुमा रहेर काम गरेका छन् भने सफल युवा उद्योगी समेत हुन् ।










