सङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देहीमा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । मंगलबार काठमाडौँमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए ।
रुपन्देही-३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार उठाउने निर्णय गरिएको हो । उक्त निर्णयप्रति डा.सिके राउत नेतृत्वको जनमत पार्टीले असहमति जनाएको छ । जनमत पार्टीले आफ्नो छुट्टै उम्मेदवार उठाउने निर्णय गरेको छ ।
मोर्चाबाट उपनिर्वाचनबारे आधिकारिक निर्णय गर्ने भएपछि जनमत पार्टीका नेताहरू आजको बैठकमा उपस्थित भएनन् । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।
निजामती ऐनमा कुलिङ पिरियडकाबारेमा भएको अनियमितताबारे छानबिनको माग समेत मोर्चाको बैठकले गरेको छ । साथै सर्वोच्च अदालतले ५२ जनाको संवैधानिक नियुक्तिलाई गरेको सदरप्रति पनि मोर्चाले आपत्ति जनाएको छ ।










