तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देही–३ मा उपनिर्वाचन : उम्मेदवारमा क–कसको चर्चा ?

बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएसँगै उम्मेदवार बन्न आकाङ्क्षा राख्ने नेताहरूको लेखाजोखा हुन थालेको छ ।

२०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि रिक्त ठाउँमा उपनिर्वाचन गर्ने गरी निर्वाचन आयोगले मिति घोषणा गरेको छ । दलहरू उम्मेदवार चयनमा केन्द्रित हुनु अघि नै आकाङ्क्षीहरू सक्रिय हुन थालेका छन् ।

नेकपा एमालेबाट रुपन्देही–३ मा खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ । यद्यपि एमालेका अन्य नेतासमेत उम्मेदवार बन्न प्रयासरत छन् ।

भैरहवाका एमाले नेता भरत पोखरेल, पूर्वप्रदेश सभा सदस्य दधिराम न्यौपाने, एमाले रुपन्देही उपाध्यक्ष हितराज पन्थी लगायतको नाम सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ ।

केही दिन अगाडि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका खिमलाल भट्टराई नै एमालेबाट उम्मेदवार बन्ने पक्काजस्तै रहेको पार्टीका स्थानीय नेता बताउँछन् ।

भट्टराई पूर्वराष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन् । एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले अहिले बजारमा आएको हल्लाभन्दा पनि पार्टीले गर्ने औपचारिक निर्णय कुर्नुपर्ने बताए ।

नेपाली कांग्रेसबाट बालकृष्ण खाण उम्मेदवार बन्ने चर्चा छ । भुटानी शरणार्थी प्रकरणमा मुद्दा चले पनि उम्मेदवार बन्न पाउने भएकाले उनी आवश्यक तयारीमा जुटिसकेको बताइन्छ । यद्यपि उम्मेदवारीबारे उनले खुलेर बताइसकेका छैनन् ।

कांग्रेस रुपन्देही जिल्ला सभापति एवं बालकृष्ण खाणका सहोदर भाइ रामकृष्ण खाणले मुद्दा चलिरहे पनि कानुनी रूपमा निर्वाचनमा उम्मेदवार हुन पाउने तर उम्मेदवार बन्ने कि नबन्ने भन्ने विषयमा अहिलेसम्म औपचारिक धारणा बनिनसकेको प्रस्ट पारे ।

यहाँ कांग्रेसबाट पूर्वसांसद प्रमोद यादव, पूर्वजिल्ला सभापति रामचन्द्र ढकालको पनि चर्चा छ । प्रमोद रुपन्देही क्षेत्र नम्बर ४ मा यसअघि पराजित भएका थिए । भैरहवा घर भएका उनले अहिले क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने चाहना राखेको कांग्रेसका नेता तथा कार्यकर्ता बताउँछन् । ढकाल पनि इमानदार र पुरानो नेता भएकाले उम्मेदावारीका लागि दाबी गरिरहेको बताइन्छ ।

यहाँ राप्रपाबाट स्वर्गीय दीपक बोहराकै परिवारका सदस्यलाई उम्मेदवार बनाउने सम्भावना छ । दीपकका दुई श्रीमतीमध्ये जेठी मञ्जुतर्फका छोरा गौरव पाइलट हुन् । कान्छी श्रीमती उन्नतितर्फका छोरा इन्जिनियर प्रज्जव बोहरा पनि राजनीतिमा आउन इच्छुक छन् । नातिनी स्वाती थापा पनि राजनीतिमा आउन इच्छुक रहेको बताइएको छ । अघिल्लो निर्वाचनको प्रचारप्रसारमा दीपक बोल्न नसक्ने अवस्थामा थिए भने स्वातीले नै दीपकका तर्फबाट मतदातालाई सम्बोधन गरेकी थिइन् । राप्रपाको केन्द्रीय सदस्यसमेत रहेकी उनी पार्टीका हरेक कार्यक्रममा सक्रिय सहभागी हुने गरेको कार्यकर्ता बताउँछन् ।

यहाँ राप्रपा जिल्ला अध्यक्ष एवं सिद्धार्थ नगरपालिका पूर्वमेयर सागर प्रताप राणा पनि उम्मेदवार बन्ने चाहना गर्दैछन् । यद्यपि राप्रपाले कसलाई उम्मेदवार बनाउने भन्नेबारे निर्णय गर्न बाँकी रहेको राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले रातोपाटीलाई बताए । ‘भर्खरै निर्वाचन मिति घोषणा भएको छ, अब भोलिदेखि औपचारिक रूपमा पार्टीमा छलफल होला,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू पनि उम्मेदवार बन्नका लागि केही अघिदेखि नै दौडधुप गरिरहेका छन् ।

यहाँ रास्वपाबाट प्रदेश उपाध्यक्ष शालिकराम घिमिरे, प्रदेश सदस्य प्रकाश ज्ञवाली, क्षेत्रीय सभापति मधु अर्याल र बुटवलका चिकित्सक डा योगेन्द्र अग्रहरीको नाम चर्चामा छ । यद्यपि औपचारिक रूपमा पार्टीभित्र अझै उम्मेदवारीको विषयले प्रवेश नपाएको प्रदेश उपाध्यक्ष घिमिरेले बताए ।

केही दिनमा महामन्त्री कवीन्द्र बुर्लाकोटी रुपन्देही आउने जानकारी दिँदै उनले त्यो वेला उम्मेदवारको विषयमा औपचारिक रूपमा छलफल हुने बताए ।

नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला अध्यक्ष निर्मल जिसीले पार्टीमा उम्मेदवार बन्न योग्य धेरै साथी भए पनि कसलाई अघि सार्ने भन्नेबारे औपचारिक रूपमा छलफल नभएको बताए । छिटै बैठक बसेर उम्मेदवार छान्ने प्रक्रियामा जाने उनको भनाइ छ ।

२०७९ सालको निर्वाचनमा रुपन्देही–३बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराले कांग्रेस नेता बालकृष्ण खाणलाई २ हजार ६८१ मतले पराजित गरेका थिए । त्यो वेला बोहराले ३६ हजार ७१७ र खाणले ३४ हजार ३६ मत पाएका थिए । बोहराको गत चैत १९ गते काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित