
आगामी आर्थिक वर्ष २०८२–२०८३ का लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । दोस्रो नगरसभाको सातौं अधिवेशन (तेस्रो बैठक) मा सोमबार उपप्रमुख जगेश्वरदेवी चौधरीले उक्त आकारको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा चालु खर्चतर्फ ४४ दशमलव १७ प्रतिशत र पूँजीगतर्फ ५५ दशमलव ८३ प्रतिशत विनियोजन गरिएको छ ।
चालु वर्षमा तिलोत्तमाले २ अर्ब ७६ करोड रुपैयाँको बजेट ल्याएको थियो । तिलोत्तमाले आगामी वर्ष आन्तरिक राजस्वतर्फ ३३ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार रुपैयाँ प्राप्त हुने प्रक्षपण गरेको छ ।
तिलोत्तमा नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको परिणात्मक अभिवृद्धि गर्ने, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधार लगानी, उद्यमशीलता, रोजगारी, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने बजेट बक्तव्यमा उल्लेख छ ।
यस्तै वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका जोखिम पहिचान तथा न्यूनीकरण, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, समन्यायिक विकास र विकासका प्रतिफलमा न्यायपूर्ण पहुँच कायम गर्ने, समतामूलक समाज र समावेशी विकासलाई अगाडि बढाउने र गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन गर्ने जस्ता कार्यक्रमले बजेटमा प्राथमिकता पाएका छन् ।
‘समृद्ध नगर : सुखी नगरबासी’ भन्ने लक्ष्य हासिल गर्नको लागि बलियो आधार तय गर्नु बजेटको मूल उद्देश्य रहने चौधरीले बताइन् । शिक्षा क्षेत्रमा लगानी गरी समग्र नगरको शिक्षाको सर्वाङ्गीण विकास र गुणस्तरमा वृद्धि, सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नगरबासीमा सुनिश्चित गर्ने, उद्यमशीलताको विकास र नवप्रर्वतनमा आधारित योजनमार्फत रोजगारी सिर्जना गर्ने, वातावरण, विपद् व्यवस्थापन क्षेत्रमा लगानी वृद्धि गरी समुन्नत र सुरक्षित नगर निर्माण गर्ने बजेटमा बक्तव्यमा उल्लेख गरिएको छ ।