तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

करार शिक्षक हटाउने निर्णयले मालिकाका २ विद्यालय बन्द

तम्घास । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले करार शिक्षकहरूलाई हटाउने निर्णय गरेपछि उत्पन्न विवादले दुई विद्यालयको पढाइ नै प्रभावित भएको छ ।

मालिका गाउँपालिका–२ दर्लिङ्गमा रहेको शान्त समाज बालविकास केन्द्र र मालिका गाउँपालिका–७, घमिरमा रहेको बासखोला बालविकास केन्द्र बन्द भएका हुन् । ती दुवै विद्यालयका शिक्षकहरुको करार सेवालाई गाउँपालिकाले निरन्तरता नदिने निर्णय गरेपछि विद्यालयमा अध्ययनरत बालबालिकाहरुको भविष्य अन्योलमा परेको अभिभावकहरुको गुनासो छ ।

११ बालबालिका अध्ययनरत शान्त समाज बालविकास केन्द्रमा कार्यरत शिक्षिका कल्पना घर्तीलाई हटाउने निर्णय गाउँपालिकाले गरेको थियो । त्यसैले यो विद्यालय एक सातादेखि बन्द छ ।

स्थानीय अभिभावक कमला विक भन्छिन्, ‘हामी मेलापात छोडेर बिहान १ घण्टा पैदल हिँडेर छोराछोरी विद्यालयमा ल्याउँछौं तर विद्यालय सधैं बन्द देखिन्छ । हाम्रो समय पनि बर्बाद, बालबालिकाको भविष्य पनि बर्बाद ।’

बालविकास केन्द्रका सदस्य दानबहादुर घर्तीले पाँच वर्षदेखि सुचारु रहेको विद्यालय एक्कासि बन्द गरिँदा अभिभावकमा निराशा छाएको बताए । ‘हामीलाई शिक्षक हटाउने निर्णयबारे कुनै जानकारी छैन,’ उनले भने, ‘यहाँको भौगोलिक अवस्थाका कारण बालबालिका अन्यत्र स्थानान्तरण गर्न गाह्रो छ । खोलानाला तर्नुपर्छ, दूरी धेरै छ ।’

यसैगरी मालिका गाउँपालिका–७, घमिरमा रहेको बासखोला बालविकास केन्द्र समेत बन्द भएको छ । सो केन्द्रमा कार्यरत अस्थायी शिक्षिका राधिका खड्कालाई हटाउने निर्णयसँगै केन्द्र बन्द गरिँदा त्यहाँ अध्ययनरत ७ जना बालबालिका र तिनका अभिभावक प्रभावित भएका छन् ।

करार कर्मचारीको विवाद

पद सिर्जना नभई नियुक्त भएको भन्दै गाउँपालिकाले ३७ जना शिक्षक/कर्मचारीहरुको २०८२ वैशाखपछि करार अवधि नथप्ने निर्णय गरेको थियो । २०८२ बैशाख २३ मा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको थियो । निर्णय हुने दिनको कार्यपालिका बैठकमा उपाध्यक्षबाहेक १३ जना उपस्थित थिए । जसमा ४ वडाध्यक्षसहित ५ जना कार्यपालिका सदस्यले यस विषयमा फरक मत राखेका थिए ।

मालिका गाउँपालिका अध्यक्ष देबीराम अर्यालले एकलौटी रुपमा करार शिक्षकहरुको सेवा अवधि नथप्ने निर्णय गरेको भन्दै पालिकाभित्रै विवाद सिर्जना भएको छ । गाउँपालिकाका वडानम्बर–५ का वडाअध्यक्ष रेखाकुमार जिसीले पत्रकार सम्मेलन गरेरै निर्णय सच्याउनुपर्ने बताएका थिए ।

पालिकाको आन्तरिक विवाद चर्किएपछि करिब दुई महिना अघि मात्र मालिका गाउँपालिकामा पदस्थापन भएका प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले समेत सरुवा मागेर गाउँपालिका छाडेका थिए ।

गाउँपालिकाका तत्कालीन प्रवक्ता शोभाखर गिरीले स्थानीय सरकारले कोही कसैको जागिर खोस्ने विषय भन्दा पनि संघसंस्था ढल्ने स्थितिमा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित