
बुटवल । सरकार गठनका क्रममा भएको सहमती उल्लघन गरेको भन्दै लुम्बिनी प्रदेश सरकारबाट जनता समाजबादी पार्टी (जसपा)ले मन्त्रिलाई फिर्ता बोलाएको छ ।
सरकार गठन हुँदा २ मन्त्रालय दिने सहमती भएपनि एउटा मात्र मन्त्रालय दिएपछि जसपाले मन्त्रीलाई सरकार बाट फिर्ता बोलाएको हो ।
मन्त्रिपरिषद् गठन हुँदा जसपाबाट भण्डारीलाल अहिर सरकारमा सहभागि भएका थिए । उनलाई भूमि व्यवस्था तथा कृषि मन्त्रालयको जिम्मेवारी दिइने तयारी थियाे । उनी यस अघि बनेका ३ वटै सरकारमा मन्त्री बन्ने जसपाका नेता हुन ।
सहमती उल्लघन गरेको भन्दै मन्त्री अहिरले राजिनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई शनिबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन ।
जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपालाई २ मन्त्रालय दिने सहमती भएपनि एउटा मात्र मन्त्रालय दिइएकाले सरकार बाट मन्त्रीलाई फिर्ता बोलाइएको बताए । जसपाका लुम्बिनीमा ३ सांसद छन् । अध्यक्ष यादवले मन्त्रीबाट अहिरलाई फिर्ता बोलाइएको भएपनि सरकारलाई दिएको समर्थन भने फिर्ता नलिइएको बताए ।
अहिर २५ चैतमा विनाविभागीय मन्त्री नियुक्त भएका थिए । उनले ६ वैशाखमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए ।