
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले आज प्रदेश सभाबाट विश्वासको मत लिदैँ छन् । तर सत्ता गठबन्धनभित्रका साना दलहरुले मन्त्रीबिना विश्वासको मत नदिने भन्दै बार्गेनिङ गरेका छन् । मन्त्रालयको टुंगो लगाएर मात्र विश्वासको मत दिने सर्त दलहरु राखेपछि मुख्यमन्त्री महरालाई अप्ठ्यारो परेको हो ।
नागरिक उन्मुक्ती पार्टी, एकिकृत समाजबादी पार्टी र स्वतन्त्र सांसदलाई मन्त्री बनाउनुपर्ने सर्त उनीहरुले अघि सारेका छन् । त्यसपछि मात्र विश्वासको मत दिन सकिने उनीहरुको भनाई छ ।
मुख्यमन्त्री महरा एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जनता समाजबादी पार्टी (जसपा)का ३, एकिकृत समाजबादी पार्टीका १ र स्वतन्त्र एक सांसद गरी ४८ सांसदको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त हुनु अघि महराले एमाले, जसपा, एकिकृत समाजबादी र स्वतन्त्र सांसदलाई मन्त्रालय दिने सहमती गरेका थिए । अन्तिम समयमा आएर मुख्यमन्त्रीलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालय पाउनुपर्ने अन्यथा विश्वासको मत दिन नसक्ने बताएको छ । उसले भौतिक पुर्वधार मन्त्रालय र अर्को एक जुन मन्त्रालय भएपनि आफ्नो पार्टीले पाउनुपर्ने बताउँदै आएको छ ।
जसपाले पनि २ मन्त्रालय पाउनुपर्ने बताएको छ । एकीकृत समाजवादी र स्वतन्त्र सांसदले पनि एक÷एक मन्त्रालय पाउनुपर्ने अन्यथा विश्वासको मत दिन नसक्ने सर्त राखेको छ ।
स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले मन्त्रालयको टुंगो लागेमा मात्र विश्वासको मत दिने बताए ।
लुम्बिनीमा १० मन्त्रालय छन । एमालले ५ मन्त्रालयमा दाबी गरिरहेको छ । माओवादीले मुख्यमन्त्रीसहित ३ राख्दा बाँकी २ मन्त्रालय जसपा र नागरिक उन्मुक्तिलाई दिने तयारीमा मुख्यमन्त्री महरा छन ।
तर सवैले मन्त्री माग्दा महरा अप्ठयारोमा छन । ‘सहमतको अन्तिम प्रयास गरिनेछ । यदि नमान्ने अवस्था आए मन्त्रालय टुक्राएर भएपनि साना दलहरुलाई सरकारमा सहभागि गराउने योजना छ’ माओवादीका एक सांसदले भने । लुम्बिनीमा मुख्यमन्त्रीमा महरा सहित एमालेका संसदिय दलका उपनेता चेत नारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिर विना विभागिय मन्त्री छन् ।