तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रूपन्देहीमा ३ लाख बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी

एक हजार एक सय खोप केन्द्र मार्फत् रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाउने तयारी गरिएको छ । दुईचरणमा गरेर खोप लगाइँदै छ ।

खोेप लगाउनका लागि २ हजार २ सय जना स्वास्थ्यकर्मी र ३ हजार ३ सय जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, रुपन्देहीमा ९ महिनादेखि १५ बर्ष उमेर पुरा गरेका ३ लाख १४ हजार ७ सय ३८ जना बालवालिकालाई आउँदो फागुन १३ देखि २४ गतेसम्ममा उक्त खोप लगाउने तयारी गरिएको हो ।

दादुरा–रुवेला खोप अभियान २०८०–०८१ सम्बन्धि उक्त कार्यालयले बुटवलमा संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै खोप अभियान अन्तर्गतका सवै योजना तयारी अवस्थामा रहेको र रुपन्देहीमा २ चरणमा खोप लगाइने जनाएको छ । कार्यालयका अनुसार १६ वटा पालिका रहेको रुपन्देहीमा प्रथम चरणमा फागुन १३ देखि १७ गतेसम्म बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा, लुमिबनी सांस्कृतिक, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी, सियारी र शुद्धोधन गाउँपालिकामा खोप लगाउने तयारी गरिएको छ ।

दोस्रो चरणमा फागुन २० देखि २४ गतेसम्म सैनामैना नपा, गैडहवा गापा, कंचन गापा, सम्मरीमाई गापा, मर्चवारी गापा, कोटहीमाइ र मायादेवी गाउँपालिकामा लगाइने छ । स्वास्थ्य कार्यालयका अनुसार, रुपन्देहीमा ३४ हजार ९ सय ३६ वटा खोपको भायल र ३ लाख ९१ हजार ५ सय ४ वटा सिरीन्जको प्रयोग हुने छ ।

स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले खोप लगाउन कुनै पनि बालबालिका नछुटाउनका लागि सरकारले देशव्यापी रुपमा खोप अभियान संचालन गरेको बताए । ‘यो खोप अभियानमा जन्मिएको १५ महिना पुरा गरी नियमित दुई चरणको यो खोप लगाइसकेका बालवालिकालाई पनि छुटाएने छैन’, ढकालले भने, ‘सँगसँगै अन्य नियमित खोप लगाउनदेखि पनि छुटेका छन्–छैनन् ? भन्ने वारेमा सोधखोज गरिने छ ।’

उनका अनुसार न्युनतम २ सय ५० जनासम्म बालवालिका आध्ययनरत संस्थागत तथा सामुदायिक बिद्यालयलाई खोपकेन्द्र बनाइएको छ । बिद्यालयबाट बञ्चित रहेका तथा हुन सक्ने सम्भावना रहेका मजदुरको बस्ती र बिद्यालयदेखि टाढाका बस्तीका वालवालिकालाई पनि खोप नछुटाउने गरि व्यवस्था मिलाइएको छ ।

सन् २०२३ मा दादुरा–रुवेलाको संक्रमणलाई निर्मुल पार्ने प्रतिबद्धता गरिएको भए पनि कोभिड महामारीका कारण धेरै वालवालिका यो खोपबाट छुटेकाले पुरा हुन सकेन । सरकारले सन् २०२६ सम्ममा दादुरा–रुवेला नेपालमा निवारण गर्ने लक्ष्य राखेको छ । गत बर्ष १ हजार ३ सय ३९ जनामा यो संक्रमण देखा परेको थियो । संक्रमितमध्ये केहीको मृत्यु पनि भएको थियो ।

यस बर्ष अभियानको रुपमा नेपाल भरि ९ महिनादेखि १५ बर्ष उमेर समूहका ५७ लाख ४२ हजार ९ सय ५३ जनामा दादुरा–रुबेलाको खोप अभियान सरकारले संचालन गरेको छ । ‘दादुरा–रुवेलाबाट संक्रमित एकजना बालकले १८ जनासम्मलाई सार्न सक्छन्’, स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले भने, ‘यसरी संक्रमण बढेमा महामारीको रुप लिन सक्ने भएकाले कोही पनि यो खोपबाट बञ्चित हुनु हुँदैन ।’

कोभिड संक्रमणका कारण खोप लगाउन धेरै छुटे । ९५ प्रतिशतको खोप प्रगती पनि सवै ठाउँमा एकरुपता रहेन । दादुरा–रुवेलाको खोप अभियानको कभरेज सर्वेक्षण गर्दा मुलुकभरि यो खोप लगाउने बालबालिकाको प्रतिशत ८४ रह्यो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित