
पिरो र मसलादार स्वादमा विदेशी चाउचाउसँग प्रतिस्पर्धा गरिरहेको करेन्टले धेरैजसो कच्चा पदार्थ रैथाने नै प्रयोग गरेर रोजगार समेत बढाइरहेको छ । नेपाली बजारमा २०३० को दशकदेखि चाउचाउ उपलब्ध छन् । यसबीच अनेक ब्रान्ड आए, कति हराए पनि । वाइवाइ, रारा जस्ता चाउचाउले आफ्नो छुट्टै बजार बनाइरहेकै छन् । तर स्वदेशी ब्रान्डमा पिरो र मसलादार स्वादका चाउचाउ नहुँदा त्यसको ठाउँ विदेशीले लिइरहेका थिए । तीन वर्षअघि आएको करेन्टले त्यही स्वाद विदेशी ब्रान्डको भन्दा सस्तोमा पस्किएर तिनको बजार आफूतिर तानिरहेको छ ।
उत्पादक कम्पनी यशोदा फूड्स प्रालिका सञ्चालक चुन्नु पौडेल ‘स्पाइसी’ स्वादकै कारण करेन्ट रुचाइएको पाइएको बताउँछन् । रुपन्देहीका ६ उद्योगीहरू चुन्नु पौडेल, मधु घिमिरे, कमल मालपानी, नरीश्वर पौडेल, श्रवण बेरिवाल र ऋषिराम भण्डारीले चलाएको कम्पनीको मुख्य कार्यालय तिलोत्तमा नगरपालिकाको पत्थरडाँडामा सिद्धार्थ राजमार्गको छेवैमा छ । पाँच वर्षअघि ‘लाली’ चाउचाउबाट उत्पादन थालेको यशोदा फूड्सले सँगै भुजिया, चीजबल्स, कुरकुरे पनि उत्पादन गर्न थाल्यो । वाइवाइ, रमपम, प्रीति जस्ता तयारी चाउचाउको दबदबा रहेको अवस्थामा आफ्नो पहिचान बनाउन निकै मेहनत गर्नुपरेको कम्पनीका निर्देशक ऋषिराम भण्डारी बताउँछन् ।
सञ्चालक नरीश्वर पौडेलका अनुसार साढे २०० रुपैयाँसम्म तिरेर कोरियाली ब्रान्डका ‘रामेन’ चाउचाउ खाइरहेका उपभोक्तालाई कम्पनीले अहिले ५० रुपैयाँमै करेन्ट उपलब्ध गराइरहेको छ । “स्पाइसी स्वाद अनि सस्तो पनि भएकाले नेपालमा बजार पाउन समय लागेन,” पौडेल भन्छन्–“बरु विदेशतिर पनि यसको माग बढ्यो । उल्टै कोरियातर्फ निर्यात हुन लाग्यो ।” यद्यपि रामेन र करेन्ट चाउचाउको गुणस्तर कति फरक हो भन्ने स्वतन्त्र खाद्यविज्ञबाट प्रमाणित भने भइसकेको छैन ।
कम्पनी आफैंले अहिलेसम्म चाउचाउ विदेश निर्यात गरेको छैन । ठूला बिक्रेताले करेन्ट चाउचाउ विदेश पठाइरहे पनि आफूहरूसँग त्यसको यकीन हिसाब नरहेको कम्पनीले जनाएको छ । यद्यपि बिक्रेताले नै दिएको तथ्यांकलाई आधार मानेर कम्पनीले गत बैशाखमा पिरो स्वादको करेन्ट चाउचाउ वर्षमा एक अर्ब ३० करोड रुपैयाँ बराबरको निर्यात हुने गरेको विवरण सार्वजनिक गरेको थियो ।
निकट भविष्यमा आफैंले निर्यात गर्ने तयारी रहेको कम्पनीका सिनियर जनरल म्यानेजर रमेश विष्ट बताउँछन् । बिक्रेताबाटै लिएको तथ्यांकका आधारमा उनी अहिले कम्तीमा १० वटा देशमा करेन्ट गइरहेको सुनाउँछन् । ती देशमा भारत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, भूटान, कोरिया, जापान, नेदरल्यान्ड्स, मलेशिया, पाकिस्तान आदि पर्छन् ।
चार बिघामा फैलिएको यशोदा फूड्सले लाली र करेन्टसँगै अहिले जुप्पी, कालिज, गोलु, ओप्पोलगायत चाउचाउ उत्पादन गर्छ । यससँगै चीजबल्स, कुरकुरे र भुजिया गरी ४० भन्दा बढी प्रकारका खानेकुरा उत्पादन गर्छ । अहिले लाली पनि पिरो र मसलादार स्वादमा प्रतिगोटा २० रुपैयाँमा पाइन्छ । यसको तौल करेन्टको भन्दा कम रहेकाले मूल्य पनि कम राखिएको हो ।
चाउचाउ उत्पादनका लागि उद्योगसँग तीन वटा प्लान्ट छन् । एउटाबाट ‘करेन्ट– हट एन्ड स्पाइसी’ मात्र उत्पादन हुन्छ । कम्पनीका अनुसार दैनिक २० टनभन्दा बढी चाउचाउ उत्पादन गरिने भए पनि कहिलेकाहीं बजार माग धान्न हम्मे पर्छ । करेन्ट मात्र दैनिक १० हजार कार्टुन अर्थात् दुई लाख प्याकेट उत्पादन हुन्छ । दैनिक करीब ६०–७० टन मैदा र ५०० किलोग्राम डल्ले (अकबरे) खुर्सानी प्रयोग हुन्छ ।
सञ्चालक पौडेल अरूभन्दा स्वस्थकर मानिने भएकाले अकबरे खुर्सानी प्रयोग गरिएको बताउँछन् । “त्यसमाथि नेपालकै किसानले फलाएको खुर्सानी प्रयोग गरिरहेका छौं ।”– उनी भन्छन् ।
करेन्टको बजारसँगै नेपालमा उत्पादित अकबरेले पनि भाउ पाउन थालेको छ ।
पहिले ६०–७० रुपैयाँ किलोमा समेत नबिकेकोमा अहिले प्रतिकिलो २००–३०० रुपैयाँ पाइरहेको किसान बताउँछन् ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ का किसान लक्ष्मण आचार्यका अनुसार उनले अघिल्लो वर्ष २० क्विन्टल अकबरे खुर्सानी यशोदा फूड्सलाई बेचे । दुई रोपनीमा लगाएको खुर्सानीले राम्रो आम्दानी दिएपछि यस वर्ष तीन रोपनीमा विस्तार गरेका छन् । आचार्य भन्छन्–“चार वर्षअघि सात–आठ हजार रुपैयाँको खुर्सानी बेचेकोमा अघिल्लो वर्ष २० गुणा धेरै बेचें । चाउचाउ उद्योगले बजार दिएको छ ।”
वडामा २४ किसानले ठूलो परिमाणमा अकबरे उत्पादन गरिरहेको वडाध्यक्ष दानबहादुर पौडेल बताउँछन् । उनका अनुसार उत्पादित अकबरे गाउँमै रहेको संकलन केन्द्रले खरीद गर्छ । त्यहाँबाट यशोदा फूड्सले लैजान्छ । “किसानले अघिल्लो वर्ष सिजन अनुसार २०० देखि २३५ रुपैयाँ प्रतिकिलोसम्म बेचेका थिए, गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ ।”– वडाध्यक्ष पौडेल भन्छन् ।
यशोदा फूड्सले गुल्मी, अर्घाखाँची, स्याङ्जा, भोजपुर, इलाम, मकवानपुर, काभ्रे आदि जिल्लाबाट पनि खुर्सानी खरीद गर्छ । “चाउचाउमा प्रयोग हुँदै आएको ८० प्रतिशत जति कच्चा पदार्थ स्वदेशी नै छ ।”–सिनियर जनरल म्यानेजर विष्ट भन्छन् । उनका अनुसार मैदा, मटर, प्याजलगायत कच्चा पदार्थ स्वदेशकै खपत हुन्छ । आयात गरिने २० प्रतिशतमा तेल तथा अन्य मरमसला पर्छन् ।
करेन्ट चाउचाउले आर्थिक वर्ष २०७८-०७९ मा चार अर्ब रुपैयाँभन्दा बढी र आर्थिक वर्ष २०७९-०८० मा करीब पाँच अर्ब रुपैयाँको काराबोर गरेको कम्पनीको तथ्यांक छ । अब भारतको उत्तरप्रदेशतर्फ चाउचाउ निर्यात गर्न कपिलवस्तुको चन्द्रौटामा नयाँ ‘प्लान्ट’ बनाउने तयारी हुँदैछ । “यशोदाले करेन्ट ब्रान्डमै गुन्द्रुक र सिन्कीको स्वादको चाउचाउ पनि उत्पादन गरिरहेको छ । यिनको माग उच्च छ । कपिलवस्तुको उद्योगले माग धान्न भरथेग गर्नेछ ।”– सञ्चालक पौडेल भन्छन् ।
चन्द्रौटामा चार बिघा जमिनमा २०७९ माघदेखि संरचना निर्माण भइरहेको छ । चीनबाट प्लान्ट ल्याएर जडान हुँदैछ । त्यहाँबाट सन् २०२४ को सुरुतिरबाट उत्पादन थालिने र वार्षिक साढे १२ हजार टन उत्पादन हुने पौडेल बताउँछन् ।
कोशी प्रदेशमा पनि चाउचाउको ‘युनिट’ थप्ने कम्पनीको योजना छ । त्यसका लागि जग्गा व्यवस्थापनको काम चलिरहेको छ । “नेपालका लगभग सबै भू–भागमा करेन्ट ब्रान्डका चाउचाउ पुगेका छन्,” पौडेल भन्छन्–“तर माग घटेको छैन । विदेश पठाउन पनि नयाँ उद्योग चाहिएका हुन् ।”