
चन्द्रकोट समाज बुटवल १३ ले आफ्नो १० औं साधारण सभाको अवसरमा खड्ग देवता मन्दिरको उद्घाटन गरेको छ ।
गुल्मीको चन्द्रकोट आसपास पुख्र्यौली घर भएर अहिले बुटवल आसपासमा बस्नेहरु संगठित भएर बनाइएको चन्द्रकोट समाजले ४५ लाख लगानीमा खड्ग देवता मन्दिर बनाएको हो ।
गुल्मीको चन्द्रकोट आसपासमा यो मन्दिरलाई ठूलो शक्तिको नाममा पुज्ने गरिन्छ ।
त्यही विश्वासका आधारमा यहाँ बसाई सरेका चन्द्रकोटवासीले बुटवल १३ पाणिनि पार्क नजिकै जितेश्वरी सामुदायिक बनको करिब २ कठ्ठा जग्गा भोगचलनका लागि लिएर पार्क तथा मन्दिर बनाएका हुन् ।
समाजमा अहिले साढे ५ सय सदस्य आवद्ध छन् ।
समाजका अध्यक्ष क्याप्टेन दलबहादुर थापाले पहाडबाट विस्थापित भएर यहाँ बस्नेहरु नियमित रुपमा पूजाका लागि उहाँ जान नसक्ने र यहाँ बसेका सबै चन्द्रकोटवासीलाई संगठित बनाउन समाजले निरन्तर काम थालेको बताए ।
चन्द्रकोट क्षेत्रमा खड्गदेवता पूजा गरेपछि मनोकामना पूरा हुने विश्वास रहेकाले यहाँ पनि त्यसलाई निरन्तर दिएको सचिव क्या. हरिबहादुर खत्रीले बताए । समाजका सल्लाहकार टुकबहादुर क्षेत्रीले कर्मस्थानमा रहेर जन्मस्थानमा रहेका संस्कृति संरक्षणका लागि समाजका काम उदाहरणीय भएको बताउँदै अझै धेरै जनालाई यसमा समेटेर जानुपर्ने सुझाए ।
आइतबार समाजले बनाएको मन्दिर बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै परमपरागत संस्कृति संरक्षणका लागि सबैको साथ सहयोग चाहिने बताए ।
कार्यक्रममा बुघवल १३ का वडाध्यक्ष नारायण पुन, जितेश्वरी सामुदायिक बन उपभोक्ता समूहका सहसचिव कमल खनाललगायतले शुभकामना दिएका थिए ।