
बुटवल । पछिल्लो समय टमाटरको भाउ नेपाली बजारमा आकासिएको छ । अहिले पनि नेपालीहरुले १०० देखि १३० रुपैया प्रतिकेजीमा खरिद गरिरहेका छन् । डेढ महिना अघि सम्म ४० रुपैयाँ रहेको टमाटर एक्कासी बढेको हो ।
नेपाली भान्सामा टमाटर महंगो हुँदै गर्दा नेपालबाट भने भारत तर्फ टमाटर निकासी हुन थालेको छ ।
भारतमा टमाटर उत्पादनमा कम हुँदा नेपालको टमाटर भारतमा निकासी हुन थालेको हो ।
रुपन्देहीको भैरहवा नाकाबाट पनि नेपाली टमाटर भारत तर्फ निकासी हुन थालेको छ । भन्सार कार्यालय रुपन्देहीका सूचना अधिकारी युवराज भटट्राईले भारतमा टमाटर कम उत्पादन भएको र हालै भारतले नेपालबाट टमाटर निकासी गर्न खुल्ला गरेपछि नेपाली टमाटर भारत तर्फ जान थालेको बताए ।
उनले अहिले सम्म ७ हजार २ सय केजी टमाटर निकासी भएको बताए ।
भारतले टमाटरको प्रतिबन्ध गरेपनि विभिन्न ‘चोर बाटो’बाट टमाटर भारतमा जाने गरेकोमा भारतले प्रतिबन्ध खुलाए संगै निकासीमा सहजता भएको छ ।
‘अहिले निकासी भएको छ । तर भारतमा टमाटरको उत्पादन बढेमा यहाँबाट निकासी हुन भने ग्राहो छ’ उनले भने ।
उनले निकासी भएको टमाटर नेपाली क्वारेन्टाइन कार्यालयबाट प्रमाणित गरेर पठाइएको बताए । नेपाली टमाटर भारत तर्फ निकासी गर्दा रोग भए÷नभएको, किरा नभएको भनी क्वारेन्टाइनबाट प्रमाणित गर्नुपर्ने प्रावधान छ ।
भैरहवामा रहेको डायमन्ड इन्टरनेसनलले भारत उत्तरप्रदेशको त्रिसागर फर्मर प्रोड्युसर कम्पनी लिमिटेडलाई टमाटर निर्यात गरेको हो । निकासी भएको टमाटर सल्यान कपुरकोटको हो । लामो समय पछि भारतले टमाटरमा प्रतिबन्ध खुलाएपनि नेपाली टमाटरले भारतमा प्रतिस्पर्धा गर्न भने सक्दैन ।
नेपाली किसानहरुले २ रुपैयाँमा पनि खरिद नभएको भन्दै सडकमै टमाटर पोखिरहेको अवस्थामा भारतमा टमाटर निकासी भएको यो पहिलो पटक हो ।
बुटवल कृषि उपज तथा थोक बजार केन्द्रका अध्यक्ष गोपाल भुसालले यस बर्ष भारतमा टमाटरको न्यून उत्पादन हुँदा नेपाली टमाटरले बजारमा मूल्य पाएको बताए ।
अहिले नेपाली बजारमा पनि भारतिय टमाटरको विक्रि शुन्य जस्तै रहेको उनले बताए ।