
बुटवल ।रुपन्देहीमा पछिल्लो समय विभिन्न कारणले साना तथा मझौला उद्योग धमाधम बन्द भइरहेका छन् । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार यो आर्थिक वर्षमा २१७ उद्योग बन्द भएको छ ।
बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३ र पर्यटन उद्योगमा ५१ रहेका छन् । ती उद्योगहरूमा कन्तीमा १२ हजारले रोजगारी गुमाएका छन् ।
लोडसेडिङ, बढ्दो आर्थिक मन्दी, बैङ्कको चर्को ब्याजदर मुख्य समस्या भएको उद्योगीहरूको भनाइ छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल औद्योगिक क्षेत्रको रूपमा चिनिएको रुपन्देहीमा एक वर्षमै २ सय भन्दा धेरै उद्योग बन्द हुँदा यसले यहाँका उद्योगीहरूको अवस्था कता जाँदैछ भन्ने सङ्केत गरेको बताउँछन् ।
उनले रुपन्देहीमा कोभिड महामारी, त्यसपछि बैंकको व्याजदार, आयात निर्यातमा केही नीतिगत समस्याले गर्दा उद्योगहरू चरम मारमा परेको बताए ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले रुपन्देहीमा सेवामूलक उद्योगहरू बन्द हुनुमा विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न ध्यान नदिनु, बैङ्कको ब्याज र बजारको समस्याले साना उद्योगलाई समस्या भएको बताए ।
रुपन्देहीमा घरेलुमा करिब ११ हजार ३० उद्योग दर्ता छन् । जिल्ला घरेलु कार्यालयले अहिलेसम्म ११०९ उद्योग नवीकरण भएको जनाएको छ । त्यसमा १ हजार भन्दा बढी त रुपन्देही उद्योग संघमै आबद्ध छन् ।