धुर्कोट गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश गुल्मी जिल्लामा पर्ने धुर्कोट गाउँपालिकामा साविकका नयाँगाँउ, पिपलधारा, हाडहाडे, जैसिथोक, वस्तु, धुर्कोट रजस्थल र वाग्ला गरी ७ गा.वि.स.हरु समावेश भएका छन्। ८६.३२ वर्ग कि.मि. क्षेत्रफल रहेको यस धुर्कोट गाउँपालिकाको जनसंख्या १८८१४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा रेसुङ्गा न.पा., पश्चिममा मदाने गाउँपालिका , उत्तरमा मालिका तथा ईस्मा गाउँपालिका तथा दक्षिणमा अर्घाखाँची जिल्ला रहेका छन्। ७ वटा वडा कार्यालयहरु रहेको यस धुर्कोट गाउँपालिकाको केन्द्र वरवोट भन्ने ठाँउमा रहेको छ।
यहि धुर्काेटमा छ, विचित्र गुफा ।
गुफाभित्र रहेका संरचनालाई स्थानीय बासिन्दाले सभाहल, रामजानकी आश्रम, शिवालय, स्वर्ग जाने बाटोलगायत नामकरण गरेका छन् । गुफा मुख्य प्रवेशद्वारबाट झन्डै एक सय ५० मिटरभित्र ठूलो सभाहल छ । जहाँ पाँच सयजनासम्म अटाउन सक्छन् ।
सभाहलनजिकै शिवलिंगसहित मन्दिर, राम र कृष्णका मूर्ति, विभिन्न नागका आकृति, गोपीकृष्ण, जटायुलगायत आकृति छन् । सभाहलमाथि सिलिङमा विभिन्न आकृतिहरू कलात्मक बुट्टाले भरिएका छन् । बुट्टाबीचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप छ । गुफामा फेला परेका गुफाका आकृतिलाई नरसिंह अवतार, कच्छप अवतार, गोपीकृष्ण, जटायु, शिवलिंगलगायत नामकरण गरिएको छ।
ढेडु लखेट्दा भेटिएको गुफा
स्थानीय बासिन्दाले ढेडु लखेट्दै जाने क्रममा गुफा भेटेका थिए । गुफा फेला परेको लामो समय अस्तव्यस्त नै रह्यो । केही समययता भने स्थानीय बासिन्दा रेखदेख र संरणक्षमा जुटेका छन् ।
कसरी पुग्ने ?
यो सदरमुकाम तम्घासबाट चार कोष टाढा छ । तम्घास–सिमलटारी–प्युठान सडकखण्डबाट झन्डै २० मिनेट उकालो हिँडेपछि गुफासम्म पुगिन्छ । धुर्कोटबस्तुको पूर्वी क्षेत्र चिल्लाट र पश्चिमी क्षेत्र डिट्ठाको पोखरीदेखि गुफाको नजिकैसम्म मोटरबाटो पुगेको छ । गुफासम्मै सडक पुगे आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीय बासिन्दाको विश्वास छ ।