रेसुङ्गा, रुरु, रिडि जस्ता पवित्र र ऐतिहासिक स्थानहरु रहेको गुल्मी महत्वपूर्ण पहाडी जिल्ला हो । संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउंलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छविकाल र मध्यकालमा सैनिक छाउनी रहेकोले यसलाई गुल्मी भनी नामाकरण गरिएको हो भन्ने भनाइ रहेको छ । पूर्वमा स्याङ्जा र पर्वत, पश्चिममा प्यूठान, उत्तरमा बागलुङ र दक्षिणमा पाल्पा तथा अर्घाखाँचीको सीमाभित्र यो जिल्ला रहेको छ । कुल ११४९ वर्ग कि. मि. क्षेत्रफल रहेको यस जिल्लामा २०६८ सालको जनगणना अनुसार करीब ६५ हजार घरधुरी र जनसंख्या २¸८०¸१६० (४३.१८% पुरुष र ५६.८२% महिला) रहेको छ । जिल्लाका ७२.५% मानिसहरु साक्षर रहेको विवरण तथ्छयाङ्कले देखाएको छ । राज्य पुनर्संरचनाका सन्दर्भमा २ वटा नगरपालिका (रेसुङ्गा र मुसिकोट) तथा १० वटा गाउँपालिका (कालिगण्डकी¸ सत्यवती¸ चन्द्रकोट¸ रुरुक्षेत्र¸ छत्रकोट¸ गुल्मीदरबार¸ इश्मा¸ धुर्कोट¸ मदाने र मालिका) सहित १२ स्थानीय तह कायम भएका छन् भने प्रतिनिधि सभामा निर्वाचन क्षेत्र २ वटा र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र ४ वटा रहेका छन ।
यहाँका प्रमुख जातिहरुमा ब्राह्रमण, क्षेत्री, मगर, नेवार आदि पर्दछन् । २०६८ सालको जनगणना अनुसार जिल्लामा बाह्रमण २८.५%, क्षेत्री २३.१%¸ मगर १९.९%¸ कामी ९.५%¸ सार्की ३.४%¸ दमाई ३.२%¸ कुमाल २.५%¸ नेवार १.८%¸ सन्यासी १.६%¸ ठकुरी १.२% अन्य ५.३% रहेका छन् । यसैगरी हिन्दु ९६.७८%, बौद्ध २.७८%, क्रिश्चियन ०.२०%, इश्लाम ०.१५%, प्रकृति पूजक ०.०१% र अन्य ०.०८% रहेका छन् ।
जिल्लाको पूर्वबाट कालीगण्डकी नदी बहन्छ भने बढीगाढ जिल्लाको विच भएर बगेको छ । यसका साथै निस्ती छल्दी पनाह लगायतका खोलाहरु पनि रहेका छन् । जिल्लाको मुख्य पेशा कृषि रहेको र कृषियोग्य जमीनको उपलब्धता ६८.५७% रहेको छ भने सरकारी सेवामा पनि गुल्मीबाट उल्लेखनीय उपस्थिति रहेको देखिन्छ । जिल्लाका प्रमुख बालिहरुमा धान, मकै, गहुँ, कोदो आदि हुन् । नेपालमा कफीको पहिलो व्यवसायिक उत्पादन भएको जिल्लाको रुपमा पनि गुल्मीलाई चिनिन्छ । भारतीय तथा ब्रिटिश सेनामा लाहुरे हुने तथा वैदेशिक रोजगारमा जानेको संख्या पनि उत्तिकै रहेको पाइन्छ ।