
लामो समय विवादमा रहेको रुपन्देहीको तिलोत्तमामा नगरपालिकामा संचालित टाइगर प्यालेस रिसोर्टले क्यासिनोको बक्यौता तिरेको छ । विगतमा क्यासिनो संचालन गरेवापत रिसोर्टको करोडौं बक्यौता थियो । बक्यौता नतिरेकै कारण लामो समय क्यासिनो संचालन हुन सकेको थिएन । अहिले उक्त होटल विक्री भएको छ ।
टाइगर प्यालेसमा क्यासिनो सञ्चालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रालिले २५ करोड ६० लाख रुपैयाँ बक्यौता बुझाएको हो । बक्यौता बुझाएसँगै टाइगर प्यालेसमा क्यासिनो सञ्चालनको बाटो खुलेको पर्यटन विभागले जनाएको छ । बक्यौता रकम बुझाएपछि अबको दुई हप्तामा क्यासिनो पुनः सञ्चालन गर्ने तयारी संचालकको छ ।
एसएचलएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले २०७७–७८ देखि बक्यौता तिरेको थिएन । एसएचएल कम्पनी पनि आफूहरूले लिएको र कम्पनी मार्फत बक्यौता बुझाएको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले बताए ।
टाइगर प्यालेस विगतमा अस्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज समूहले चलाएको थियो । कोभिड लगायतका विभिन्न कारणले रिसोर्ट लामो समय सङ्कट थियो । पछिल्लो समय टाइगर प्यालेसको स्वामित्व अमेरिकामा रहेका नेपालीहरूको कम्पनी हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले खरिद गरेको हो ।
बक्यौता बुझाएपछि टाइगर प्यालेसमा छिट्टै क्यासिनो सञ्चालन हुने सुवेदीले बताए । उनले फेब्रुअरी १४ देखि क्यासिनो पुनः सञ्चालनको तयारी गरिरहेको जनाए । यो क्यासिनो भारतीय ग्राहकहरूका लागि लक्षित रहेको बताइएको छ । रिसोर्टबाट १२ किलोमिटर दुरीमा सुनौली नाका छ । जसले गर्दा यहाँ भारतीय अधिक मात्रामा क्यासिनो खेल्न आउँछन् ।