


बुटवल । बुटवलका व्यवसायी सकुरदिन मियाले २ दशक बढि भाँडाको व्यापार गरे । तानसेन नगरपालिका–५ बाट ०४८ सालमा बसाई सराई गरेर आएका सकुरदिन बुटवलको नेपालगञ्ज रोडमा भाँडाको व्यापार गरेरै छोरालाई डाक्टर समेत बनाए ।
उमेरले ५६ बर्ष लागेका सकुरदिन भाडा व्यापार बाटै ३ छोराहरुलाई शिक्षाको उज्यालो बाटोमा डोराए ।
छोराहरु जलिल मिया अहिले बावुले गरेकै व्यवसाय पछ्याउँदै भाडा पसल गर्छन । माईलो छोरा डा. खलिल मिया लुम्बिनी प्रादेशिक अस्पतालमा छन् । कान्छो छोरा २८ बर्षिय फरदिन खान (मिया) जिल्लाकै ठुलो जुत्ता उद्योग मध्येको एक ‘एभरेष्ट कम्फर्ट फुड वेयर प्रा.ली’ का सञ्चालक हुन ।
गाउँमा रहदा पनि सकुरदिन चुरा पोते मेलामा लगेर विक्रि गर्थे । गाउमै पढे हुर्केका सकुरदिन संग व्यापार गर्ने जागर गाउँमै रहदा थियो । उनका कान्छा डोरा फरदिन पनि आमा बुवाको पछि पछि व्यापार गर्ने ठाउँमा पुग्थे । त्यसैले सानो उमेर देखि फरदिनको व्यापारमा लगाव भयो ।
बुटवलमा पढे लेखेर हुर्केका फरदिन अरु धेरैलाई जस्तो सपनाको शहर ‘क्यानडा, जापान, अष्ट्रेलिया, अमेरिका, बेलाएत आदि’ भएन । उनले बुवाले देखाएको सतकर्मको बाटोमा लागे ।
बुटवलको न्यू होराईजन कलेजबाट प्लस टू सकेपछि फरदिन व्यवसायमा लाग्ने सोच बनाए । बुवा सकुरदिनले जुत्ता उद्योग सञ्चालन गर्ने योजना बनाए ।
उमेरले भर्खर २८ बर्ष भएका फरदिन अहिले ४० करोडको लगानी पुगेको ‘एभरेष्ट कम्फर्ट फुड वेयर प्रा.ली’ का सञ्चालक हुन । यो उद्योगमा मुवारक हुसेनको पनि सेयर छ ।
बुवाले चलाएको भाडा पसल जेठा दाजुले चलाएपछि फरदिन अहिले बुवा संगै जुत्ता उद्योगमा व्यस्त छन् । उद्योगको सञ्चालन, व्यवस्थापन, मार्केटिङ सवै फरदिनले हेर्छन ।
‘मैले देखाएको बाटोमा सवै छोराहरु छन् । फरदिनले नै अहिले यो उद्योग हेर्छ । म व्याक सपोर्ट गर्ने गरेको छु ।’ सकुरदिनले भने ।
०७५ सालमा २ करोडको लगानी गरेर स्थापना गरेको ‘एभरेष्ट कम्फर्ट फुड वेयर प्रा.ली’ (जुत्ता उद्योग) अहिले जिल्लाकै जुत्ता उद्योग मध्येको सवैभन्दा ठुलो उद्योग हो ।
देशमा आर्थिक मन्दी भएपनि यो उद्योग अहिले पनि लयमा छ । देशका ७० जिल्ला भन्दा बढिमा उद्योगका तयारी जुत्ता चप्पल पुग्ने गरेका छन् ।
‘उद्योग सञ्चालन हुन साथ कोभिड सुरु भयो । त्यो बेला व्यापार नै गर्न सकिएन । अहिले व्यापार ठिक छ । मार्केट राम्रो छ । हामीले नेपालका ठुला भनिएका उद्योग संग सजिलै प्रतिस्पर्धा गर्ने सामर्थ राखेका छौ’ सञ्चालक फरदिनले भने ।
उद्योगले हवाइ, ईभा र स्पोर्टसका जुत्ता उत्पादन र विक्रि गर्ने गरेको छ । पश्चिम धनगढी देखि ईटहरीका बजार सम्म उद्योगका उत्पादनले बजार ओगटेका छन् ।
दैनिक २५ हजार जोर जुत्ता चप्पल उद्योगबाट उत्पादन हुने सञ्चालक फरदिनले बताए । हाल उद्योगबाट सिजन अनुसार ६ देखि ७ सय जनाले रोजगार पाइरहेका छन् ।
भारतबाट आउने तयारी जुत्ता चप्पलका कारण नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने तर्क फरदिनको छ । ‘यहाँ कच्चा पद्धार्थ लिएर बनाउँदा लागत केही मंहगो पर्छ । भारतबाट सिधा आउने तयारी जुत्ता चप्पल नियन्त्रणमा सरकारले नीति बनाएर कडाई गर्नुपर्छ’ उनले भने ।