

बुटवल । देशकै दोस्रो ठुलो भारतिय सिमा नाका बेलहियाबाट एक सय भन्दा बढि रुपैयाँको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम बनाएपछि यात्रुले ल्याउने सामान बाटै लाखौ रुपैयाँ राजश्व संकलन भएको छ ।
भन्सार नीति कडाइका साथ पालना हुँदा भारतिय बजार सुनौलीमा किनमेल गर्न जाने नेपालीको संख्या ९० प्रतिशतले घटेको छ । गएकाहरुले पनि प्रज्ञापनपत्र भरेर सामान ल्याउँदा देशको ढुकुटी समेत बढेको छ ।
गत जेठ १५ गते देखि भन्सारबाट १ सय रुपैया भन्दा बढिको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम छ ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भटट्राईले स्थानियहरुले स्वतःस्फूर्त रुपमा प्रज्ञापन पत्र भरेर सामान ल्याउने गरेको बताए ।
उनले नीति कार्यान्वयको साढे २ महिनाको अवधिमा ८ हजार ९६ जनाले प्रज्ञापन पत्र भरेर सामान ल्याएको र त्यस बापत ८१ लाख २ हजार ९०३ रुपैयाँ राजश्व संकलन भएको बताए ।
नीति कार्यान्वन नहुँदा जेठ १ गते देखि १५ गते सम्म जम्मा ३ सय ५७ जनाले मात्रै प्रज्ञापनपत्र भरेका थिए ।
गत वर्षको जेठ महिनामा कुल ३ सय ६ जनाले मात्रै प्रज्ञापनपत्र भरेर समान लिएका थिए । त्यस्तै २०८० वैशाखमा १ हजार १ सय ८३ जनाले मात्र प्रज्ञापन पत्र भरेर सामान ल्याएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सारको नयाँ नियम पछि यतिबेला भारतिय बजार सुनौलीमा नगन्य मात्रामा नेपालीहरु किनमेलका लागि पुगेका छन् । भन्सार कार्यालय अगाडि किनमेल गरेर आउँनेहरुलाई कडाईका साथ चेकजाँच गरी भन्सार तिर्न अनिवार्य बनाइएको छ ।
सुनौलीमा ३५ बर्ष देखि जयसवाल किनारा पसल सञ्चालन गर्दै आएका अजय जैसवालले नेपालमा भन्सार अनिवार्य गरेपछि सुनौली सुनसान जस्तै बनेको बताए ।
पहिलेको तुलानामा ९० प्रतिशत व्यापार घटेको भन्दै भन्सार नीति पहिलेकै अवस्थामा ल्याउन भारतिय नेताहरुले माथिल्लो तहमा भन्नुपर्ने बताए ।
सुनौलीमै ७ बर्ष देखि कौसल गार्मेन्ट सञ्चालन गरेका जाका जैसवालले भारतकै लाचारिपनले नाकामा कडाइ भएको बताए ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले भन्सार नीति कार्यान्वयन बाट अब पछि नहट्ने बताए । उनले उपभोत्ताबाट राजश्व लिनु भन्दा पनि नेपाली बजारमा उपभोत्ताले किनमेल गर्ने प्रबृत्तीलाई बढवा दिन नीति कार्यान्वयनमा लिएको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले नाकामा कडाई हुँदा यसले सरकार र नेपाली व्यवसाय सवैलाई फाईदा पुगेको बताए ।