बुटवल । शैक्षिक क्षेत्रमा अव्वल मानिएको ४३ वर्षअघि स्थापना भएको बुटवलको लुम्बिनी बाणिज्य क्याम्पस अब मानित विश्वविद्यालय बन्ने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढेको छ भने क्याम्पसले जनशक्ति र आवश्यक संरचना निर्माणको तयारी गरिरहेको छ ।
विश्वविद्यालयको मान्यता दिनका लागि योग्यता निकट पुगेको अर्थात् मान्यता लिन अग्रसर अवस्थालाई मानित विश्वविद्यालय भनिन्छ।
बुटवल ११ देविनगरमा रहेको बाणिज्य क्याम्पस मानित विश्वविद्यालय बने लगत्तै क्याम्पसको आफ्नै पाठ्यक्रम र परिक्षा विधि हुने बताइएको छ ।
लुम्बिनी बाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. तारानाथ उपाध्यायले मानित विश्वविद्यालय बन्ने प्रक्रिया सुरु भएको र क्याम्पसले थप संरचना बनाउने प्रक्रिया पनि थालेको बताए ।
‘हामीलाई थप संरचना आवश्यक पर्छ । त्यसैले हामीले चारपाला सामुदायिक बनको ३० विधा जग्गा प्राप्तीको प्रक्रियामा छौ । त्यो प्राप्ती हुन साथ अगाडि बढ्छौ’ उनले भने । साथै उनले मानित विश्वविद्यालयको मान्यता पाए लगत्तै क्याम्पसमा विज्ञा र प्रविधि संकाय पनि थप गरिने बताए ।
क्याम्पसका अध्यक्ष मोतीलाल पाण्डेले मानित विश्वविद्यालयको मान्यता क्याम्पसले पाएपछि अझ बजारमा प्रतिस्पर्धा गर्न सक्ने आफ्नै पाठ्यक्रमको विकास गरिने बताए । साथै उनले बजारमा टिक्के र विक्ने खालको अध्यायन गराईने बताए ।
क्याम्पसले हाल त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरी पाँच वटा स्वायत्त कार्यक्रम सञ्चालन गरिरहेको छ।
क्याम्पसका अनुसार सेमेस्टर प्रणालीमा आधारित दुई वर्षे मास्टर अफ म्यानेजमेन्ट स्टडिज र चार वर्षे ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन इन इन्फरमेसन टेक्नोलोजी सञ्चालनका लागि पाठ्यक्रम निर्माण गरी त्रिभुवन विश्वविद्यालयमा पेस गरिसकिएको छ।
तत्कालीन बुटवल नगर पञ्चायत तथा बुटवलका उद्योगी व्यवसायीको अग्रसरतामा २०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट अनौपचारिक कक्षा सञ्चालन गरेको लुम्बिनी वाणिज्य क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी आई.कम कक्षा सुरु गरेको थियो।
२०४२ सालमा बीकम, २०५७ मा एमबीएस कक्षा संचालन गरेको क्याम्पस २०६३ सालमा ए स्किम मा पर्न सफल भएको थियो । २०७० सालदेखि सेमेष्टर प्रणालीको बीबीएम पढाउन थालेको क्याम्पसमा हाल बजारमा माग र खपत हुने एमबीए बीएफ, बीबीएफए, एमबीएस फाइनान्स, बीबीएम अप्लाइड र बीएमएसको पढाइ हुन्छ ।
२०६८ र २०७५ सालमा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्यूएए) प्राप्त गरेको क्याम्पस २०७५ मा सर्वोकृष्ट सामुदायिक क्याम्पस बनेको थियो । क्याम्पसमा हाल ३ हजार २ सय १२ जना विद्यार्थी छन् ।
साढे ७ रोपनीमा फैलिएको क्याम्पसमा सुविधासम्पन्न कक्षाकोठासहित विद्यार्थीका लागि डिजिटल लाइब्रेरी र ह्युमन रिसोर्स डेभलपमेन्ट ल्याब खोलिएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पसले शैक्षिक गुणस्तर र विद्यार्थीको रोजगारी वृद्धिका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न विश्वविद्यालय, शैक्षिक एवं व्यवसायिक प्रतिष्ठान, र सरकारी गैरसरकारी संघसंस्थाहरुसँग एमओयू गरेको छ ।
४४ प्राध्यापक र २४ कर्मचारी रहेको क्याम्पसले हरेक वर्ष २ जना प्राध्यापकलाई एमफिल तथा पीएचडी अध्ययनका लागि ३ वर्षे तलबी अध्ययन बिदासमेत उपलब्ध गराउँदै आएको छ । यही कारण आफ्नो जनशक्ति मानित विश्वविद्यालयका लागि तयार भएको क्याम्पस प्रमुख उपाध्यायले बताए ।