देवदह । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भर्खरै प्रकाशन भएको छ। यतिबेला उत्कृष्ट अंक ल्याएका विद्यालयले आफू नेपाल, जिल्ला अनि पालिका प्रथम भएको दावी गरिरहेका छन ।
सोही सन्दर्भमा रुपन्देहीको देवदह नगरपालिकामा पनि एसईई नतिजाको नगर प्रथम भन्ने कुराले माहोल तताएका बेला देवदह नगरपालिका वडा नं ७ मा रहेको देवदह माविले आफ्नो विद्यालयका विद्यार्थी युनिक अधिकारीले ३.९५ जिपिए सहित नगर प्रथम भएको दावी गरिरहेको छ।
देवदह माविका प्रधानाध्यापक हरि प्रसाद पाण्डेले आफुहरु उत्कृष्ट नतिजा सहित देवदह नगरपालिका प्रथम भएको दाबी गरे।
प्रधानाध्यापक पाण्डेले जस्तै देवदह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलले पनि आफ्नो विद्यालय नगर प्रथम र जिल्लामै उत्कृष्ट विद्यालयमध्ये एक भएको दाबी दोहोर्याए । “हामीले गुणस्तरीय शिक्षामा ध्यान दिएर अध्यापन गराएको नतिजा एसईईले देखाएको छ, हामी नगर प्रथम भएका छौँ” उनले भने ।
यसै विषयमा हामिले देवदह नगरपालिकाका शिक्षा अधिकृत पर्शुराम ढकालसङ्ग कुराकानी गर्यौँ। उनले अहिलेसम्म देवदह नगरपालिकाका विद्यालयको एसईई नतिजाको सबै तथ्यांक आफुहरुले ननिकालिसकेको र सबै विद्यालयको नतिजा अध्ययन गर्दा देवदह माविनै नगर प्रथम भएको हुन सक्ने बताए।










