कस्तो अवस्थामा पीडादायी हुन्छ यौन सम्बन्ध ?

दाम्पत्य सुखसँग जोडिएको हुन्छ, यौन पनि । भनिन्छ, सक्रिय यौन जीवनले दम्पतीबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्छ । यद्यपि सबैको हकमा यस्तो हुँदैन ।

कतिपय दम्पतीले भरपुर यौन सुख प्राप्त गर्न सक्दैनन् । यस्तो स्थितिमा दम्पतीबीच आशंका, वैमनश्यता बढ्न सक्छ । अन्ततः यसै कारण उनीहरुमा कलह निम्तिन सक्छ । जबकि कतिपय महिलालाई यौन सम्बन्ध निकै पीडादायी हुने गर्छ । खासगरी प्रजनन् स्वास्थ्यमा हुने विभिन्न समस्याले गर्दा उनीहरु यौनमा उदासीन हुन सक्छन् ।

जब पाठेघरको समस्या हुन्छ

प्रजनन् स्वास्थ्यमा कुनै समस्या भएका महिलालाई यौन सम्बन्धको क्रममा धेरै पीडा हुन सक्छ । विशेषगरी पाठेघरमा कुनै संक्रमण भएको छ वा पाठेघर सुन्निएको छ भने यौन सम्बन्धको क्रममा पीडा हुन्छ ।

पाठेघरमा ‘शिष्ट’हरू अर्थात् पानी र रगतको फोका पलाउने समस्या धेरै महिलामा हुन्छ । यस्तो भएमा पाठेघर सुन्निन सक्छ । यसैगरी पाठेघरको संक्रमण वा मासु पलाएको स्थिति हुन सक्छ ।

महिलाहरुमा बढीजसो देखिने समस्या यौनाङ्गको संक्रमण हो । यस्तो भएमा सेतो पानी बग्ने हुन्छ । कहिलेकाहीं रगत पनि आउन सक्छ । यी स्थितिमा यौन सम्बन्ध बनाउँदा महिलाहरुलाई पीडा हुन्छ ।

पीडादायक स्थितिमा पनि सम्बन्ध बनाइराख्दा पीडा धेरै बढेर ‘ट्रमा’ नै हुने हुन्छ । यस्तो अवस्थामा धेरै सेतो पानी बग्ने समस्या हुन सक्छ । कालान्तरमा बच्चा बस्न नै गाह्रो हुने पनि हुन्छ ।

असुरक्षित यौनले संक्रमण

महिलाहरूमा देखिने धेरै प्रजनन् समस्या असुरक्षित यौन सम्पर्कका कारण नै हुने गर्छ । असुरक्षित यौन सम्बन्ध बनाउँदा त्यो संक्रमण पाठेघरमा र पाठेघरको ट्युबसम्म पनि पुग्छ ।

पाठेघरसम्म संक्रमण पुगेपछि पीडा अरु बढ्ने र पाठेघरसम्बन्धी अन्य समस्या पनि देखा पर्न सक्छ । असुरक्षित यौनका कारण पार्टनरमा संक्रमण सर्ने सम्भावना हुन्छ ।

समाधान के त ?

सबैभन्दा पहिले त के कारणले यौन सम्बन्धका क्रममा पीडा भएको हो त्यो कारण पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ । त्यसैले वर्षमा एकपटक महिलाले आफ्नो प्रजनन् अंगको जाँच गर्नुपर्छ । संक्रमण नहोस् भनेर सुरक्षित सम्बन्ध बनाउनुपर्छ । कण्डमको प्रयोग सबैभन्दा उपयोगी हुन सक्छ । यौन पीडा अत्यधिक र सधैं भएमा चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार