


डेढ वर्षअघि स्तन क्यान्सर लागेको थाहा पाउँदा देविका बन्दना निकै डराइन् । किमोथेरापी गर्दाका क्षण सम्झँदा उनलाई अझै कहाली लाग्छ । आफू क्यान्सर पीडित भएको कुरा परिवारबाहेक अरु कसैलाई पत्तो पनि दिइनन् । यसबीचमा उनले ११ गीत रेकर्ड गराइन् र सांगीतिक कर्मलाई सक्रिय रुपमा अघि बढाइन् ।
डेढ वर्षपछि देविकाले आफूले क्यान्सर जितेको खुलासा गर्दै सबैलाई ‘सरप्राइज’ दिएकी छन् । महजोडीले केही दिनअघि उनले लेखको पुस्तक ‘जित्नेको हाँसो’ पुस्तक विमोचन गरे । पुस्तकमा उनले अस्पतालमा उपचार गराउँदादेखि निको भएसम्मको यथार्थ लेखेकी छन् । साथै क्यान्सरलाई जितेपछि यसको खुलासा टिकटक र युट्युब भिडियोमार्फत गरेकी छन् ।
सुरुमा किमोथेरापी गर्दा उनी निकै डराइन् । ‘तिघ्रामा सुई लगाउँदा एकदमै दुख्थ्यो । चार-पाँच दिनसम्म मर्छु कि भन्ने लाग्ने,’ उनले भनिन् ।
‘क्यान्सर भन्ने बित्तिकै हामी डराउँछौं । मर्छु भन्ने त्रास भइरहन्छ । तर इच्छाशक्ति र परिवारको साथ भयो भने चाँडै निको हुने रहेछ । डराउनुपर्दैन,’ क्यान्सर जितेपछि देविकाले भनिन्, ‘यी सबै कुरा पुस्तकमा लेखेकी छु, यो पुस्तक पढ्नेले क्यान्सरलाई लिएर धारणा बदल्नुहुन्छ ।’
आफूले यतिबेला निकै ‘फ्रेस’ महसुस गरेको उनले सुनाइन् । क्यान्सर निको भएपछि मात्र आफूले पुस्तक निकालेको उनले बताइन् । देविकाले उपचारकै क्रममा गीत रेकर्ड गराइन् । कार्यक्रममा जाँदा पनि कसैलाई यसबारे थाहा दिइनन् । अस्ति पुस्तक विमोचन गर्दा दिएको सरप्राइजले महजोडी समेत अचम्मित भए । ‘अहिले त गाह्रो पनि छैन,’ उनले सुनाइन् ।
पुस्तक निकालेर अन्य क्यान्सर पीडितलाई सघाउने उनको योजना छ । यो किताब पढेपछि क्यान्सरलाई हेर्ने दृष्टिकोण बदल्ने उनको भनाइ छ । ‘सबै पुस्तक पसलमा पाइन्छ । यो बुक पढेपछि इच्छाशक्ति बढ्छ बिरामीको,’ उनले भनिन् ।
रोचक कुरा, उपचारको क्रममा रेकर्ड गराएका ११ गीतलाई समावेश गर्दै उनले लण्डनस्थित गिनिज वर्ल्ड रेकर्डको मुख्यालयमा कीर्तिमानको दाबीसहित डकुमेन्ट पठाएकी छन् । ‘बिरामी भइञ्जेलसम्मको कामबारेका भिडियो प्रमाण समाबेस गरेर लण्डन पठाएकी छु । त्यसको एक महिनामै तपाईंले वर्ल्ड रेकर्ड पाउँदै हुनुहुन्छ भनेर फोन गर्नुभयो । उहाँहरुको हातबाट वर्ल्ड रेकर्ड कायम गरें,’ उनले भनिन् ।
देविका क्यान्सर निको भएपछि बाँकी जीवन संगीतकर्म र क्यान्सर पीडितलाई सचेतना जगाउने अभियानमा लाग्न चाहन्छिन् । ‘अब एकल साँझ र पुस्तकको कामलाई अघि बढाउँछु । नेपाल र विश्व टुर गर्ने इच्छा छ । म बिरामी हुँदा त ११ गीत गाएँ, कसैले थाहा पाएन । अब त झन् निरन्तर रुपमा गायनलाई अघि बढाउँछु र क्यान्सर पीडितको लागि समाजसेवामा अघि बढ्छु । सहयोग गर्ने इच्छा छ,’ उनले भनिन् । अनलाईन खवरमा समाचार छ ।
क्यान्सर पीडितको रुपमा भएको यात्राबारेका भिडियोलाई टिकटक र युट्युबमा राख्दै जाने पनि देविकाको योजना छ ।
पुस्तक र भिडियोको उस्तै चर्चा
गायिका बन्दनाले आफ्नो यो संघर्षको विषयलाई जोडेर पुस्तक मात्रै होइन भिडियो पनि तयार गरेर आफ्नो युटुव च्यानलमा राखेकी छन् जुन अहिले चर्चामा छन् । उपचारको सुरुवाती चरणदेखि दिपक श्रेष्ठ र दिपांशु श्रेष्ठलाई अत्यन्तै गोप्य तरिकाले यसको भिडियो उनले लिन लगाइरहेकी थिइन् ।
उनले चाहेजसरी दिपक र दिपांशुले सबै भिडियो तयार गरेर राखे अनि उनको सबै संघर्षसहितको भिडियो देबिकाबन्दना च्यानलमा राखेकी छन् । अहिले देश तथा विदेशका विभिन्न व्यक्तिले उनलाई यो विषयमा चासो राखिरहेका छन् । पुस्तक र भिडियो उसैगरी सबैको खोजीको विषय बनेको छ ।
बन्दनालाई अहिले लागेको छ–बिरामी भएको बेला निराz भएर सुतेको मात्रै भए अहिले सबैतिरबाट पाएको यो वाहीवाही सबै गुम्ने थियो । आफ्नो यो संघर्षमा साथ दिने परिवारका सदस्य तथा निकटस्तहरु(जसलाई मात्रै उनले बिरामी परेको खबर गरिन्), उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, भिडियो तथा पुस्तक तयारमा साथ दिने पात्रहरु, अहिले निको भएपछि पनि उच्चसम्मानका साथ दिने आफन्तजन,शुभेच्छुक सबैलाई सधैभर स्मरण गर्दै नयाँ जीवनलाई थप रचनात्मक बनाउने उनले प्रतिवद्धता व्यक्त गरेकी छन् ।