तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

कन्थक स्तूपको दक्षिणतर्फ उत्खनन: माटोबाट निर्मित  ४२ सेन्टिमिटर लामो गजुर भेटियो

कपिलवस्तुस्थित कन्थक स्तूपको दक्षिणतर्फ उत्खननका क्रममा गजुर फेला परेको छ । माटोबाट निर्मित उक्त गजुर ४२ सेन्टिमिटर लामोे छ । शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र तिलौराकोटसँगैको कन्थक स्तूपनजिकै रहेको विहार र पोखरीको उत्खननमा उक्त गजुर भेटिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बताए ।

यहाँ उत्खननका क्रममा माटोबाट बनेको गजलक्ष्मीको मूर्ति, माटाका भाँडाका टुक्रा र शिला पनि फेला परेका छन् । पुरातत्वविदका अनुसार भेटिएको गजुर कुन समयमा बनेको हो ? भन्ने परीक्षण गरेपछि मात्र पत्ता लाग्ने छ । ‘हामीलाई जानकारीमा आएअनुसार तिलौराकोट क्षेत्रको उत्खननमा यस यस किसिमको गजुर पहिलो पटक भेटिएको हो’, भट्टराईले भने ।

विहार उत्खननका क्रममा सन् २०१५ मा तेस्रो शताब्दीका ४९७ वटा मौर्याकालीन चाँदीका पञ्चमार्क सिक्का भेटिएका थिए । त्यसपछि लामो समयसम्म सो क्षेत्रमा कुनै पनि उत्खननका कार्य भएन । पछि आएर सन् २०१७ मा विहार र पोखरीको क्षेत्रमा भूभौतिक सर्वेक्षण गर्दा थप संरचना भेटिएका थिए ।

तिलौराकोट दरबार क्षेत्रको पूर्वी द्वार नजिक कन्थक स्तूप छ । ‘कन्थक स्तूपको दक्षिणतर्फ सन् २०१४ मा भूभौतिक सर्वेक्षण गरिएको थियो’, लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले भने, ‘त्यस ठाउँमा विहारको र पोखरीको संरचना फेलापरेको थियो ।’ उप्रेतीकाअनुसार सन् २०१५ मा त्यस क्षेत्रमा उत्खनन गर्दा विहार र पोखरीको सानो भागको उत्खनन गरिएको थियो । पोखरी र विहारका पर्खाल उत्खननमा मौर्या कालका इँटाबाट बनेको पाइएको हो ।

अहिले यहाँको उत्खनन कार्यमा पुरातत्व विभाग, लुम्बिनी विकास कोष, बेलायतको दुर्हम विश्वविद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको टोलीलगायतको सहभागिता छ । शाक्यमुनि बुद्धले २९ वर्षको उमेरमा राजदरबार त्याग गर्दा कन्थक नामक घोडाको सवार गरी अनोमा नदीसम्म पुगेका थिए । अनोमा नदी हाल भारत उत्तर प्रदेशको बस्ती जिल्लामा पर्छ । सो नदीलाई अहिले भारतमा अमी नदीको नामले चिनिन्छ । कन्थक घोडामा सवार भई अनोमा नदीसम्म पुगेका राजकुमार सिद्धार्थ नदी किनारमा सबै आभूषण तथा पोसाक त्यागी संन्यास जीवन सुरु गरी ज्ञानको खोजीमा निस्किएका थिए ।

अनोमा नदीबाट फर्केको कन्थक घोडा तिलौराकोट दरबार क्षेत्रको पूर्वी गेटनजिक आइपुगेपछि स्वेच्छाले देह त्याग गरेको बौद्ध धर्मग्रन्थमा उल्लेख छ । कन्थक घोडाले देह त्याग गरेको स्थानमा कन्थक स्तूप निर्माण गरिएको पुरातत्वविद्को भनाइ छ । गजुर मन्दिरको माथिल्लो भागमा राखिने गरिन्छ । गजुरको स्वरूप मन्दिरका देवीदेवता अनुरूपको फरक हुने गर्छ । बौद्धस्तूप एवं विहारको माथिल्लो भागमा प्रयोग हुने गजुरमा चाहिँ स्तूपको स्वरूप हुने गर्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित