के हो ‘एसआइपी इन्भेष्टमेन्ट प्लान’ ?, किन लगानी गर्ने ?

काठमाडौं। पछिल्लो केही वर्षयता नेपालमा नयाँ लगानीकर्ताहरुको उदय भइरहेको छ। यसैलाई मध्यनजर गर्दै लगानीकर्ताको इच्छा र अकांक्षा अनुसार थुप्रै लगानी गर्ने ठाउँहरु खुल्ला भएका छन्।

बजारमा ठूला तथा साना सबैखाले लगानीकर्ताहरु रहेका हुन्छन्। ठूला लगानीकर्ताहरुसँग पर्याप्त पैसा हुने भएकाले उनीहरु आफ्नो लगानी जहाँ पनि विस्तार गर्न सक्छन्। तर साना लगानीकर्तासँग न त पर्याप्त पुँजी हुन्छ न त भनेजस्तो कम्पनीमा लगानी गर्ने क्षमता। यसरी लगानी गर्न खोज्ने साना लगानीकर्ताको थोरै पैसाले कहाँ लगानी गर्ने त ?

यसैलाई मध्यनजर गर्दै अहिले केही मर्चेन्ट बैंकहरुले बजारमा नयाँ योजना ल्याएका छन्। त्यो हो ‘सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान’ ‘एसआइपी’।

नेपाली पुँजी बजारमा केही समय अघि मात्र आएको यो योजना भविष्यका लागि लगानी गर्न रुचाउने सबैखाले लगानीकर्ताहरुमाझ लोकप्रिय बन्दै गएको मर्चेन्ट बैंकर बताउँछन्।

‘एसआइपी इन्भेष्टमेन्ट एक व्यवस्थित लगानी योजना हो। यसले लगानीकर्तालाई थोरै लगानीबाट नियमित रुपमा बचत गर्न सिकाउँछ। नेपालको सन्दर्भमा न्यूनतम १ हजार रुपैयाँबाट यो योजना सुरु गर्न सकिन्छ,’ एनआइसी एशिया क्यापिटलका मर्चेन्ट बैंक प्रमुख दामोदर रायमाझीले भने।

मर्चेन्ट बैंकहरुले लगानीकर्तालाई व्यवस्थित लगानीका लागि विभिन्न योजनाहरू प्रस्ताव गर्छन्। त्यसैमध्ये लगानीको एक विकल्प एसआइपी इन्भेष्टमेन्ट पनि हो।

हरेक महिना थोरै थोरै रकम जम्मा गर्न सकिने भएकाले यो बैंकमा राखिएको निक्षेप जस्तै हो। तर फरक यति हो कि एसआइपी अन्तर्गत जम्मा भएको रकम खुल्लामुखी सामूहिक लगानी कोषमा लगानी गरिने बताइएको छ।

एसआइपी प्लान खुलामुखी म्यूचुअल फन्ड संचालन गरेका मर्चेन्ट बैंकहरुले संचालन गर्ने गरेका छन्।

यस योजना सुरु गर्ने प्रक्रिया

यो योजना सुरु गर्न त्यति जटिल प्रक्रिया भने नरहेको मर्चेन्ट बैंकहरुको भनाइ छ। लगानीकर्ताले यो योजना सुरु गर्नका लागि मर्चेन्ट बैंकमा गएर एउटा साधारण फारम भर्नुपर्छ। एसआइपीको फारम मर्चेन्ट बैंकहरुले वेबसाइटमा पनि उपलब्ध गराएका छन्। उक्त फारममा डिम्याट खाताकै विवरण, बैंकको विवरण र मासिक वा त्रैमासिक रुपमा कति रकम बराबरको एसवाइपी गर्ने हो सो उल्लेख गर्नुपर्छ।

तर नेपालमा भएका सबै मर्चेन्ट बैंकहरुमा यो सेवा उपलब्ध भने छैन। हाल यो सेवा एनआइसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल, लक्ष्मी क्यापिटल लगायतका करिब चारवटा क्यापिटलले मात्रै दिइरहेका छन्।

यो योजना सुरु गर्न कुनै पनि शूल्क पनि नलाग्ने उनीहरुले जानकारी दिएका छन्। योजना सुरु गर्दा नै क्यापिटललाई केही शूल्क बुझाउनु परे सो रकम बराबरको इकाइ खरिद गरेर लगानीकर्ताकै खातामा पठाइने बताइएको छ।

एसआइपीले लगानी गर्नेलाई के फाइदा?

एसआइपीमा लगानी गर्नेको प्रमुख फाइदा ‘एसडब्लुपी’ अर्थात सिस्टमेटिक विड्र प्लान भएको एनआइसी एशिया क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार लगानीकर्ताले एसआइपी लिएको १५ वर्षपछि जम्मा भएको रकम एकैचोटी नभइ मासिक रुपमा आफूलाई चाहिएजति रकम निकाल्न सकिने सुविधा दिइरहेको छ। यो सेवा एसआइपी योजना संचालन गरेकामध्ये केही क्यापिटलहरुमा मात्रै छ।

यसका साथै एसआइपीले लगानीकर्ताहरूलाई एकै पटक ठूलो रकम जम्मा गर्नुको सट्टा लामो अवधिमा सानो रकम लगानी गर्ने मौका दिने बताइएको छ। लगानीकर्ताले आफ्नो क्षमताले सकेजति रकमको मासिक अथवा त्रैमासिक रुपमा एसआइपी गर्न सक्छन्।

बैंकमा राखे त्यो पैसा बचत मात्र हुन्छ भने एसआइपीमा बचतका साथ साथै लगानी हुने दाबी गर्छन् एनआइसी एशिया क्यापिटलका रायमाझी।

‘सामान्य बजारमा लगानी गर्नुभन्दा एसआइपी योजनामा लगानी गर्दा अधिकतम प्रतिफल आउने सम्भावना बढी हुन्छ,’ रायमाझीले भने।

लगानीकर्ताले एसआइपीमा रकम जम्मा गरेपछि त्यस बराबरको म्यूचुअल फन्ड लगानीकर्ताको खातामा आउने गर्छ। क्यापिटलले सो रकम बराबरको सामूहिक लगानी कोष बजार मूल्यका आधारमा नभइ न्याभका आधारमा खरिद गरेर लगानीकर्ताको खातामा पठाउने उनले बताए।

प्रतिफल कति हुन्छ ?

सुन्दा नयाँ भएपनि एसआइपी भनेको खुलामुखी म्यूचुअल फन्ड भित्रकै एउटा स्किम हो। अहिले बजारमा संचालनमा रहेका म्यूचुअल फन्डले लगानीकर्तालाई जसरि प्रतिफल दिइरहेका छन्, त्यसैगरि एसआइपीमा लगानी गरेका लगानीकर्ताले प्रतिफल पाउने बताइएको छ।

‘फन्डले जति कमायो त्यसैको आधारमा लगानीकर्तालाई वार्षिक प्रतिफल दिइन्छ। यसका लागि नयाँ प्रक्रिया हुँदैन। अहिले बजारमा संचालनमा रहेका म्यूचुल फन्डले जसरि प्रतिफल वितरण गरिरहेका छन्, त्यसै आधारमा प्रतिफल दिने हो,’ रायमाझीले भने।

एसआइपीबाट उठेको रकम मर्चेन्ट बैंकले सेयर, ऋणपत्र, एफडी लगायतमा लगानी गर्छन्। त्यसबाट आउने प्रतिफलले नै एसआइपीमा लगानी गरेका लगानीकर्ताहरुले प्रतिफल पाउँछन्।

उनका अनुसार एनआइसी एशिया क्यापिटलमा हालसम्म यो स्किम लिने लगानीकर्ताको सख्या १५ सय नाघिसकेको रायमाझीले बताए। उनका अनुसार दैनिक १५ देखि २० जना यो स्किममा सहभागी भइरहेका छन्।

लगानीकर्ताले डिम्याट खाता खोलेको संस्थामा एसआइपी छैन भने पनि यो योजनाबाट बञ्चित हुनु नपर्ने बताइएको छ। लगानीकर्ताले एसआइपी सेवा उपलब्ध गराउने जुनसुकै मर्चेन्ट बैंकबाट यो योजना लिन सक्ने र जसका लागि नयाँ डिम्याट खाता खोल्नु नपर्ने रायमाझीले जानकारी दिए।

स्टक मार्केट र एसआइपीबाट लगानी गर्दा के फरक?

सामान्यतया स्टक मार्कटबाट म्यूचुअल फन्ड खरिद गर्दा बजारले जुन मूल्य तोक्छ त्यसैको आधारमा इकाइहरुको खरिद बिक्री हुन्छ। बजार मूल्यलाई दैनिक हुने माग र आपूर्तिले तलमाथि पार्छ। तर एसआइपीबाट न्याभका आधारमा म्यूचुअल फन्ड खरिद बिक्री हुने भएकाले बजारमा भइरहेको माग र आपूर्तिले सो इकाइको मूल्यमा खासै फरक नपार्ने रायमाझीले बताए।

बजार मूल्य जे भएपनि एसआइपी योजनामा न्याभका आधारमा खुलामुखी सामूहिक लगानी कोषका इकाइहरु खरिद गरेर लगानीकर्ताको डिम्याट खातामा आउँछ। साथै लगानीकर्ताले हरेक महिना एउटै मितिमा मर्चेन्ट बैंकलाई एसआइपीको शूल्क बुझाउनु पर्ने बताइएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार