लुम्बिनीमा प्रदेश प्रमुखले गराउँदैछन् शपथ, पहिलो पटक स्थायी राजधानीमा यस्तो छ तयारी

रुपन्देही । लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण आज पुस १७ गते आइतबार हुँदै छ । प्रदेश सभा सचिवालयले कार्यक्रमको सबै तयारी पूरा भएको जनाएको छ ।

प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा नवनिर्मित प्रदेश सभा भवनमा सांसदलाई शपथ ग्रहण गराउन लागिएको हो । यहाँ पहिलो पटक औपचारिक कार्यक्रम गरिँदै छ ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुनका अनुसार आइतबार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । नवनिर्वाचित सांसदलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनेछन् ।

अन्य प्रदेशहरूमा ज्येष्ठ सांसदले शपथ गराउने भए पनि लुम्बिनीमा प्रदेश प्रमुखले नै सबै सांसदहरूलाई शपथ गराउने कार्यविधि बनाइएको छ । प्रदेश प्रमुखले शपथ ग्रहण गराएपछि सभामुख चयन नहुँदासम्म ज्येष्ठ सांसदले अध्यक्षता गर्नेछन् ।

अहिले निर्वाचित सांसदहरूमध्ये गुल्मीका डिल्लीराज भुसाल सबैभन्दा ज्येष्ठ सांसद हुन् । पहिलो अध्यक्षता उनैले गर्नेछन् । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिकबाट निर्वाचित भएका हुन ।

अस्थायी मुकाम बुटवलबाट राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा स्थानान्तरण भएसँगै लुम्बिनी प्रदेश सरकार र संसद् सचिवालय लगायतको कार्यालयबाट हुने सबै कामकाज देउखुरीबाटै सञ्चालन भएका छन् ।

प्रदेश प्रमुखको कार्यालय स्थानान्तरण भई नसकेको र स्थायी राजधानीमा प्रदेश प्रमुखको कार्यालय निर्माण नभएका कारण प्रदेश सभा भवनबाट शपथ ग्रहण गराउन लागिएको हो । यसैवीच लुम्बिनी प्रदेशसभाको प्रथम अधिवेशन पुस १८ गतेका लागि आव्हान गरिएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा निर्माण भएको नवनिर्मित भवनमा प्रदेशको पहिलो अधिवेशन बस्न लागेको हो ।

आइतबारको कार्यक्रमका लागि अधिकांश सांसदहरू शनिवार साँझ नै देउखुरी पुगेका छन् । प्रदेश सभाले प्रदेशमा रहेका सबै दलका नेताहरूलाई पनि शपथग्रहण कार्यक्रममा बोलाएको र पहिलो पटक स्थायी राजधानीमा यो कार्यक्रम गर्न लागिएकाले स्थानीयलाई उत्साहित बनाएको छ ।

ठूला दलले छान्न सकेनन् दलको नेता

८७ सदस्यीय प्रदेश सभामा १० दलको सहभागिता रहेको छ । समानुपातिकबाट नेकपा एस र जनमोर्चाले एक एक सीट पाएका छन् भने अन्य ८ दलले प्रत्यक्षबाट समेत गरी आफ्नो सीट सुरक्षित गरेका छन् । राप्रपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जसपाले दलको नेता छानिसकेका छन् भने एमाले, कांग्रेस, माओवादीले दलको नेता छानेका छैनन् । एमाले,कांग्रेसमा नेतृत्वको लागि ४।४ जना आकांक्षी छन् भने माओवादीमा एकल नाम आएपनि टुंगाएको छैन ।

एमाले सांसद विष्णु पन्थीले शपथपछि दलको बैठक बसेर टुंगाउने जानकारी दिए । कांग्रेस सांसद वीरबहादुर रानाले पनि शपथ ग्रहणपछि मात्रै दलको नेतृत्वको चयनतिर लाग्ने बताए ।

४ जनाले लिँदै छन् मातृभाषामा शपथ

प्रदेश सभा सचिवालयमा अनुसार शनिकार रातीसम्म ४ जनाले मातृभाषामा शपथ लिने जानकारी दिएका छन् । जनमत पार्टीबाट लुम्बिनी प्रदेशमा निर्वाचित तीनै जना सांसदहरूले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । आइतबार दिउसो १ बजे लुम्बिनीमा शपथ ग्रहणको तयारी छ । जनमतका तीन सांसदहरू मध्ये दुई जनाले मधेसको अवधि भाषामा र एक जना सांसदले गुरुङ भाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।

सबै सांसदहरूले प्रदेश सभा सचिवालयलाई जानकारी गराई आआफ्नो मातृभाषामा शपथ गर्ने तयारी गरेको सांसद सुमन शर्मा रायमाझीले बताइन् । लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश (सीके) गुप्ताले तीनै जनाले मातृभाषामा शपथ लिने विषयमा प्रदेशसभालाई जानकारी दिएको बताए । तीन जना सांसदमध्ये गुप्ता रुपन्देही ५ को १ बाट निर्वाचित भएका हुन् ।

समानुपातिक तर्फबाट निर्वाचित सुमन शर्मा रायमाझीले मधेसको अवधि र गीता गुरुङले गुरुङ भाषामा शपथ ग्रहण गर्ने तयारी गरेका छन् । त्यसै गरी सांसद राजकुमारी चौधरीले थारु भाषामा शपथ लिने जानकारी दिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले अन्य केही सांसदले टेलिफोनबाट मातृभाषामा शपथ लिने जनाए पनि शनिवार रातीसम्म ४ जना मात्रैको निवेदन आएको जनाएको छ ।

मुख्यमन्त्रीमा एमालेले दाबी नछोड्ने

नयाँ गठबन्धनमा माओवादीले मुख्यमन्त्री दाबी गरेको लुम्बिनीमा सबैभन्दा ठूलो दल रहेको एमालेले आफ्नो दाबी नछोड्ने जनाएको छ । निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गरेको तीस दिनभित्र सरकार गठन गरिसक्नुपर्ने कानुनी प्रावधान भएपनि नयाँ सरकार गठनको लागि गठबन्धन दलहरू तातिएका छैनन् । केन्द्रमा भएको गठबन्धन अनुसार प्रदेशमा पनि एमाले माओवादीसहितका गठबन्धन गरेका छन् ।

संसदीय दलको नेता चयन गर्न समेत ढिलाइ भइरहेको समयमा सरकार गठनको विषय पनि पेचिलो बन्ने देखिएको छ । केन्द्रीय राजनीतिक समीकरणको आधारमा नयाँ ७ दलीय गठबन्धनलाई सरकार गठनको सहज मार्ग देखिन्छ ।

तर, सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे दलहरूको बीचमा ठोस सहमति जुट्न सकेको छैन । नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री लीला गिरीले शपथ ग्रहणपश्चात् एमाले संसदीय दलको बैठक बस्ने र त्यस बैठकले दलको नेता चयन गर्ने बताए ।

‘शपथग्रहणपश्चात् संसदीय दलको बैठक बस्छ, त्यहाँ दलको नेता चयन गरिन्छ । त्यसपछि सरकार गठनको लागि गृहकार्य सुरु हुन्छ’ उनले भने, ‘लुम्बिनी प्रदेशमा हाम्रो पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य धेरै रहेकाले यहाँको नेतृत्व हामीले गर्न पाउनुपर्छ भन्ने नै हो । केन्द्रबाट त्यस्तो स्पष्ट निर्देशन आएको छैन।’

नेकपा एमाले २९ र नेकपा माओवादीको ९ सिट छ । तर, लुम्बिनीको नेतृत्व नेकपा माओवादी केन्द्रले समेत दाबी गरेको छ । प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्य प्रदेश सभा रहेको छ । एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल छ। नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रिक समाजवादी ३, राष्ट्रिय जनमोर्चा एक, नेकपा एकीकृत समाजवादी एक, स्वतन्त्र ३ जना छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार