

सत्तारूढ दलहरूबीच समग्र शक्ति बाँडफाँड बाँकी रहे पनि मुख्यमन्त्रीका आकांक्षीको सूची साँघुरिँदै गएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच प्रदेशको नेतृत्वलाई लिएर प्रारम्भिक समझदारी बनेलगत्तै आकांक्षीको सूची साँघुरो भएको हो । यद्यपि, समझदारीले भने अन्तिम रूप पाइसकेको छैन ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच एमालेले चार, माओवादीले दुई तथा जसपा र जनमत पार्टीले एउटा प्रदेशमा आलोपालो नेतृत्व लिने प्रारम्भिक समझदारी छ । राप्रपाले मुख्यमन्त्रीमा दाबी गर्ने–नगर्ने तय भइसकेको छैन । माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले शीर्ष नेताहरू सम्मिलित राजनीतिक संयन्त्रको शुक्रबार बस्ने बैठकले मुख्यमन्त्रीको बाँडफाँड टुंग्याउने बताए ।
लुम्बिनीमा एमालेबाट लीला गिरी मुख्यमन्त्रीका दाबेदार छन् । यद्यपि, लुम्बिनीमा दलको नेता चयन हुन बाँकी छ ।
माओवादीबाट जोखबहादुर महरा दाबेदार छन् । बागमती र लुम्बिनीमध्ये कुन प्रदेश कुन दलले लिने भन्ने टुंगो लागिसकेको छैन ।