
बुटवल । कोभिडका कारणले तरकारीको अभावको झेलेका शहरीका नागरिकले विकल्पको रुपमा कौसी खेती सुरु गरेपनि त्यो दिगो हुन सकेन् । स्थानिय पालिकाहरुले समेत कौसी खेतीलाई प्रोत्साहन गर्न विभिन्न योजना बनाएपनि सहरमा विलासी जीवन विताइरहेका हरु त्यसमा आर्कषित हुन सकेनन् ।
तर शहरीया जिवनशैलीमा प्राय रहरको रुपमा गरिदै आएको कौसी खेतीलाई बुटवलको एक कृषि सहकारीले भने सेयर सदस्यलाई तरकारीमा आत्मनिर्भर बनाउने गरी बैज्ञानिक कौसी खेती प्रबद्र्धनको कार्यक्रम अघि सारेको छ । बुटवल देविनगरमा रहेको पानस कृषि सहकारी संस्थाले उज्यालो नर्सरी स्थापना गर्दै कौसीलाई ईको गार्डेनको रुपमा परिणत गर्ने र सहकारीका सदस्यहरुलाई कौसी खेतीमा आर्कषित गर्ने योजना अघि बढाएको सहकारीका अध्यक्ष शोभाकर सुनारले बताए ।
पछिल्लो समय तरकारीमा अनियन्त्रित मुल्यबृद्धि भइरहेको र बजारमा विक्रि हुने तरकारी विषादीयुक्त रहनेभएकाले पनि सहकारीको माध्यमबाट कौसी खेतीलाई प्रबद्र्धन गरिएको उनको भनाई छ । हाल सम्म सहकारीका ३५ भन्दा बढि सदस्यले कौसी खेती गरिरहेका छन् ।
बुटवलमा सोमबार भएको सहकारीको सातौ बार्षिक साधारण सभामा आगामी बर्षको योजना पेश गर्दै अध्यक्ष सुनारले कृषि नर्सरी उप समिति गठन गरी सहकारी सदस्यलाई बढि भन्दा बढि नर्सरी र कौसी खेतीमा आर्कषित गराउन विभिन्न सचेतनामुलक योजना समेत अगाडि बढाउने बताए ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले कृषि सहकारीले सदस्यहरुलाई क्रृण र व्याज मात्र अशुल्ने नभई बैज्ञानिक कौसी खेती प्रबद्र्धनको कार्यक्रम अघि सारेकोमा धन्यवाद दिए । उनले बजारमा गुणस्तर र स्वच्छ तरकारी नपाईने अवस्थामा सदस्यले आफ्नै छतमा तरकारी उत्पादन गर्नु उत्कृष्ट कार्य रहेको भन्दै त्यस्ता सदस्यहरुलाई सहकारीले सधै सहयोग गर्नुपर्ने बताए ।
कौसी खेती गर्ने सहकारीका सदस्यहरुले छतमा गोलभेडा, सिमी, खुर्सानी, प्याज, धनिया, मौसम अनुसार साग, लसुन तथा विभिन्न फलफुलका विरुवाहरु लगाउने गरेका छन् । बुटवल उपमहानगरपालिका सहकारी शाखाका प्रमुख गुणाखर खनालले पछिल्लो समय सहकारीहरु नीति विपरित सञ्चालन हुँदा अप्ठयारोमा पर्ने गरेको बताउँदै लगानी गर्दा विशेष ध्यान दिन सहकारीलाई आग्रह गरे । उनले नर्सरी स्थापना र कौसी खेती कार्यक्रममा उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा कृषि उपसमितिका मेजरजंग कुँवरले कुराको खेती होईन, खेतीको कुरा गरौ भन्ने नारा साथ सदस्यहरुलाई विउ, विजन, मल, गमला सहित आवश्यक सामाग्रीहरु उपलब्ध गराउने बताए । कार्यक्रममा लेखा समिति संयोजक दिलबहादुर थापा, उपाध्यक्ष सुवास रसाईली र सचिव क्षेत्र बहादुर थापा लगाएतले बोलेका थिए ।
कुल ३६८ सदस्य रहेको सहकारीको कुल सम्पती २ करोड ६३ लाख ६३ हजार रहेको छ । ७८ लाख ८४ हजार सेयर पुजी रहेको सहकारीको निक्षेप १ करोड ७१ लाख ३३ हजार रहेको छ । सहकारीले धन जमाति क्रृण, धिगो क्रृणमा १४ प्रतिशत र कृषि क्रृणका लागि १२ प्रतिशत व्याजदर उपलब्ध गराउँदै आएको छ ।