बुटवलमा १ करोड ५७ लाखको लागतमा अक्सिजन सुविधा सहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

बुटवल । बुटवल उपमहानगरपालिकामा २ वटा स्वास्थ्य केन्द्र अक्सिजन सुविधा सहितका बन्ने भएको छ । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन १ करोड ५७ लाख लागतमा २ वटा अक्सिजन सुविधा सहितका स्वास्थ्य केन्द्र बन्न लागेका हुन ।
बुटवल उपमहानगरपालिका वडा नं १३ र १७ मा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।
स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि यही मंसिर ९ मा टेण्डर स्वीकृत भएर निर्माणको प्रक्रिया अघि बढ्ने चरणमा रहेको पाण्डेले बताए ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्र स्थापना पछि बुटवलको स्वास्थ्य क्षेत्रमा थप इटा थप्ने काम हुने उनले बताए । उक्त केन्द्र ६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न भएर बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण हुनेछ । ‘बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी शहर बनाउनका लागि साना स्तरका देखि विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार स्वास्थ्य केन्द्र निर्माणको काम अघि बढाएको हो’ नगरप्रमुख पाण्डेयले भने ।
उनले उपचारका लागि बुटवलबासीले अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी भौतिक पूर्वाधार र जनशक्ति उत्पादनमा ध्यान दिएको बताए ।
कोभिड १९ महामारी र महामारीजन्य विपद् व्यवस्थापनमा समेत सहयोग हुने गरी निर्माण हुने अक्सिजन सिलिण्डरसहितका बहुउदेश्यीय स्वास्थ्य केन्द्र भवनको छिटै नै शिलान्याश गरिने उनले बताए । स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुनेछन् ।
३–३ कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रमा भवन निर्माणको काम छिटै शुरु हुने गरी प्रक्रिया अघि बढेको मझौला तथा साना शहरहरुमा खानेपानी, सरसफाई, स्वच्छता र स्वास्थ्य पहलहरु मार्फत कोभिड १९ को रोकथाम र नियन्त्रण आयोजनाका कार्यक्रम संयोजक हरि प्रसाद शर्माले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार