


बालबालिका तथा महिलाको उपचारलाई सरल र सहज बनाउने भन्दै बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गरिने भएको छ ।
हाल १ सय शय्या रहेको उक्त अस्पताललाई २ सय शय्या थप गरी ३ सय शय्यामा स्तरोन्नति गर्ने समझदारी भएको हो । अस्पतालको सञ्चालन बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघले त्रिपक्षीय रुपमा गर्दै आएका छन् । एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा मंगलबार बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्न निर्णय गरेको हो ।
आम्दा इन्टरनेसनलका अध्यक्ष डा सिगेरू सुगानामीले आम्दामा बेड थप गर्नेमात्रै नभई अन्य सुविधासमेत थप गर्ने गरी त्रिपक्षीय सहकार्य हुने बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले अस्पताल स्तरोन्नति गर्न आवश्यक रहेको र त्यसका लागि संघले पर्याप्त भूमिका निर्वाह गर्ने बताए ।
आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा दीपनगरमा आम्दा अस्पताल स्थापना भएको थियो ।