


भारतबाट कुखुराको अवैध आयात बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नाकाहरुमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ ।
सुरक्षा निकायले सिमा नाकामा कडाई नगर्दा अवैध पैठारी बढेको भन्दै किसान र व्यवसायी आफै तस्करी नियन्त्रणकालागि जुटेका थिए । एक हप्ताको बीचमा तीन लाख मूल्य बराबरका भारतीय कुखुरा, तीन वटा सवारी साधन सहित चार जना व्याक्तिलाई व्यवसायीले नियन्त्रणमा लिएका छन् । तर, ती व्याक्ति सामान्य जरिवाना तिरेर उम्किए । सिमानाकामा हुने अवैध कृयाकलाप रोक्न सशस्त्र प्रहरी बल तैनाथ छ । त्यसबाहेक नेपाल प्रहरीले ठाउँ ठाउँमा निगरानी गरिरहेको छ । यसका बावजुद सुरक्षा रेखाबार सहजै तोडेर कुखुरा आयात भैरहेको छ । बुधबार पशु क्वारेन्टाइन कार्यालयले भारतबाट पशुजन्य पदार्थको अवैध आयात बढेपछि त्यसलाई रोक्न किसान, व्यवसायी, प्रहरी, प्रशासनका अधिकारी लगायतको उपस्थितिमा छलफल सञ्चालन गरेको थियो । छलफलमा अधिकांश किसानले प्रहरीले तस्करी रोक्न सहयोग नगरेको आरोप लगाए । व्यवसायीहरु तस्करी रोक्न राती पालैपालो नाकामा निगरानी गरेका छौँ, तस्कर पनि समात्यौँ । तर, सुरक्षाकर्मीले हामीले समातेका तस्करहरुलाई अनुसन्धान नगरी छोडेकोे छ । यसरी त तस्करको मनोबल झनै बढेन र । व्यवसायी शंकर टण्डनले बताए । कडा कारवाही नगरी तस्करी नरोकिने उनीको दाबी थियो ।
तस्करी रोक्न सुरक्षाकर्मीहरुलाई पटक–पटक पहल गर्दा समेत सुनुवाई नभएपछि व्यवसायी आफैले नाकामा निगरानी गर्न थालेका हुन् । निरीक्षणका क्रममा अवैध पैठारी गरेको भेटिए पक्राउ गरि प्रहरीलाई बुझाउने गरेका छन् । व्यवसायी आफै सकृय भएर अवैध कृयाकलाप रोक्न जुटे पनि नियामक निकायको भने यसमा खाचै चासो देखिएको छैन् । प्रकृया अनुसार पक्राउ परेका व्याक्तिलाई प्रहरीले भन्सार कार्यालयमा बुझाई भन्सान ऐन अन्तरगत चोरी पैठारी मुद्दामा अनुसन्धान गर्नुपर्छ, प्रयोग भएका सवारी साधन जफत हुने कानुनी प्रावधान छ । तर, सामान्य जरिमाना तिरेर छानबिन बिनै तस्करहरु छुटिरहेका छन् ।
भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध छ । कुखुराबाट रोग सर्ने भन्दै भेटिएका कुखुरा पशु क्वारेन्टाइन कार्यालयले नष्ट गर्ने गरेको छ । भारतमा नेपालमा भन्दा जिउँदो कुखुरा प्रति केजी ५० देखि एक सय रुपैयाँ सस्तो पर्छ । सस्तोमा कुखुरा पाइने भएपछि विभिन्न ठाउँमा सेटिङ मिलाएर नक्कली कागजपत्र खडा गरि नेपाल भित्राउने गरेको पाइएको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख भक्त न्यूरेले बताए ।
सस्तोमा भारतबाट कुखुरा आएपछि स्थानीय उत्पादनले भने बजार पाएको छैन् । अवैध तस्करीले व्यवसाय मारमा परेको किसानहरु बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले तस्करी रोक्न प्रहरी, प्रशासन, स्थानीय सरकार, व्यवसायी र अन्य सरोकारवाला निकाय सबै लाग्नुपर्ने बताए । खुला सिमा भएकाले चुहावत रोक्न समस्या भएको उनको तर्क थियो । स्थानीय तहहरुले बजार अनुगमनलाई तीब्र बनाउनुपर्ने उनको आग्रह थियो । अवैधानीक कृयाकलाप रोक्न तिनै तहका सुरक्षा निकायलाई पनि उनले निर्देशन दिए ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मत्स्य पालक किसानले नेपालको उत्पादन भन्दै भारतबाट आएको गुणस्तरहीन माछा व्यापारी बिक्री गरिरहेको बताए । सरकारले भारतबाट माछा आयात गर्दा एसली अनिवार्य गरेपछि भारतीय माछा नेपाल आएको छैन् । सरकारी तथ्यांकमा आयात शून्य रहेपनि बजारमा भने भारतीय माछा छ्याप्छ्याप्ती देख्न सकिन्छ । भारतबाट माछा आयात गर्दा स्वास्थ्य प्रमाणपत्र बनाएर मात्र नेपाल ल्याउन पाइने प्रावधान छ । नाकाहरुमा पशु क्वारेण्टाइनका चेक पोष्टहरुले माछा स्वस्थकर भएको प्रमाणपत्र जारी गर्ने गरेका छन् । पशु क्वारेण्टाइन कार्यालय भैरहवाका अनुसार गएको सात महिना यता पश्चिम नवलपरासी, रुपन्देही र कपिलबस्तुका चेक पोष्टबाट स्वास्थ्य प्रमाणपत्र जारी भएको छैन् । चोरी तस्करीको बाटो भएर सस्तोमा माछा आएपछि स्थानीय उत्पादनले बजार नपाएको किसानको गुनासो छ ।