
बुटवल । देवदह नगरपालिकाको १२ औं नगर सभाको दोश्रो बैठकले आर्थिक वर्ष २०८०÷०८१ को लागि १ अर्व ७ करोड २४ लाख ५० हजार बरावरको बजेट पास गरेको छ ।
नगर सभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङले आन्तरिक राजश्वतर्फ १८ करोड ४१ लख ६० हजार, लुम्विनी प्रदेश सभाबाट ४ करोड ६४ लाख १९ हजार र संघीय सरकारबाट ८४ करोड १८ लाख गरी १ अर्व ७ करोड २४ लाख ५० हजार बरावरको बजेट प्रस्तुत गरेकी थिईन ।
उपप्रमुख गुरुङले शिक्षातर्फ २४ करोड ३० लाख, स्वास्थ्यतर्फ ४ करोड ४८ लाख, लक्षित वर्गतर्फ ३१ करोड ५८ लाख, आर्थिक विकासतर्फ (पशु, कृषि, पर्यटन) लगायत गरी २ करोड ४ लाख, अव्यवस्थित भूमि व्यवस्थापनका लागि ३ करोड २४ लाख विनियोजन गरेकी छिन् ।
यसैगरी पुर्वाधार विकासतर्फ ११ करोड ३२ लाख, वन वातावरण र विपद्तर्फ १ करोड ७७ लाख, संस्थागत विकासतर्फ १६ करोड बजेट विनियोजन गरिएको छ । आर्थिक बर्ष २०७९÷०८० मा आन्तरिक राजश्व १४ करोड लक्ष्य लिएपनि विविध कारणले ५ करोड ५६ लाख मात्र संकलन भएको जानकारी दिईन ।
यसैगरी प्रत्येक वडालाई १ करोड बरावरको आर्थिक बर्ष २०८०÷८१ को लागि योजना छनोट गर्न अधिकार प्रदान गरिएको थियो ।
नगर सभामा नगर प्रमुख धुव्रप्रसाद खरेलले देवदह नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को प्रगति विवरण प्रस्तुत गरेका थिए । उनंले यस आर्थिक बर्षमा कृषकहरुलाई १७ हजार ४० बोरा मल १५ वटा डिलरमार्फत वितरण गरिएको जानकारी दिए ।
एक वडा एक तरकारी नर्सरी प्रभावकारी भएको, मकै पटेक कार्यक्रम मार्फत मकै उत्पादन, मल तयार गर्न क्पोष्ट विन वितरण, अपाङलाई ह्वील चियर प्रदान गरिएको बताए ।
नगर प्रमुख खरेलले कक्षा १ देखि ८ सम्म स्थानीय पाठयक्रम निर्माण गरी लागु गरिएको, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरिएको बताए ।
सम्पूर्ण विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था, वालमैत्री नगर बनाउने गरी समुदाय, विद्यालय, वडा र नगर स्तरीय वाल सञ्चाल गठन, नगर अस्पताल संचालन गरी नागरिकलाई सेवा प्रदान, नगर अस्पतालबाट स्वास्थ्य विमाको प्रथम विन्दुको शुभारम्भ गरि सेवा प्रदान गरिरहेको बताए ।
नगर प्रमुख खरेलले स्वास्थ्य शिविर संचालन, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खयरडाडामा उत्खनन् गरिएको बताए ।
नगर सभामा देवदह नगरपालिकाले गरेका नीतिगत निर्णयहरु पास गरेको छ । नगर सभामा देवीप्रसाद न्यौपाने, चमकान्त गौडेल, अमर लामिछानेले बोल्दै शिक्षा, कृषि, पशुपालन, पर्यटन क्षेत्रमा प्रयाप्त बजेट विनियोजन नभएको बताए ।
नगर सभाको अवसरमा स्थानीय तहले लिएको कक्षा ८ का उत्कृष्ट विद्यार्थी, शिक्षक, टोल विकास संस्थाका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।