रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

राजनीतिमा नयाँ पुस्ताले खोजेको व्यक्तित्व प्रदीप ज्ञवाली

अहिले नेपालको राजनीतिमा युवा पुस्ताले व्यापक चुनौती दिएको छ । यही अवस्था रहे आउँदो पाँच वर्षमा हस्तक्षेपनै हुनेछ । परम्परागत राजनीतिले देश मात्र हैन राजनीतिकर्मीहरु पनि उँघो लाग्ने अवस्था छैन ।

सरल र सादगी, विशिष्ट प्रतिभा, सुशासनलाई आत्मसात गर्ने, भ्रष्टाचार र बेथितिमा नचुकेको, नातापाताको चंगुलमा नफसेको, सच्चरित्रवान्, क्षमतावान् र जनतासँग नरम र मिठासपूर्वक बोल्न र भेट्न सक्ने व्यक्ति राजनीतिमा खोजिएको पात्र हो । नयाँ सोंच र नयाँ दृष्टिकोण भएको व्यक्ति अहिलेको पुस्ताले खोजेको छ ।

विभिन्न तरिकाले रोजगारी सृजना गर्न सक्ने, विकासका नयाँ आयाम खासगरी मानवीय विकासमा ध्यान दिन सक्ने व्यक्तिको पनि अहिले खोजी भइरहेको छ ।

गुल्मी जिल्लाको क्षेत्र नं२ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप ज्ञवाली यस्तै असाधारण क्षमता भएका राजनीतिकर्मी हुनुहुन्छ भन्दा अन्यथा लाग्दैन । सरल र सादा जीवनका पर्याय ज्ञवाली कुनै बेला लेखेरै जीविका चलाउनुहुन्थ्यो । मलाई याद छ, बुटवलमा भर्खरै कम्प्युटर इन्स्टिच्युटहरु खुलेका थिए । डा. ईश्वर गौतम, अजयमान श्रेष्ठ र नवराज कुँवरले संयुक्त रुपमा ट्राफिक चोकमा आइसीयु कम्प्युटर इन्स्टिच्युट खोल्नुभएको थियो ।

एमाले नेता प्रदीप ज्ञवाली

जो अहिले नवराज कुँवरको नामबाट एकल रुपमा सञ्चालित छ । ट्राफिक चोकमा तिलक आचार्यको प्रतिक्षा स्टेशनरी थियो । हामी प्रायः पत्रकार, राजनीतिकर्मी र अरु अरु पनि भेट गर्ने, पत्रिका पढ्ने थलोको रुपमा स्थापित थियो सो ठाउँ ।

०५४्र ०५५ सालतिर हुनुपर्छ । तिलकजी र मैले कम्प्युटर सिक्न सुरु गरेका थियौं । इन्स्टिच्युटबाट फर्केर पसलमा जाँदा प्रदीप ज्ञवाली पत्रिका पढ्दै हुनुथ्यो । तिलकजीले गर्वका साथ कम्प्युटर सिक्न थालेको प्रसंग उठाएपछि तत्क्षण ज्ञवालीले भने—तपाईंहरु राम्रो पत्रकार बन्नुस् अरु हुँदै गर्नुहोला ।

 

कामको प्राथमिकता छुट्टाउने र त्यसमा उच्चतम क्षमता प्रदर्शन गर्ने सन्दर्भमा उहाको सो भनाईलाई मैले अनुसरणनै गरेजस्तो लाग्छ । लेखाइमा अब्वल ज्ञवालीलाई हामीहरुको लेखन चित्त नबुझेको पनि हुन सक्छ ।

हामी दुवैजना कम्प्युटर चलाउन सक्ने भएनौं । शायद पूर्ण रुपले दत्तचित्त भएर लागेनौं पनि । तथापि समयक्रममा स्वभावैले आफूलाई चाहिने ज्ञान, सीप लिनै पर्दथ्यो र लियौं ।

सो समयको कुरा गर्दा राम्रो समाचार, फिचर, लेख आदि लेख्नु नै ठूलो कुरा हुन्थ्यो । टाइप गर्ने स्टाफ राख्ने प्रचलन भएकोले त्यसको समस्या थिएन । त्यसको केही समय पश्चात् प्रदीप नेपाल, प्रदीप ज्ञवालीलगायतका नेताहरुले आफै टाइप गरेर लेख लेख्नुहुन्छ भन्ने कुरा सुनेर हामी छक्क पर्दथ्यौं ।

समयले माग गरेपछि तदनुसार अपडेट हुनुपर्छ । अन्यथा डाइनोसरजस्तै लोप हुने हो । ज्ञवालीले त्यतिबेलै राम्रा लेख, कविता, कथा र उपन्याससमेत लेख्नुहुन्थ्यो ।

साइकल चढेर दीपनगर र ट्राफिक चोक गरेको मलाई हिजोजस्तै लाग्छ । सुन्दर अक्षर कोर्न सक्ने, पत्रपत्रिका, पुस्तक आदि रुचिपूर्वक पढ्ने उहाँको शैली वा बानी देखेर मलाई लोभ लाग्थ्यो ।

यद्यपि म त्यति धेरै उहाँको नगिच थिइन । पत्रकारको हैसियतले परिचित थिएँ र म कार्यरत पत्रिकामा उहाँका लेखहरु छाप्थें । यो सन्दर्भमा सबै सस्मरण लेख्ने मेरो उद्देश्य नभएर सन्दर्भ मात्र ल्याउन खोजेको हुँ ।

बुटवल हुँदै नवलपरासी र कालान्तरमा उहा काठमाडौं जानुभयो । भूमिगत राजनीतिबाट सुरु भएको यात्रा जिल्ला, अञ्चल हुँदै केन्द्र र पछिल्लो कालखण्डमा पार्टीको उप–महासचिव बन्नुभएको छ ।

राजनीतिमा नैतिकता, इमान्दारिता र देश तथा जनताप्रति उत्तरदायी हुनुपर्छ भनेर मान्ने हो भने त्यसको लागि एकजना सुयोग्य पात्रको रुपमा स्थापित हुनुहुन्छ ।

यसै प्रसंगमा अर्को एउटा उदाहरण स्मरणयोग्य छ । सन् २००६ अक्टुवर ३ देखि २० तारिखसम्म भैरहवाका अग्रज पत्रकार नारायण सापकोटाको नेतृत्वमा मलाई उत्तरकोरिया जाने अवसर मिलेको थियो ।

सरकारी तहबाट आमन्त्रण गरिएको भए पनि जहाजको भाडा आफै तिर्नुपर्दथ्यो । त्यस प्रसंगमा नेपाल एयरलाइन्सको जहाजबाट जाँदा किफायत हुने भएकोले सोही योजना बनेको थियो । टोली नेता नारायण सापकोटाले यस्ता भ्रमणहरु गरिराख्नुभएकोले सरकारले टिकट दिन सक्छ भन्ने कुरा गर्नुभयो । ज्ञवाली विभागीय मन्त्री हुनुहुन्थ्यो ।

म पार्टी कार्यकर्ता पनि भएको र चिरपरिचित भएकोले भइहहाल्छ कि भनेर मन्त्रालय गयौं । राजेन्द्र अर्यालमार्फत् यो कुरा ग¥यौं । एयरलाइन्स त्यसै पनि घाटामा भएकोले सम्भव नभएको जानकारी आयो ।

वास्तवमा हामी राज्यको श्रोतमा अनुचित प्रभाव पार्न चाहान्थ्यौं । तर, ज्ञवाली चुक्नुभएन भन्ने लाग्यो मलाई । त्यही प्रसंगमा नारायण सापकोटाले मलाई भन्नुभयो—एमालेका नेताहरु यस्तै गर्छन् । यो ठाउँमा कांंग्रेसका नेता भएको भए सहजै हुन्थ्यो ।

पछि केही पत्रकार साथीहरुले पनि भन्नुभयो— कांग्रेसका रामशरण महत नै भएको भए लौ न दाइ यसो गर्नुपर्योयो भन्दा नाई भन्नु हुने थिएन । यो कुराको प्रसंग मैले यस कारण उल्लेख गरेको हु कि सत्तामा बसेर पनि राज्यलाई नोक्सानी गर्नु हुँदैन भन्ने, नियम मिचेर काम गर्न नचाहने व्यक्तित्वको उदाहरण हो यो पनि । सुशासनको उदाहरण हो ।

हुन पनि आजसम्म सरकारमा गएर पनि निष्कलंकित हुनु सामान्य कुरा हैन । भ्रष्टाचारको आरोपसम्म नलागेर फिर्ता हुनु भनेको स्वच्छ छवि भएकै कारण हो भनेर ढुक्कसँग भन्न सकिन्छ । वास्तवमा सुशासनको हिसाबले उहाँ अब्बल ठहरिनुभएको छ । सम्पत्ति, गाडी कुनै कुराको लोभलालच नगर्ने वास्तवमा अहिलेको युवा पुस्ताले खोजेको पात्र प्रदीप ज्ञवाली हो ।

राजनीतिमा शिष्ट भाषा प्रयोग गर्ने, लेख्दा बोल्दा शब्द चयनमा असाध्यै चनाखो हुने, कसैलाई बिजाउने र गाली गलौजको भाषा पटक्कै प्रयोग नगर्ने, विपक्षीलाई जवाफ दिनु परे अवाक बनाउने, राजनीतिक एजेण्डामा सतिसाल झैँ उभिने, तथ्य र तर्कले आफ्ना भनाईलाई पुष्टि गर्ने असाधारण क्षमता पनि छ ज्ञवालीमा ।

गुल्मीबाट निर्वाचनमा पराजित हुँदा पनि उत्तेजनामा नआई आफ्नै कारणले पराजय भयो भनेर कसैलाई दोषारोपण नगरी प्रतिक्रिया दिने उदाहरण गुल्मेली नतालाई थाहा छ । जवकि पार्टीकै अन्तरघातले पराजय व्यहोर्नुपरेको समिक्षा पार्टीले गरेको थियो र त्यो घाम जत्तिकै छर्लङ्ग थियो ।

कतिपयले गाली गर्दा एसएलसी उत्तीर्ण नगरेको भनेर खिसीट्युरी गर्छन् । तर,यति बढी ज्ञानको भण्डार एउटा राजनीतिकर्मीमा होला भनेर शायदै कसैले अनुमान गर्न सक्छन् । मलाई एउटा प्रसंगमा प्रो.कृष्णचन्द्र शर्माले भनेको कुरा याद आउँछ । जतिबेला उहाँ त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको अंग्रेजी विभाग प्रमुख हुनुहुन्थ्यो ।

उहाँले भन्नुहुन्थ्यो— नेपाली राजनीतिकर्मीमध्ये प्रदीप ज्ञवाली र प्रदीप गिरी यस्ता पात्र हुन् जसले केन्द्रीय कलेजको पुस्तकालयबाट सबैभन्दा ठूला र महत्वपूर्ण पुस्तक लगेर अध्ययन गर्छन् ।

अध्ययनको सिमालाई जसले जति बढाउँछ यसको ज्ञानको दायरा त्यति नै फराकिलो हुनेगर्छ भन्ने कुराको उदाहरणीय पात्र प्रदीप ज्ञवाली हुनुहुन्छ । जतिबेला उहाँ परराष्ट्रमन्त्री हुनुभयो त्यतिबेला वास्तवमै सक्षम कुटनीतिज्ञ बनेर निस्कनुभयो । नेपालको सम्बन्ध बिग्रेका कैयौं मुलुकसँगको सम्बन्ध नयाँ ढंगले अघि बढ्यो । नेपालको बहुपक्षिय कुटनीतिलाई नयाँ उचाइमा पु¥याउने काम भयो ।

चीन र अमेरिकासँग नयाँ आयाम नै थपियो । भारतसँगको सम्बन्धमा सुधार आयो । चीनसँग दुई देशबीच रेल्वे कनेक्टिभिटि सहयोगसम्बन्धी समझदारी हुनु, यसको कार्यान्वयनबाट केरुङ्ग–रसुवागढी–काठमाडौं रेलमार्ग विकासको लागि चिनियाँ अनुदानमा पूर्व सम्भाव्यता अध्ययन गर्ने सहमति हुनु, जसबाट काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि पनि आधार तयार भएको हो ।

मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्नेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भयो । यद्यपि सरकार परिवर्तन पश्चात् गठबन्धन सरकारले चीनसँगको सम्बन्धमा त्यति ध्यान दिएन ।

सँगसँगै नेपाल अमेरिका सम्बन्धले पनि नयाँ उचाई प्राप्त गर्यो । प्रायः व्यक्ति एउटा विषयको विशेषज्ञ बन्छन् तर ज्ञवाली आवश्यकताअनुसार जुनसुकै विषयको विशेषज्ञ बन्ने क्षमता राख्नु असाधारण कुरा हो ।

दर्शन, राजनीति, पत्रकारिता, कुटनीति, संगठन, प्रशिक्षण यावत् विषयमा गहिरो ज्ञान भएका कारणले पनि ज्ञवालीलाई नयाँ पुस्ताले रुचाएको हो ।

कम्युनिष्ट आदर्श र सिद्वान्तबाट अविचलित योद्वा, भूमिगत कालदेखि अहिलेसम्म सोही आदर्शलाई पच्छाउन सक्ने, वैचारिक रुपमा बडो सुस्पष्ट हुनु र प्रशिक्षणको माध्यमबाट अरुलाई सिकाउने क्षमता राख्नु ज्ञवालीका सवल र प्रशंसनीय पक्ष हुन् । विकासको हिसाबले आफ्नो जिल्ला, क्षेत्रप्रति उत्तरदायी हुनु स्वभाविक हो ।

गुल्मीको विकासमा महत्वपूर्ण योगदान गरेका छन्, उनले । उनको प्रयासमा गुल्मीले अहिलेसम्म नपाएको बजेट पाएको छ । रिडी–खज्र्याङ्ग–बलकोटको २७ किमि सडक, रिडी–कालीगण्डकी तटवन्ध र पर्यटन पूर्वाधार विकास, रेसुङ्गा एयरपोर्ट, रेसुङ्गा मझेम खानेपानी आयोजना, जिल्ला अस्पताल, खानेपानी आयोजनाजस्ता गुल्मीका लागि उल्लेख्य काम गरेर पहिचान बनाउनुभएको छ ।

यसको अर्थ मान्छे हुुनुका कारण उहामा कमजोरीनै छैनन् भन्ने हैन । अलिकता आत्मकेन्द्रित जस्तो, कम बोल्ने, घमण्डीजस्तो लाग्ने स्वभाव र गुण छन् होला तर, आडम्बरी छैनन् । शायद यही कारणले होला अहिलेको युवा पुस्ताले रुचाइएका, युवाहरुका प्रेरणाका श्रोत प्रदीप ज्ञवाली गुल्मीका लागि मात्र हैन, मुलुककै लागि चाहिने व्यक्ति हुन् भन्दा फरक पर्दैन ।

डी.आर. घिमिरे

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित