
रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना घुससहित पक्राउ परेका छन् ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो । प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, गाउँपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरले ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले जनाएको छ।
अख्तियारका सूचना अधिकृत रामकृष्ण अधिकारीले गाउँपालिका कार्यालयको चमेना गृहमा घुस लिइरहेका बेला नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जनाए । ‘नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा हाम्रो टोली पुगेको थियो ।
त्यहाँ पुगेको हाम्रो टोलीले उनीहरुलाई घुससहित नियन्त्रणमा लिएको छ ।’ उनले भने । उनले पक्राउ परेकालाई नियन्त्रण्मा लिएर थप अनुसन्धान भइरहेको बताए ।