
पाल्पा । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवल रुपन्देहीले संघको लक्ष र उद्देश्यलाई हासिल गर्र्ने उद्देश्यले एशोसिएसनको वार्षिक कार्ययोजना वनाएको छ ।
पाल्पाको रिब्दिकोट गाउपालिका स्थित सिर्जना फाममा बुधवार र बिहीवार आयोजना गरिएको योजना तर्जुमा कार्यशाला गोष्ठीले एशोसिएसनले हालसम्म प्राप्त गरेको प्रतिष्ठा र इज्जतलाई मनन गर्दै सदस्य ब्यवसायीहरुलाई प्रदान गर्ने सेवालाई थप परिस्कृत गर्ने, संस्थागत सुधार, ब्यवसायी तथा संस्थागत सम्वन्धलाई थप प्रभावकारी वनाउने उद्देश्यले वार्षिक कार्यायोजना तय गरेको एशोसिएसनका अध्यक्ष हिमाल गैरेले बताए । ब्यवसायीका हकहित, संस्थाका गतिविधिलाई चलायमान र प्रभावकारी वनाउने, एशोसिएसनलाई समयसापेक्ष रुपमा सञ्चालन गर्न के कस्ता कार्यक्रमहरु आयोजना गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको र गोष्ठिले तय गरेका कार्यक्रमलाई वर्तमान कार्यसमितिले कार्यान्वयन गर्न प्रतिवद्ध रहेको अध्यक्ष गैरेले वताए ।
एशोसिएसनको लुम्विनी प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पा तथा गण्डकी प्रदेशका स्याङ्गजा र वाग्लुङ सहित ८ जिल्ला कार्य क्षेत्र रहेको छ । एशोसिएसनले आयोजना गरेको दुई दिने गोष्ठीले सरोकारवाला निकायसंग समन्वय, संस्थागत तथा दैवी प्रकोप सहयोग, लेखा, आयकर तथा अग्नी नियन्त्रण तालिम, एप र सफ्टवेयर निर्माण, आन्तरिक अनुगमन, अध्ययन अवलोकन भ्रमण, भित्ते पात्रो प्रकाशन र तराई र पहाडी जिल्लाका ब्यवसायीहरुको नेतृत्व र दक्षता बृद्धिका लागि तालिम, कार्यशाला र अन्तरक्रिया गर्ने कार्ययोजना पारित गरेको छ ।
सो अवसरमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन लुम्विनी प्रदेश संयोजक प्रेम न्यौपानेले एशोसिएसनले आयोजना गर्ने हरेक क्रियाकलाप एशोसिएसन प्रतिको विश्वसनियतामा जोडिएको हुनाले सदस्य ब्यवसायीको हित संगै कार्यक्रमले पनि विश्वसनियता प्राप्त गर्नुपर्ने बताए । उनले गोष्ठीवाट एशोसिएसनको आवश्यक्ता पहिचान गर्न सहज भएको भन्दै कुनै पनि समस्याको समाधान तत्काल गर्न नसकिए त्यो समस्याले अर्को समस्या निम्त्याउछ भन्ने तर्फ सवै सचेत र सजग वन्न जरुरी रहेको बताए । संस्थामा सामुहिक जिम्मेवार वोध भयो भने जिम्मेवारीले शक्ति निर्माण गर्ने र शक्तिलाइ सही ठाउंमा सदुपयोग गर्न सके परिणाम राम्रो आउने उनको भनाई छ ।
गोष्ठीमा सहजीकरण गर्दै प्रमुख प्रशिक्षक मनोज भट्टराईले गोष्ठीले पदिय जिम्मेवारीमा रहेकाहरुलाई संस्थागत उद्देश्य प्राप्ति, पद भन्दा जिम्मेवारीमा केन्द्रीत हुन, क्षमता अभिबृद्धि गर्न, संस्था संचालन प्रक्रिया तथा भौतिक, मानविय र वित्तीय स्रोतको ब्यवस्थापनमा सहजीकरण गर्ने वताए ।
गोष्ठीमा सहभागि ब्यवसायीहरुले लगानी अनुसारको प्रतिफल प्राप्त नभएको, बैंक ग्योरेण्टीमा इन्धन नपाउनु, डिप रडले मापन गरेको इन्धन खरिद गरी डिजिटल माध्यममा विक्री गर्नुपर्ने, पेशागत असुरक्षा, अग्नी विमा नहुनु, भारतीय मूल्यसंग एकरुपता नहुनु, राज्यले सम्मानित पेशाको रुपमा नहेर्नुलगायतका समस्या र चुनौती रहेको गुनासो गर्दै समाधानकालागि सामुहिक पहलको आवश्यक्ता औंल्याएका थिए ।
कार्यक्रममा पत्रकार खिमानन्द भट्टराईले एशोसिएनका पदाधिकारी र सदस्यहरुको काम, कर्तब्य र अधिकारका विषयमा सहजीकरण गरेका थिए ।
एशोसिएसनका अध्यक्ष हिमाल गैरेको अध्यक्षतामा भएको कार्यक्रममा एशोसिएसनका केन्द्रीय सदस्य राजु न्यौपाने, एशोसिएसनका वरिष्ठ उपाध्यक्ष योगेन्द्र गुप्ता, प्रथम उपाध्यक्ष रजनिशराज आचार्य, द्वित्तीय उपाध्यक्ष गोपाल वस्याल, महासचिव हरिराम कसौधन, सचिव डासिराम अधिकारी, कोषाध्यक्ष विशाल गैरे, सह कोषाध्यक्ष लोकराज भुसाल, ब्यवसायी कृष्ण तिवारी, दिनेश न्यौपानेलगायतले वोल्दै गोष्ठी संस्थागत आवश्यक्ता पहिचान गर्न र नियमित कार्यक्रम संचालनका लागि मार्गनिर्देशन गरेको बताए ।