
बुटवल ।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २१ औँ वार्षिक साधारण सभा तथा ११ औँ अधिवेशन शुक्रवार बुटवलमा सम्पन्न भएको छ । संघको सभाहलमा आयोजित अधिवेशनको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे ।
उद्घाटनसत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शेरचनले नेपालको आर्थिक विकास र औद्योगिक विकासका लागि स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताए । उनले आफु प्रदेश प्रमुख भएपछि यस क्षेत्रमा औद्योगिक विकासका लागि आवश्यक औद्योगिक क्षेत्रको विस्तार एंव नया निमार्णका लागि दुबै तहका सरकारलाई ध्यानाकर्षण गराएको स्मरण समेत गरे ।
प्रमुख अतिथि शेरचनले हाम्रो औद्योगिक विकासको स्तर ३ सय अगाडीको उद्योग खुलेका मुलुकहरुको स्तरमा रहेको बताउदै राष्ट्रिय उत्पादन र राष्ट्रिय चेतले नै राष्ट्रियता दिगो हुने धारणा राखे । हाम्रा परम्परागत उद्योगहरुको अवस्था अझ दयनिय रहेको बताउँदै राष्ट्रको विकासका लागि राष्ट्रिय सोंचको विकास पहिलो सर्त रहेको उनको भनाई थियो ।
कार्यक्रमका विशिष्ठ अतिथि नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका कार्यबहाक अध्यक्ष एजाज आलमले अहिले उद्योगीहरुको अनुहारमा हासो हराएको स्थिती रहेको बताउँदै बढ्दो आर्थिक मन्दीका कारण आफुहरुले सञ्चालन गरेका उद्योगीलाई बचाएर लैजाने चुनौती रहेको उल्लेख गरे ।
उनले कतिपय सरकारी नीति र व्यवहारले उद्योग क्षेत्र धाराशाही बन्ने अवस्था रहेको हुदा त्यसमा परिर्वतन गर्न आग्रह गरे। आलमले औद्योगिक क्षेत्रभित्र रहेका उद्योग सञ्चालनका लागि व्यवस्थापन लिमिटेडले लिने गरेको भाडा महंगो भएको हुदा त्यसलाई तत्काल पुनरविचार गर्न आग्रह गर्दै त्यो काम नभएमा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।
कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले मुलुकको अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रमा राज्यको लगानी हुनु पर्ने कुरामा जोड दिए । उनले स्वदेशी उत्पादनको प्रयोग र संरक्षणमा नीजि क्षेत्रको भूमिकालाई सहि रुपमा प्रयोग गर्न आग्रह गरे ।
संघका पूर्व अध्यक्ष गणेश प्रसाद अधिकारीले औद्योगिक विकासका लागि सबैको चिन्ता र चिन्तन आजको आवश्यक्ता भएको बताउँदै पछिल्लो समयमा मुलुकमा देखा परेको आर्थिक मन्दीले उद्योगीहरु धेरै समस्यामा परेको बताए ।
कार्यक्रममा संघका अध्यक्ष हिरामणी भट्टराईले स्वागत मन्तव्य राख्दै आर्थिक मन्दीसंगै वैकको चर्को व्याजको प्रत्यक्ष असर नेपालका उद्योगहरुमा परेको उल्लेख गर्दै पछिल्ला दिनमा बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुको उत्पादनमा करिव ५० प्रतिशतले घटेको जानकारी दिए । उनले औद्योगिक क्षेत्र समयक्रम अनुसार सानो हुदै गएको र उद्योग सञ्चान गर्न कठिनाई भएको बताउदै औद्योगिक क्षेत्र विस्तार गर्न गरे ।
संघका अध्यक्ष हिरामणी भट्टराईको अध्यक्षता, महासचिव नेत्रनारायण भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लि। का प्रमुख अशोक अर्याललगायतले बोलेका थिए ।
अधिवेशनका अवसरमा संघले उद्योगी देवानसिंह थापालाई उत्कृष्ट उद्योगीका रुपमा सम्मान गरिएको थियो ।