
एक सातापछि कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पुनः उडान सुरु गर्ने भएको छ । जजिराले कुवेतका लागि सातामा ३ दिन उडान थाल्ने घोषणा गरेको हो । एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन २५ गते बिहीबारदेखि पुनः उडान सुरु हुने कम्पनीले जानकारी दिएको छ ।
जजिराले जारी गरेको विज्ञप्तीमा भैरहवाबाट स्थानीय समयअनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ः०५ बजे कुवेतका लागि उडान हुनेछ । त्यस्तै, कुवेतबाट सोमबार, बुधबार र शुक्रबार राति ११ः५० बजे भैरहवाका लागि उडान हुनेछ ।
भैरहवाबाट कुवेतका लागि एकतर्फी भाडा २८ हजार ८३६ रुपैयाँ तोकिएको नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले बताएका छन् ।
गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट भैरहवा उडान भर्दै आएको जजिराले पछिल्लो समय मौसमलाई कारण देखाउँदै आफ्ना उडान काठमाडौं केन्द्रित गरेको थियो । पछिल्ला समय मौसम खुल्दा समेत जजिराले उडान सुरु नगरेपछि शंसय पैदा भएको थियो ।