बुटवल । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत जोन–१८ को वार्षिक समापन समारोह ‘द क्लोजिङ च्याप्टर’ सम्पन्न भएको छ।
वर्षभरि सञ्चालन भएका नेतृत्व विकास, सामाजिक सेवा तथा अन्य गतिविधिको समीक्षा गर्दै उत्कृष्ट योगदान गर्ने व्यक्ति तथा क्लबलाई सम्मान गर्न आयोजित कार्यक्रममा रोट्रयाक्टका पदाधिकारी, क्लब अध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेको थियो।
जेडआरआर डा. आबिष्कार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिआरआर दिनेश गैरे प्रमुख अतिथि थिए। कार्यक्रममा आइपिडिआरआर विक्रम क्षेत्री, डिआरआर–इलेक्ट प्रकाश शर्मा गैरे, रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष बाबुराम बनजाडे तथा विभिन्न डिष्ट्रिक्ट पदाधिकारीको उपस्थिति रहेको थियो।
जोनल सचिव दीक्षा खनालले स्वागत मन्तव्य व्यक्त गर्दै वर्षभरि जोन–१८ का गतिविधिमा सहयोग गर्ने सम्पूर्ण रोट्रयाक्टर, पदाधिकारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरिन्।
समारोहमा जोन–१८ अन्तर्गतका सबै क्लब अध्यक्षलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। यसै अवसरमा रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष आबिष्कार खनाल उत्कृष्ट अध्यक्षका रूपमा सम्मानित भए।

त्यसैगरी, विभिन्न डिष्ट्रिक्ट पदाधिकारी, जोनल टोली, प्रमुख अतिथि दिनेश गैरे, विशेष अतिथि विक्रम क्षेत्री र प्रकाश शर्मा गैरेलाई पनि जेडआरआर डा. आबिष्कार पराजुलीले प्रशंसापत्र प्रदान गरी सम्मान गरे।
कार्यक्रममा जोन–१८ अन्तर्गतका क्लब अध्यक्षहरूले संयुक्त रूपमा जेडआरआर डा. पराजुलीलाई मायाको चिनो प्रदान गर्दै उनको नेतृत्व र योगदानको प्रशंसा गरे।
समारोहमा गायक बसन्त श्रेष्ठ र उनको टोलीले सांगीतिक प्रस्तुति दिएका थिए। विभिन्न क्लबका अध्यक्ष तथा सदस्यहरूले पनि सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

समापनका अवसरमा जोनल टोलीले केक काटेर खुसी साटासाट गरेको थियो। साथै, रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले सम्पन्न गरेका १०० परियोजनाको उपलब्धिको अवसरमा पनि विशेष केक काटिएको थियो।
कार्यक्रममा अनुप पाण्डेयले आगामी असार १३ गते आयोजना हुने डिएलटिएस तथा सम्मान समारोहबारे जानकारी दिए।
समारोहलाई सम्बोधन गर्दै बाबुराम बनजाडे, विक्रम क्षेत्री र दिनेश गैरेले युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा सेवामूलक अभियानमा रोट्रयाक्टको भूमिकाबारे धारणा राख्दै सामाजिक सेवामा सक्रिय हुन आग्रह गरे।











