तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका

विकाश पराजुली

तिलोत्तमा । वर्तमान विश्वमा प्रविधिविनाको विकास असम्भव प्रायः छ । यही यथार्थलाई आत्मसात गर्दै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्ना युवा जनशक्तिलाई ‘डिजिटल डिभाइड’ बाट मुक्त गरी ‘डिजिटल साक्षर’ र ‘डिजिटल उद्यमी’ बनाउने अभियान सुरु गरेको छ । युवाहरूलाई केवल प्रविधिको प्रयोगकर्ता मात्र नभई सिर्जनकर्ता बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न प्राविधिक कार्यक्रमहरूलाई अघि बढाएको हो ।

युवालाई प्रविधिसँग जोड्दै उनीहरूलाई आत्मनिर्भर र रोजगारीमुखी बनाउने लक्ष्य नगरपालिकाको छ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै तिलोत्तमा नगरपालिकाले युवालाई डिजिटल सीपमा दक्ष बनाउने नीति लिएको हो ।

नगरप्रमुख रामकृष्ण खांणका अनुसार प्रविधि आजको विकासको प्रमुख आधार भएकाले नगरपालिकाले शिक्षा, तालिम र उद्यमशीलतालाई जोडेर कार्यक्रम ल्याएको हो । ‘हामी युवालाई विदेशिनुपर्ने बाध्यता घटाउँदै यहीँ रोजगारी सिर्जना गर्न चाहन्छौं’ उनले भने–‘प्रविधिमार्फत त्यो सम्भव छ।’

कोडिङदेखि उद्यमशीलतासम्मः प्रविधिको जग

नगरपालिकाले पहिलो चरणमा विद्यालय तहका विद्यार्थीहरूलाई लक्षित गरी कोडिङ तालिम सञ्चालन गरेको छ । दुई वटा विद्यालयका ४० जना विद्यार्थीहरूले यसअघि नै आधारभूत कोडिङ सिकिसकेका छन । यसबाट उनीहरू वेब डिजाइन र सामान्य एप निर्माणमा सक्षम भएका छन् । नगरप्रमुख खांणका अनुसार आगामी आर्थिक वर्षमा यसलाई थप विस्तार गर्दै ‘एडभान्स लेभल’ माआर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स र डाटा विश्लेषण जस्ता विषय समेट्ने तयारी गरिएको छ ।

नगरपालिकाले युवा सम्मेलनका लागि ३ लाख रुपैयाँ विनियोजन गर्दै त्यसमा ‘टेक्नोलोजी सेसन’ समावेश गर्ने योजना बनाएको छ । यसले युवाहरूलाई स्थानीय समस्या समाधानमा प्रविधिको प्रयोग कसरी गर्ने भन्ने विषयमा मन्थन गर्ने प्लेटफर्म प्रदान गर्ने नगरप्रमुख खांणले बताए ।
युवा सम्मेलन कार्यक्रममार्फत प्रविधि विज्ञसँग प्रत्यक्ष अन्तरक्रिया गराउने योजना बनाइएको छ । उक्त कार्यक्रममा टेक्नोलोजी सम्बन्धी सेसन, प्यानल छलफल र नवप्रवर्तन प्रदर्शनी गरिने उनको भनाइ छ । यसले युवालाई नेटवर्किङ, नयाँ सोच र अवसर पहिचानमा सहयोग पुर्याउन अपेक्षा नगरपापलिकाले गरेको छ ।

तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरीदेवी चौधरीले प्रविधि शिक्षा अब विलासिता नभई आवश्यकता भएको बताइन् । ‘युवालाई डिजिटल सीप दिइयो भने उनीहरू रोजगारी खोज्ने होइन, आफैं अवसर सिर्जना गर्ने अवस्थामा पुग्छन । त्यसैले हामी डिजिटल साक्षरता र सुरक्षित इन्टरनेट प्रयोगमा पनि जोड दिइरहेका छौँ ।’ उनले भनिन् ।

प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरपालिकाले तालिमलाई मात्र सीमित नराखी त्यसलाई उद्यमसँग जोड्ने रणनीति लिएको बताए । ‘हामी युवालाई स्टार्टअप, फ्रीलान्सिङ र डिजिटल उद्यमतर्फ लैजाने गरी कार्यक्रम डिजाइन गरिरहेका छौं।’ उनले भने–‘यसले दीर्घकालीन आर्थिक प्रभाव पार्छ ।’

नगरपालिकाले प्रस्ताव लेखन तथा नवप्रवर्धन (इनोभेसन) कार्यक्रम पनि अघि सारेको छ । यसअन्तर्गत युवालाई स्टार्टअप सुरु गर्न आवश्यक सीप, परियोजना विकास, लगानी व्यवस्थापन र व्यवसाय विस्तारका विषयमा प्रशिक्षण दिइनेछ ।
तिलोत्तमा नगरपालिकाले यसअघि पनि युवालाई प्राविधिक र सूचना प्रविधि क्षेत्रमा जोड्ने प्रयास गर्दै आएको थियो । नगरपालिकाको नीति तथा कार्यक्रम र शिक्षा, युवा तथा खेलकुद शाखाको कार्यक्षेत्रमा प्राविधिक शिक्षा, व्यावसायिक तालिम र युवा सशक्तीकरणलाई प्राथमिकतामा राखिएको छ ।

नगरपालिकाले विभिन्न समयमा कम्प्युटर शिक्षा, अनलाइन सेवा प्रणाली, ई–गभर्नेन्स, डिजिटल रेकर्ड व्यवस्थापन र सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले युवा लक्षित वार्षिक बजेट तथा कार्यक्रममा समेत प्राविधिक शिक्षा र सीप विकासका कार्यक्रम समेटिँदै आएको छ ।

यस्ता छन् भावी कार्यक्रम

नगरपालिकाले आगामी बर्षहरुमा समेत क्रमश युवाहरुलाई डिजिटल क्षेत्रमा जोड्दै यही स्वरोजगार बनाउने योजना अघि बढाएको छ । डिजिटल फ्रिल्यान्सिङ तालिम मार्फत युवाहरूलाई ग्राफिक डिजाइन, भिडियो एडिटिङ, र कन्टेन्ट राइटिङ सिकाउने समेत योजना बनाएको छ ।

एग्रो/टेक प्रवद्र्धन बाट कृषि प्रधान क्षेत्र भएकाले प्रविधिको प्रयोग गरी माटो परीक्षण, मौसम पूर्वानुमान र बजारको मूल्यबारे जानकारी दिने मोबाइल एप सञ्चालनमा युवालाई संलग्न गराउने पनि नगरपालिकाले बनाएको छ । तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीले नयाँ सोच भएका युवाहरूलाई अफिस स्पेस, इन्टरनेट र मेन्टरसिप प्रदान गर्ने योजना बनाएको बताए । साथै उनले सामाजिक सञ्जालको बढ्दो दुरुपयोग रोक्न र कानुनी प्रक्रियाबारे जानकारी दिन साइबर सुरक्षाका तालिम पनि युवाहरुका लागि प्राथमिकतामा रहेको बताए ।

यस्ता कार्यक्रमले युवालाई अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउनुका साथै विशेषगरी फ्रीलान्सिङ प्लेटफर्ममार्फत घरमै बसेर आम्दानी गर्ने अवसर मिल्ने भएकाले नगरपालिकाले बर्षेनी नयाँ–नयाँ कार्यक्रम मार्फत युवालाई प्रविधि सँग जोड्ने योजना बनाएको बताए ।

नीतिमै युवालाई प्राथमिकता

नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा युवा र प्रविधि क्षेत्रलाई प्राथमिकताका साथ अघि सारेको छ ।

नगरले ‘युवाका लागि नगर, नगरका लागि युवा’ अवधारणालाई डिजिटल युगसँग संयोजन गर्दै युवालाई सीप, नवप्रवर्तन र उद्यमशीलतामा अग्रसर गराउने रणनीति लिएको छ । युवा लक्षित ‘दक्ष जनशक्तिः तिलोत्तमाको सम्पत्ति’ कार्यक्रमलाई प्रविधिमैत्री बनाउँदै आईटी, डिजिटल मार्केटिङ, ई–कमर्स लगायत क्षेत्रमा सीप विकास तालिम सञ्चालन गर्ने योजना बनाएको छ । नगरले खुलाउने रोजगारी तथा परियोजनामा पनि प्रविधि जानकार युवालाई प्राथमिकता दिने नीति लिइएको नगरप्रमुख खांणले बताए ।

कृषि क्षेत्रलाई समेत प्रविधिसँग जोड्दै स्मार्ट कृषि प्रणाली, आधुनिक उपकरण प्रयोग र डेटा आधारित उत्पादन प्रणालीमा युवाको सहभागिता बढाइने गरी नगरपालिकाले काम गरेको उनले बताए । साथै कृषि उद्यममा लागेका युवा किसानलाई प्रोत्साहन तथा पुरस्कारमार्फत नवप्रवर्तनतर्फ आकर्षित गर्ने योजना अघि सारिएको उनको भनाइ छ ।

शिक्षा क्षेत्रमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई डिजिटल सिकाइसँग जोड्दै विद्यालयमा प्रविधिमैत्री पूर्वाधार विकास, नवप्रवर्तन ल्याब तथा सिर्जनशील कार्यक्रम गर्ने योजना नगरपालिकाले लिएको छ । यसले विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक र प्रविधिमूलक सीपमा दक्ष बनाउने उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।

त्यस्तै, नगरलाई खेलकुद र युवा गतिविधिको केन्द्र बनाउने योजनासँगै डिजिटल व्यवस्थापन प्रणाली, अनलाइन दर्ता तथा खेल डेटा व्यवस्थापनमा समेत ध्यान दिइएको उनले बताइन् । उपप्रमुख चौधरीका अनुसार युवालाई केवल रोजगारी खोज्ने होइन, प्रविधिमार्फत अवसर सिर्जना गर्ने जनशक्तिका रूपमा विकास गर्दै तिलोत्तमालाई आधुनिक, स्मार्ट र आत्मनिर्भर नगरका रूपमा अघि बढाउने लक्ष्य राखेको छ ।

स्थानीय अर्थतन्त्रमा प्रभाव

युवालाई प्रविधिसँग जोड्ने यस्ता कार्यक्रमले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ । डिजिटल उद्यम, अनलाइन व्यवसाय र आईटी सेवा विस्तारसँगै रोजगारी सिर्जना हुने, विदेशी मुद्रा आर्जन हुने र आर्थिक गतिविधि बढ्ने सम्भावना रहेको आईटी विज्ञ अमृत पन्थीले बताए ।

तिलोत्तमा नगरपालिकाको यो पहलले युवालाई सीपयुक्त बनाउँदै उनीहरूलाई आत्मनिर्भर बनाउने मात्र होइन, समग्र नगरको विकासमा योगदान पुराउने उनको विश्वास छ । यदि योजनाबद्ध रूपमा कार्यक्रम कार्यान्वयन भए भने तिलोत्तमा भविष्यमा प्रविधिमैत्री नगरका रूपमा स्थापित हुने उनले बताए ।

प्रविधिसँग जोडिए युवा, आम्दानी र अवसर बढ्दै

तिलोत्तमा नगरपालिकाले युवालाई प्रविधिसँग जोड्ने उद्देश्यले सञ्चालन गरेका कार्यक्रमहरूको प्रभाव देखिन थालेको छ । कोडिङ तालिम, डिजिटल सीप विकास र उद्यमशीलता कार्यक्रममार्फत युवाहरूमा आत्मनिर्भरता र रोजगारी सिर्जनातर्फ आकर्षण बढेको हो ।

विद्यालयस्तरमै सुरु गरिएको कोडिङ तालिमबाट विद्यार्थीहरू वेब डिजाइन र सामान्य एप बनाउन सक्षम भएका छन भने केही युवाले अनलाइन फ्रीलान्सिङमार्फत आम्दानी सुरु गरेका छन । प्रस्ताव लेखन, स्टार्टअप र नवप्रवर्तन तालिमले युवालाई ‘रोजगारी खोज्ने’ होइन, ‘अवसर सिर्जना गर्ने’ दिशातर्फ उन्मुख बनाएको छ ।

नगरपालिकाले ल्याउन लागेको डिजिटल फ्रीलान्सिङ, एग्रो–टेक र साइबर सुरक्षा तालिमले थप अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । यस्ता कार्यक्रमले स्थानीयमै रोजगारी, डिजिटल उद्यम विस्तार र आर्थिक गतिविधि बढाउने संकेत देखिएको छ ।

नगरप्रमुख रामकृष्ण खांणका अनुसार प्रविधिमार्फत युवालाई यहीँ अवसर दिन सकिए विदेशिने बाध्यता घट्नेछ । समग्रमा, तिलोत्तमाको पहलले युवालाई सीपयुक्त बनाउँदै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न थालेको देखिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित