‘सरकारी सहुलियतले मात्र गौतम बुद्ध विमानस्थल चल्दैन’ बमघाटमा ३ सय बिरुवा रोप्दै हरियाली अभियान, ‘प्रकृति जोगाउनु आजको आवश्यकता’ : नगरप्रमुख पाण्डेय प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन  दुवै मिर्गौला पीडित गुल्मीका महेशलाई उपचारका लागि आर्थिक अभाव, सहयोगको याचना आठ वर्षदेखि अलपत्र चौराहा–गोलपार्क सडक : फेरि थपियो म्याद  आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै बुटवल हस्पिटलको सेवा र पूर्वाधार उत्कृष्ट : अफिन अध्यक्ष खड्का रूपन्देहीका विद्यालयमा सर्पदंश रोकथाम र सर्प संरक्षणबारे सचेतना अभियान बुटवल अटो इन्जिनियरिङ एशोसियसनको स्थापना दिवस : आज ब्याडमिन्टन प्रतियोगिता सम्पन्न  नेपाली बजारमा नथिङको नयाँ स्मार्टफोन ‘फोन (४ए)’ सार्वजनिक
समाचार :

पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका

रूपन्देही–२ यतिबेला चुनावी गतिविधिले तातेको छ । विसं २०६४ यता निरन्तर निर्वाचित हुँदै आएका नेकपा (एमाले)का उपाध्यक्ष, पूर्वउपप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पुनः प्रतिनिधिसभा निर्वाचनका लागि मतदातामाझ पुगेका छन् । यसपटक उनी ‘समृद्ध रूपन्देही’को दीर्घकालीन अवधारणा र विकासको निरन्तरताको एजेन्डासहित चुनावी मैदानमा सक्रिय देखिन्छन् ।

पौडेलले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर रूपन्देहीलाई राष्ट्रिय विकासको अग्रणी केन्द्र बनाउने अभियान भएको बताएका छन् । विगतमा सडक, पुल, स्वास्थ्य संस्था, औद्योगिक पूर्वाधार र खेलकुद संरचना निर्माणमार्फत विकासको आधार तयार भएको उल्लेख गर्दै अब गुणस्तरीय सेवा, रोजगारी सिर्जना र उत्पादन वृद्धि केन्द्रित चरणमा प्रवेश गर्नुपर्ने उनको तर्क छ ।

विकासको निरन्तरता बनाम नयाँ प्रतिस्पर्धा

पौडेलले मतदातालाई आकर्षित गर्न अनुभव, निरन्तरता र परिणामलाई मुख्य आधार बनाएका छन् । उनका अनुसार विकासको लाभ सबै समुदाय र वडासम्म पुर्‍याउने स्पष्ट प्रतिबद्धता नै आफ्नो राजनीतिक अभियानको केन्द्र हो । उनले भौतिक पूर्वाधारसँगै सामाजिक विकास र सबल अर्थतन्त्र निर्माणलाई यसपटक प्राथमिकतामा राखेको बताए ।

नेकपा (एमाले)ले निर्वाचनमा राष्ट्रिय दृष्टिकोण र स्थानीय आवश्यकता जोडेर एजेन्डा अघि सारेको उनको दाबी छ । आर्थिक स्थायित्व, सुशासन, उत्पादन वृद्धि र राष्ट्रिय स्वाभिमानलाई राष्ट्रिय मुद्दाका रूपमा प्रस्तुत गरिएको छ भने स्थानीय तहमा स्वास्थ्य, शिक्षा, उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिइएको उनले बताए । केन्द्रमा नीतिगत स्थिरता बिना स्थानीय विकास सम्भव नहुने उनको धारणा छ ।

उपलब्धि र नयाँ योजना

आफ्नो राजनीतिक यात्राका प्रमुख उपलब्धि उल्लेख गर्दै पौडेलले रूपन्देहीमा पूर्वाधार विकासले गति लिएको दाबी गरे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता, बुटवललाई सडक सञ्जालसँग जोड्ने योजना, तिनाउ–दानव नदीमा पुल निर्माण, नदी नियन्त्रण तथा सिद्धबाबा सुरुङमार्गजस्ता परियोजना उनले उदाहरणका रूपमा प्रस्तुत गरे ।

आगामी योजनामा कालीगण्डकी डाइभर्सन, सिद्धार्थ राजमार्ग स्तरोन्नति, तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’, मोतीपुर औद्योगिक क्षेत्र सञ्चालन, स्वास्थ्य संरचना सुदृढीकरण र खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । अर्थमन्त्री हुँदा आर्थिक सुधार, राजस्व व्यवस्थापन र निजी क्षेत्रको विश्वास पुनःस्थापना गर्ने प्रयास गरेको दाबी पनि उनले गरे ।

नयाँ दलको चुनौती र राजनीतिक प्रतिस्पर्धा

हालको निर्वाचनमा नयाँ दल र स्वतन्त्र उम्मेदवारको उपस्थितिलाई उनले लोकतन्त्रको सकारात्मक संकेत मानेका छन् । तर अन्ततः मतदाताले स्थिरता र परिणामलाई नै रोज्ने विश्वास व्यक्त गर्दै मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने आकलन गरे । अघिल्लो निर्वाचनमा गठबन्धनसँग प्रतिस्पर्धा गर्दै थोरै मतान्तरले विजयी भएको स्मरण गर्दै यसपटक फराकिलो मतान्तरको अपेक्षा उनले गरेका छन् ।

पार्टी एकता र संसदीय प्राथमिकता

महाधिवेशनपछि एमाले अझ संगठित बनेको दाबी गर्दै पौडेलले पार्टीभित्र मतभेद स्वाभाविक भए पनि नीति र नेतृत्वप्रति प्रतिबद्धता स्पष्ट रहेको बताए । संसद्मा प्रभावकारी भूमिका खेल्दै पारदर्शी बजेट, जनहितका विधेयक र सुशासनका पक्षमा सशक्त आवाज उठाउने उनको प्रतिबद्धता छ ।

स्वास्थ्य, उद्योग र शिक्षा केन्द्रित योजना

जिल्लाको विकासका लागि स्वास्थ्य र पूर्वाधारलाई तत्कालीन प्राथमिकता बनाइएको छ । १,२०० शय्याको लुम्बिनी प्रादेशिक अस्पताल पूर्ण सञ्चालन, स्थानीय अस्पताल स्तरोन्नति, निःशुल्क रक्तसञ्चार सेवा र प्रभावकारी स्वास्थ्य बिमा कार्यान्वयन योजना अघि सारिएको छ । उद्योगतर्फ मोतीपुर औद्योगिक क्षेत्र सञ्चालन, बुटवल औद्योगिक क्षेत्र विस्तार र बेलहिया एकीकृत जाँच चौकी सञ्चालनलाई प्रमुख लक्ष्य बनाइएको छ ।

शिक्षा र युवातर्फ रूपन्देहीलाई शैक्षिक हब बनाउने योजना प्रस्तुत गरिएको छ । सूचना प्रविधिमा रोजगारी सिर्जना गर्दै ‘आईटी हब’ विकास, स्टार्टअप फन्ड र प्रविधिमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । पर्यटन क्षेत्र अन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयन तथा बुद्ध परिपथ विस्तारमार्फत क्षेत्रीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य रहेको छ ।

समृद्धिको दाबी, जनमतको परीक्षा

पौडेलले रूपन्देही विकासको आधार तयार भइसकेकाले अब तीव्र समृद्धिको चरणमा प्रवेश गर्नुपर्ने बताएका छन् । सांसदले राष्ट्रिय नीति निर्माण र स्थानीय विकास दुवै भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ ।

चुनावी मैदानमा अनुभव, विकासको दाबी र भविष्यका योजनासहित उत्रिएका पौडेलका लागि यसपटकको निर्वाचन केवल जित–हारको प्रतिस्पर्धा मात्र नभई ‘समृद्ध रूपन्देही’ अवधारणामाथिको जनमत परीक्षणसमेत बन्ने देखिन्छ । अब मतदाताले निरन्तरताको राजनीति रोज्छन् वा नयाँ विकल्पतर्फ मोडिन्छन् भन्ने निर्णय निर्वाचन परिणामले तय गर्नेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित