रुपन्देही–२ मा प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै जाँदा राजनीतिक बहस केवल दलगत प्रतिस्पर्धामा सीमित छैन, बरु पुस्तान्तरण, नेतृत्व शैली र विकासको नयाँ दृष्टिकोणतर्फ केन्द्रित हुँदै गएको छ । यही परिवेशमा नेपाली कम्युनिष्ट आन्दोलनका चर्चित व्यक्तित्व भक्तिप्रसाद पाण्डे ‘चाचा’ का सुपुत्र विश्वदीप पाण्डे चुनावी मैदानमा उभिएका छन् ।
राजनीतिक विरासत बोकेर आएका विश्वदीप आफूलाई केवल इतिहासको उत्तराधिकारी नभई नयाँ समयको आवश्यकता अनुसार राजनीतिक अभ्यास गर्ने उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन् । उनका समर्थकहरूका अनुसार उनले साहस, इमान्दारिता र सिद्धान्तनिष्ठ राजनीतिको परम्परालाई आधुनिक दृष्टिकोणसँग जोड्ने प्रयास गरिरहेका छन् ।
राजनीतिक वातावरणमै हुर्किएको बाल्यकाल
२०४३ असोज १२ मा जन्मिएका विश्वदीपको स्थायी घर रुपन्देहीको सैनामैना–१, बनकट्टा हो । जन्मेको केही महिनामै अर्घाखाँचीबाट रुपन्देही बसाइँ सरेको पाण्डे परिवार राजनीतिक सक्रियताका कारण चिनिन्थ्यो ।
बाल्यकालदेखि नै उनको जीवन राजनीतिक चेतनाले घेरिएको थियो । घरमा हुने छलफल, आन्दोलनका अनुभव र जनजीवनका विषयले उनलाई सानैदेखि समाज र राज्यबारे सोच्न प्रेरित गर्यो । पञ्चायतकालदेखि जनयुद्धसम्म सक्रिय रहेका ‘चाचा’ले मजदुर आन्दोलन, सुकुम्बासी अधिकार र सामाजिक न्यायका मुद्दामा खेलेको भूमिकाले विश्वदीपको सोच निर्माणमा गहिरो प्रभाव पारेको देखिन्छ ।
बुटवलस्थित लुम्बिनी तथा नमूना बोर्डिङ स्कूलबाट विद्यालय शिक्षा पूरा गरेका उनले काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक अध्ययन गरे । अध्ययनसँगै लेखन, अनुसन्धान र संगठन निर्माणमा उनको सक्रियता बढ्दै गयो ।
संक्रमणकालीन राजनीतिबाट आर्जिएको अनुभव
विश्वदीपको राजनीतिक यात्रा औपचारिक पदभन्दा पहिले अनुभवबाट सुरु भएको देखिन्छ । माओवादी र सात दलबीच भएको ऐतिहासिक १२ बुँदे समझदारी, दोस्रो जनआन्दोलन तथा शान्ति प्रक्रियाका संवेदनशील क्षणहरूमा उनले शीर्ष नेतृत्वसँगै काम गर्ने अवसर पाए ।
राजनीतिक संक्रमणकालका कठिन संवाद र वार्तामा सहभागी हुँदा उनले समन्वय, सहकार्य र समझदारीको अभ्यास सिके । यही अनुभवलाई उनी आजको विभाजित राजनीतिक वातावरणमा उपयोगी पूँजी मान्छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयमा लामो समय काम गर्दै उनले अर्थमन्त्री तथा प्रधानमन्त्रीको स्वकीय सचिव र सल्लाहकारको भूमिका निर्वाह गरे । त्यसैगरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पछिल्लो सरकारमा युवा तथा सामाजिक विकास विज्ञका रूपमा काम गर्दै नीति निर्माण प्रक्रियाको प्रत्यक्ष अनुभव हासिल गरे ।
हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग सदस्य रहेका उनी संगठनात्मक राजनीतिमा सक्रिय छन् ।
अन्तर्राष्ट्रिय मञ्चदेखि स्थानीय राजनीति
विश्वदीपले राष्ट्रिय राजनीतिसँगै अन्तर्राष्ट्रिय अनुभव पनि सँगालेका छन् । दुबईमा आयोजित ‘कोप–२८’ सम्मेलन, चीनको एशियाली खेलकुद उद्घाटन समारोहलगायत कार्यक्रममा नेपाल सरकारको प्रतिनिधिमण्डल सदस्यका रूपमा सहभागी भएका उनले विश्व राजनीति, विकास मोडल र कूटनीतिक अभ्यास नजिकबाट हेर्ने अवसर पाए ।
अमेरिका, युरोप, अष्ट्रेलिया, भारत, चीन लगायतका देशको भ्रमणले विकास र प्रशासनका विभिन्न अभ्यास बुझ्न सहयोग पुगेको उनी बताउँछन् । डिजिटल अभियान, संगठन विस्तार र जनसम्पर्कमा दक्ष युवा नेताका रूपमा उनको पहिचान बनिरहेको छ ।
पुस्तागत समन्वयको ‘सेतु’
नेपालको राजनीतिक यात्रा संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नयाँ चुनौती देखिएको छ—अनुभव र आकांक्षाबीचको दूरी । पुरानो पुस्ताको संघर्ष र नयाँ पुस्ताको अपेक्षाबीच संवाद आवश्यक रहेको विश्वदीपको धारणा छ ।
पाको पुस्तासँग काम गरेको अनुभव र जेन–जी पुस्तासँग सहकार्य गर्ने शैलीका कारण उनी आफूलाई पुस्तागत समन्वयको स्वाभाविक सेतुका रूपमा प्रस्तुत गर्छन् । प्रधानमन्त्री तथा अर्थमन्त्री कार्यालयदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मको अनुभवले जनता र राज्यबीचको दूरी घटाउन सक्ने विश्वास उनी व्यक्त गर्छन् ।
शिक्षा र स्वास्थ्य : सामाजिक विकासको आधार
चुनावी प्रतिबद्धतामा उनले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन् । सामुदायिक विद्यालयको पूर्वाधार सुधार, विद्यार्थी सङ्ख्याअनुसार शिक्षक दरबन्दी, व्यवहारिक रूपमा निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयन गर्ने योजना उनले अघि सारेका छन् ।
बुटवल बहुमुखी क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्दै स्नातकोत्तर, एमफिल र पीएचडी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य पनि उनले राखेका छन् । प्राविधिक शिक्षामा जोड दिँदै अटो इन्जिनियरिङ कलेज स्थापना र बहुप्राविधिक शिक्षालयको स्तरोन्नति गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।
स्वास्थ्य क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न अस्पताल बनाउने, क्यान्सर उपचार सेवा विस्तार गर्ने तथा प्रत्येक वडामा आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउने योजना उनका प्रमुख एजेन्डा हुन् । दीर्घरोगको निःशुल्क उपचार र स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
युवा केन्द्रित विकास र रोजगारी
युवा पलायन रोक्ने लक्ष्यसहित उनले बहुआयामिक रोजगारी कार्यक्रम ल्याउने घोषणा गरेका छन् । “मेरो देश, मैले मेरै पालामा बनाउँछु” भन्ने अभियानमार्फत युवामा जिम्मेवारीबोध जगाउने उनको योजना छ ।
खेलकुद पूर्वाधार निर्माण, राष्ट्रिय स्तरको रंगशाला, कवर्ड हल तथा स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि उनले अघि सारेका छन् । विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै युवालाई सफ्टवेयर तथा डिजिटल उद्यमतर्फ आकर्षित गर्ने प्रतिबद्धता उनको घोषणापत्रमा समावेश छ ।
समावेशी समाज र आधुनिक पूर्वाधारको दृष्टि
लैंगिक समानता, सामाजिक समावेशिता र हिंसामुक्त समाज निर्माणलाई उनले विकासको आधार मानेका छन् । विपन्न वर्गका लागि सामुदायिक आवास, अपाङ्गता भएका व्यक्तिका लागि सीप विकास कार्यक्रम र सहयोगापेक्षी सडक मानवमुक्त क्षेत्र निर्माण गर्ने योजना उनले अघि सारेका छन् ।
भौतिक पूर्वाधारतर्फ आधुनिक सडक सञ्जाल, स्मार्ट पार्किङ, डिजिटल सेवा प्रवाह, आधुनिक बसपार्क, नदी व्यवस्थापन र हरित क्षेत्र विकास उनका दीर्घकालीन योजनामा छन् । तिनाउ नदी क्षेत्रमा जलयातायात सञ्चालन गर्दै पर्यटन प्रवर्द्धन गर्ने तथा ऐतिहासिक स्थल संरक्षणमार्फत पर्यटन हब निर्माण गर्ने अवधारणा पनि उनले प्रस्तुत गरेका छन् ।
‘डेलिभरी’ केन्द्रित राजनीतिक दाबी
विश्वदीप पाण्डे आजको राजनीतिमा विचार मात्र पर्याप्त नभई परिणाम देखाउनुपर्ने आवश्यकता रहेको बताउँछन् । राज्य संयन्त्रमा आर्जित अनुभव, अन्तर्राष्ट्रिय सम्बन्ध र स्थानीय जनसम्पर्कलाई जोड्दै विकासको ‘डेलिभरी’ दिने क्षमता आफूमा रहेको उनको दाबी छ ।
रुपन्देही–२ मा उनको उम्मेदवारीलाई कतिपयले राजनीतिक पुस्तान्तरणको संकेतका रूपमा हेरेका छन् । पुरानो संघर्षको विरासत र नयाँ पुस्ताको आकांक्षाबीच सन्तुलन कायम गर्न सक्ने नेतृत्व खोजिरहेका मतदाताका लागि विश्वदीपको परीक्षण अब निर्वाचनमार्फत हुनेछ ।






