बुटवल । बुटवलको बागेश्वरी कला तथा संगीत एकेडेमीले आयोजना गरेको ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’ को उपाधि अक्सफोर्ड सेकेण्डरी स्कुल बुटवलका अंकित गौतमले जितेका छन् । भने ग्लोरी स्कुलकी अध्यता भण्डारी फस्ट रनर अप भइन् । अन्य ८ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि विजेता बनेका गौतमले ५५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाए । यस्तै फस्ट रनर अप भएकी भण्डारीले ३५ हजार रुपैयाँ र सेकेन्ड रनर अप हुन सफल मणिमुकुन्द सेकेण्डरी स्कुलकी दिया सारुले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता संयोजक डिबी लोहनीले जानकारी दिए ।
विगत २६ वर्षदेखि बुटवलमा सञ्चालनमा रहेको एकेडेमीले नयाँ पुस्ताका विद्यार्थीहरुलाई लक्षित गरी बालबालिकामा रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको एकेडेमीकी सञ्चालक लालिमा श्रेष्ठले बताइन् । उनका अनुसार गट ट्यालेन्ट प्रतियोगिताअन्तर्गत रुपन्देहीका बिभिन्न विद्यालयका बिद्यार्थीहरुले नृत्य, गायन, वाद्यवादन, अभिनय÷नाटक, कमेडी, ¥याप जस्ता विधामा प्रतिस्पर्धा गरेका थिए ।
सहभागि विद्यार्थीहरुलाई बिभिन्न ५ वटा चरणमा प्रतिस्पर्धा गराइएको एकेडेमीका म्यानेजर सुमन गहतराजले जानकारी दिए । उनका अनुसार ग्राउन्ड अडिसन, मेघा अडिसन, वर्कसप, सेमीफाइनल हुँदै नृत्य विधातर्फ ६ जना र गायन विधातर्फ ३ जना गरी ९ जना फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका थिए । ‘नो भोट, नो एसएमएस’भन्ने मूल नारासहित सम्पन्न भएको प्रतियोगिताको निर्णायकमा मनिष सारु र विनोद चौधरी रहेका थिए ।
सोही अवसरमा बोल्दै नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले विद्यार्थीहरूभित्र लुकेको कुनै पनि प्रतिभालाई उजागर गर्न यस्ता ट्यालेन्ट सोले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिन आग्रहसमेत गरे ।










