बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न भएको छ ।
धर्म, संस्कार कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक लुम्बिनी पूजासामग्री भण्डार बुटवलद्वारा सामूहिक शंख बजाउने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । विश्व हिन्दु महासंघ बुटवलको सभाहलमा आयोजित कार्यक्रममा २० जना प्रशिक्षकहरूले विभिन्न समूहमा प्रशिक्षार्थी हरूलाई विभाजन गरी शंख बजाउन अभ्यास गराइएको थियो ।
कार्यक्रममा शंखको उत्पति, परिचय, शंखको धार्मिक, सांस्कृतिक वैज्ञानिक महत्व, शंख फुक्दा स्वास्थ्यमा, वास्तुमा, पर्यावरणमा हुने लाभको बारेमा वाचन सम्राट एवं धार्मिक अभियन्ता भीमकान्त पन्थीले कार्यपत्र पेश गर्नुभएको थियो । प्राध्यापक डाक्टर बाबुराम ज्ञवालीले गीता र विभिन्न पुराणहरुमा शंखको महिमा, स्थान र कथा प्रसंग भएको उल्लेख गर्नुभएको थियो ।
सञ्चारकर्मी खेम रेग्मीले यस प्रकारका कार्यक्रमले हाम्रो धर्म संस्कृतिको रक्षार्थ ठूलो टेवा पुर्याउने र यस्ता कार्यक्रम निरन्तर गरिरहनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
घरघरमा शङ्ख भएर पनि बिहान सांझको नित्य पूजामा बज्न छोडेको, शंख बजाउने इच्छा भंखर पनि बजाउन नजानेको र कतिपय देवकार्यमा समेत बज्न छोडेकोले शंख प्रशिक्षण कार्यक्रमक मार्फत सबैलाई शंख बजाउन सिकाउने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका सभापति जनार्दन न्यौपानले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष अधिवक्ता बेनबहादुर पौडेलले जीवनमा पहिलोपटक यस प्रकारको कार्यक्रम देख्ने अवसर पाएको र साच्चिकै यसले हाम्रो सनातन धर्म संस्कृतिको रक्षार्थ ठूलो टेवा पुर्या विश्वास व्यक्त गर्नुभयो ।










