रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ मा लालपूर्जा वितरण गरिएको छ ।
आइतबार वडा नम्बर ६ अन्तर्गत रहेका गाउँ ब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।
‘गाउँ ब्लक जग्गाको प्रमाणपूर्जा जनतासँग नहुँदा निकै नै समस्या थियो,’उनले भने–‘हामी नागरिकलाई लालपूर्जा वितरण गर्न लागिपर्यौं र आज यो कार्यमा सफल भएका महसुस गरेका छौँ ।’
उनले अन्य कामसँगै आफ्नो जग्गाको मालिक जनता आफै बनाउनुलाई प्राथमिकतामा राखेर काम गरेको जनाए ।
अध्यक्ष यादवले जनताको हातमा लालपूर्जा देख्दा निकै नै खुसी लागेको बताए। गत वर्ष रोहिणी–३ मा आयोजित समारोहमा ४५० वटा लालपूर्जा वितरण गरिएको उनले जानकारी दिए ।
नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीले जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने दिनलाई आफूले आफ्नो भाग्यको दिनको रुपमा समेत लिएको बताए । उनले बाँकी वडामा पनि पूर्जा वितरण गरिने बताए ।
गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजनले लालपूर्जा वितरण आफैमा महत्त्वपूर्ण कार्य भएको बताइन् । स्थानीय देवेन्द्र पाण्डे ‘सागर’ ले कानूनी रुपमा नागरिक अब जग्गाको मालिक बनेपछि खुसी लागेको बताए ।





