दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

दशैं बिदामा पनि निरन्तर लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको काम

लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनामा राखेको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माणको काम दसैँ बिदामा पनि निरन्तर चलिरहेको छ । हालसम्म साढे २८ प्रतिशत भौतिक प्रगति भएको यो आयोजनालाई समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीले आफ्नो तीव्रतालाई कायम राखेको छ । बर्खाको समयमा समेत पानी नपरेको समयमा निरन्तर निर्माण अघि बढेको थियो भने दसैँ बिदामा समेत आयोजनाको कामले निरन्तरता पाएको हो ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार प्राधिकरण कार्यालयका साइट इन्जिनियर शंकर सुवेदीका अनुसार अहिले मुख्य भवनको बेसमेन्टको काम सकिएर त्यसभन्दा माथिका काम सुरु भएको छ । दोस्रो ‘बेसमेन्ट’ को ढलान सकेर दोस्रो तलामा काम सुरु भएको छ । क्यान्सर भवनको ‘र्याफ्ट फाउन्डेसन’को पनि ढलानको पूरा भई माथिल्लो तलामा काम सुरु भएको प्राधिकरणका साइट इन्जिनियर सुवेदीले जानकारी दिए ।

उनले अहिले निर्माणमा कुनै अवरोध नरहेको र प्राधिकरणले निरन्तर समन्वय गरिरहेको बताए । उनका अनुसार दसैँ बिदामा निर्माणको गति केही कम हुने भएपनि निरन्तर रहनेछ । दैनिक २ सय जनशक्ति खटिँदै आएको उक्त आयोजनामा दसैँ बिदामा भने ३ दर्जन कामदार मात्रै खटिएका छन् । ‘दसैँको पूर्णिमापछि पूरै जनशक्ति खटिने हुँदा निर्माणको कामले पुनः तीव्रता पाउनेछ ।’ इन्जिनियर सुवेदीले भने समयमै काम सम्पन्न गर्नका लागि हामीले जोड दिएका छौँ भने, निर्माण कम्पनीले पनि सोही अनुसार तदारुकता देखाएको छ ।

पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छविराज पोखरेलले हालसम्मको प्रगति र कार्य योजनालाई तुलना गर्दा आयोजनाको कार्य योजनाअनुसार नै काम भइरहेको बताए । उनले कुनै प्राकृतिक विपत्ति वा आर्थिक सङ्कट नभएमा आयोजनालाई सम्झौता भएको समय अगाडि नै सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।

निर्माण व्यवस्थापनको अन्तर्राष्ट्रिय प्रावधानअनुसार निर्माण कार्यको व्यवस्थापन तथा गुणस्तर कायम गर्न आयोजना व्यवस्थापन तथा निर्माण सुपरिवेक्षण कन्सल्टेन्टका रूपमा जी-टु-जी माध्यमबाट काठमाडौं विश्वविद्यालयअन्तर्गतको काठमाडौं युनिकन्सल्ट सेन्टरलाई जिम्मेवारी प्रदान गरिएको प्राधिकरणले जनाएको छ । उक्त संस्थाबाट प्राध्यापकको नेतृत्वमा रहेको प्राविधिक टोलीले निर्माणमा प्रत्यक्ष सुपरिवेक्षण गरेको प्राधिकरणका साइट इन्जिनियर सुवेदीको भनाई छ । प्राध्यापकसहितको टोलीले आयोजनाको ‘डिजाइन रिभ्यू’सहितको सुपरिवेक्षण गरिरहेको सुवेदीले बताए ।

निर्माण व्यवसायीको १० जनाको विशेष प्राविधिक टोलीसहित २०० जनाभन्दा बढी कामदारहरू दैनिक काममा खटिएका छन् । दुई भवन र त्यसका उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ लागत अनुमान गरेको छ । त्यसमा एक भारतीयसहित दुई नेपाली कम्पनीले संयुक्त रूपमा ५ वर्षभित्र भवन निर्माण गर्ने गरी ६ अर्ब १८ करोडमा सम्झौता भएको छ ।

सम्झौताअनुसार विसं २०८५ पुस २५ मा निर्माण सम्पन्न गर्ने योजना छ । नयाँ भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा ९ओपिडी०, आपत्कालीन उपचार ९इमर्जेन्सी० र इन्डोर सर्भिस कक्षसहित एक हजार २०० शय्या रहनेछन् । साथै विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् ।

पूर्वाधार विकास प्राधिकरण सिइओ इन्जिनियर पोखरेलका अनुसार ‘क्याम्पासाइट-आशीष-रेलिगेर’ संयुक्त कम्पनीले ६ अर्ब १८ करोड ५ वर्षमा प्रस्तावित भवन निर्माण सम्पन्न गर्ने गरी २०८० पुस २६ गते निर्माण सम्झौता गरेको हो । सम्झौता भई कार्यादेश पाएको निर्माण व्यवसायी कम्पनीले २०८० साल माघ १८ गतेदेखि अस्पताल भवनको निर्माण प्रारम्भ गरेको थियो ।

भवनको शिलान्यास तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए । लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले यो अस्पताललाई प्रदेश गौरवको आयोजनामा राखेर काम अघि बढाएका थिए । अस्पतालमा दैनिक तीन हजारसम्म ओपिडीका बिरामी आउने गरेका छन् ।

अस्पतालमा वार्षिक झन्डै ४ लाख बिरामीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ । यस अस्पतालबाट अहिले बहिरङ्ग सेवातर्फ जनरल मेडिसिन, न्युरो मेडिसिन, कार्डियोलोजी, अर्थोपेडिक सर्जरी, जनरल सर्जरी, प्लास्टिक सर्जरीसहित १७ भन्दा बढी विभागीय सेवा सञ्चालनमा छन् । परीक्षणतर्फ प्याथोलोजी, एक्स-रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, क्लोनोस्कोपी, इइजी, ओपिजी, इकोकार्डिओग्राम लगायतका सेवा उपलब्ध छन् ।

अस्पतालको पहिलो दुई तलामा व्यवस्थित पार्किङसहित विशिष्टीकृत उपचार सेवा प्रदान गर्ने गरी १२ तलाको आधुनिक अस्पताल भवन र क्यान्सरको उपचारका लागि अलग्गै भवनको निर्माण चलिरहेको छ । विसं २०५० सालमा १०० शय्यामा विस्तार भएको अस्पतालमा विसं २०७२ सालबाट सरकारबाट ३०० र विकास समितिबाट १०० शय्या गरी ४०० शय्यामा स्तरोन्नति भए पनि अहिले ५२४ शय्यामा बिरामीको उपचार हुने गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित