
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर–३ को उपचुनावमा उम्मेदवारका आकांक्षी मधु अर्यालले आफू भूगोलले मागेको उम्मेदवार भएको बताएका छन् ।
पार्टीको क्षेत्रीय सभापति समेत रहेका अर्याल पार्टी स्थापनाकालदेखि निरन्तर रुपन्देही ३ मा संगठन निर्माणमा खटेको, क्षेत्रका समस्या र सम्भावना राम्ररी पहिचान गरेकाले आफूले टिकट पाए क्षेत्रलाई कायापलट बनाउने ‘भिजन’ तयार गरेको बताए ।
रास्वपालाई रुपन्देही–३ मा संगठन विस्तारमा नेतृत्वदायी भूमिका खेलेका उनले शुरुमा ५ सय पार्टी सदस्य रहेकामा आफू क्षेत्रीय सभापति भएपछि करिब २८ सय जना पार्टी सदस्य पुगेको बताए । रास्वपाको उम्मेदवारको लागि अर्यायसहित ९ जना टिकटको आकांक्षी छन् ।
पार्टीले गरेको ब्लुप्रिन्ट संवादमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाई भैरहवामा पर्यटन क्षेत्रमा गरिएको लगानीलाई सुरक्षित गर्न, विमानस्थल जोड्ने सडक कनेक्टिभिटी र लुम्बिनीको पर्यटन विकास, खेल पर्यटन सहित रुपन्देहीको एकीकृत विकास गर्ने मुख्य एजेण्डा प्रस्तुत गरेको अर्यालले बताए । कृषिलाई व्यवसायीकरण, माछा सुपर जोन, प्राङगारिक खेतीलाई जोड दिने आफनो एजेण्डा रहेको उनले सुनाए ।
उनले मतदाताको घरदैलोमा पुग्दा अधिकांशले रास्वपाबाट परिवर्तनको आशा गरेकाले चुनावी माहोल रास्वपामय रहेको दावी गरे ।
उनले भ्रष्टाचारको अन्त्य गरी सुशासन, जनताको पक्षमा कानून र नीति निर्माणसंगै संसदमा सशक्त प्रतिपक्षी सांसदको भूमिका खेल्दै २०८४ मा रास्वपाको वहुमतको ढोका खोल्न रुपन्देही ३ मा जित निकाल्न आफू सबैभन्दा उपयुक्त उम्मेदवार हुने दावी गरे ।
रुपन्देही ३ मा नदी दोहन र ढंगा,गिटीबालुवा चोरी तस्करीको ठूलो समस्या रहेको भन्दै आफूले यसलाई नियन्त्रण गर्न सही नीति बनाउन भूमिका खेल्ने बताए । निर्वाचन आयोगले रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनको मिति सार्वजनिक गर्दा रुपन्देही ३ का ३६ वडामध्ये २ वडा वडा समिति रहेकामा त्यसयता आफ्नो सक्रियतामा ३४ वडामा संगठन विस्तार भएको अर्यालले बताए ।
‘क्षेत्रका आफ्ना पार्टीका नेता कार्यकर्ताहरुको चाहना र सुझाव अनुसार नै उम्मेदवार बन्न लागेको हुं, पार्टीले अपनाएको उम्मेदवार छनोट विधि अनुसार पनि प्राइमरी इलेक्सन र अन्य मापदण्डमा अब्बल दावी गरेको छु’–अर्यालले भने–‘म निर्वाचन क्षेत्रका मुद्धालाई स्थापित गर्ने गरी उम्मेद्वार बन्न खोजेको हुँ ।’ भूगोललाई मसिनो गरी बुझेका अर्याल उम्मेद्वार भएकाले कार्यकर्ताहरु समेत उत्साही छन् । अर्याल जे काम गर्छन्, त्यसलाई इमान्दारीपूर्वक गर्नुपर्छ भन्ने मान्यता राख्छन् । अर्यालले अन्य उम्मेद्वारहरुले जस्तो ठूला सपना बाँडेका छैनन् ।
राष्ट्रिय गौरवको आयोजनामा पर्ने गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रतनिधिसभा सदस्यका रुपमा आफूले अभिभाकत्व लिने गरी नीतिगत पहल गर्ने उनको अठोट छ । त्यसो त अर्यालले पार्टी समक्ष आफ्ना योजनाहरुको विस्तृत योजना नै पेश गरेका छन् , तर उनले आफू सांसदका रुपमा नीतिगत र कानुनी रुपमा गर्न सक्ने भूमिकालाई मुख्य एजेन्डाका रुपमा अघि सारेका छन् । विमानस्थलसँगै बुद्धजन्मस्थल लुम्बिनीलाई जोडेर आध्यात्मिक पर्यटन र त्यसका लागि बुद्ध सर्किटका लागि पहल गर्ने उनको योजना छ ।
तिनाउ दानव नदीलाई प्रकृति र मानव जीवनसँग जोडेर विकास गर्ने, सहरमुखी क्षेत्र र ग्रामिण इलाकाहरुमा कृषिलाई प्राथमिकता राखेर काम गर्ने उनको प्रतिवद्धता छ । प्रविधिमा आधारित रहेर कृषिको आधुनिकिकरण गरी उत्पादन बढाउने र यसको बजारीकरणमा बिशेष भूमिका खेल्ने उनले बताए । ‘कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनमा बिशेष रुपमा नीतिगत कामहरु गर्न खटिन्छु’ उनले भने । उनले निर्वाचन क्षेत्र न. ३ को मा मल र सिंचाईको व्यवस्था, पूर्वाधार विकासका लागि प्राथमिकताका साथ काम गर्ने योजना बनाएका छन् ।
अर्यालले रास्वपाको संगठन विस्तारमा क्षेत्र, जिल्लामात्रै होइन्, देशका विभिन्न अभियानमा सामेल भएका छन् । पार्टी सभापती रवि लामिछानेसँगै उनी विभिन्न अभियानमा सामेल भएका छन् । नारायणगढ–बुटवल सडक विस्तारका लागि दवाव दिन आयोजित पैदल यात्रामा उनी रवि लामिछानेसँगै हिडेका थिए । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका बेला राहात र उद्धारका बेला पनि अर्याल पार्टी सभापतीसँगै खटिएका थिए ।
यस्तै पाल्पा, अर्घाखाँची, कपिलबस्तुमा रास्वपाका विभिन्न कार्यक्रममा पार्टी सभापतीको सम्बोधनमा सँगसँगै हिडेको उनी बताउँछन् । स्वदेशमा मात्रै होईन अर्याल बेल्जियमको एन्ट्रोपसिटिमा प्रमुख अतिथिका रुपमा सहभागी भएर संगठन विस्तार गरेका थिए । त्यसैगरी उनी पोल्याण्डको राजधानी वासा,बेल्जियमको ब्रसेल्स सहरमा पनि पार्टी गतिविधि विस्तारमा लागेको थिए ।
बुटवल १७ का मधु प्रसाद अर्याल अभियान्ता, लेखक, र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता हुन् । सामाजिक रुपान्तरणका लागि नयाँ काम गर्ने अठोट सहित राजनीतिमा लागेका उनी बालबालिकाको क्षेत्रमा १५ बर्षदेखि काम गरेका व्यक्ति हुन् । बालबालिकमा देखिने संवेदनशिल विश्वव्यापी समस्या ‘अटिजम’मा विद्यावारिधिको शोधकर्ता हुन् । अन्तर्राष्ट्रिय अनुसन्धान फेलोको रूपमा उनले काम गरेका छन् । काठमाडौंका विभिन्न कलेजहरुमा प्राध्यापन समेत गरेका उनले केही विद्यालय तहको पुस्तक लेखेका छन् । कक्षा ११ र १२ को अनिवार्य नेपाली (२०६३) बिषयका सहलेखक हुन भने उनले टाकुरिएका नेपाली कविता सग्रह (२०६१) प्रकाशित छन् । अर्यालको सबै क्षेत्रका व्यक्तिहरुसँग राम्रो सम्बन्ध बनाएका छन् । वैकल्पिक शक्ति मूलधारको पार्टीहरुसँगै प्रतिस्पर्धा गरेर स्थापित हुने उनको मान्यता छ ।
रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् । उम्मेदवार बन्न आवेदन दिनेहरुमा अर्यालसंगै शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर (जेबी) गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री र पुनमकुमारी अग्रवाल रहेका छन् ।
उम्मेदवारका लागि आवेदन दिएकाहरु मध्ये कुसुम महर्जन पार्टी केन्द्रीय सदस्य हुन् । उनी गत आम निर्वाचनमा समानुपातिक उम्मेदवार थिइन् । भैरहवा माइती भई भक्तपुर बस्दै आएकी उनी अहिले उम्मेदवार बन्नकै लागि समानुपातिक सूचिबाट नाम हटाउन पार्टीमा निवेदन दिएकी थिइन् ।
भैरहवा निवासी जेबी गुप्ता रास्वपा रुपन्देहीको संस्थापक मध्येका एक हुन् । २०७९ को चुनावमा रास्वपाबाट उम्मेदवार बनेर ५ हजार ७ सय ९६ मत ल्याएका थिए ।
सहकारी अभियान्ता ज्ञानु पौडेल भैरहवा निवासी हुन् । पौडेल लुम्बिनी विशिष्टीकृत सहकारीको अध्यक्ष,लुम्बिनी प्रदेशकै ठूलो जनउत्थान सहकारीकी पुर्व अध्यक्ष र केन्द्रीय वचत तथा ऋण सहकारी संघकी केन्द्रीय सदस्य हुन् । बुटवल १६ सेमलारका सुलभ खरेल अमेरिकाबाट उम्मेदवार बन्नकै लागि आएको चर्चा छ । पेशाले अधिवक्ता उनी यसअघि पार्टीमा सक्रिय थिएनन् ।
पार्थिवेन्द्र रुपन्देही क्याम्पस भैरहवाका क्याम्पस प्रमुख थिए । उम्मेदवार बन्नका लागि उनले पदबाट राजीनामा दिएका छन् । उनी अघिल्लो चुनावमा विवेकशील साझा पार्टीबाट रुपन्देही ३ मै संघीय सांसदको उम्मेदवार थिए । उनी नेकपा एमालेका स्वर्गीय नेता धनपति उपाध्यायका छोरा र सिद्धार्थनगरकी उपमेयर उमा अधिकारीका पति हुन् । उनी अधिवक्ता पनि हुन् । डा. लेखजंग थापा न्यूरो सर्जन हुन् । उनको भैरहवामा आफ्नै क्लिनिक छ । गत आम निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार थिए ।
रचना क्षेत्री पार्टीको जिल्ला कोषाध्यक्ष हुन् । उनी मन्टेश्वरी विद्यालय सञ्चालक हुन् । पुनमकुमारी अग्रवाल नेपालकै ठूलो प्रांगारिक मल उद्योगकी सञ्चालक हुन् । उनी विगत दश वर्षदेखि राजनीतिमा सक्रिय छन् ।
रास्वपामा उम्मेदवार छनोट विधि अन्तर्गत प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) को नतिजाको ५० अंक, समावेशिताको ५ अंक, पोलिटिकल प्रोक्सिमिटीको २० अंक र लिडरसिप एकेडेमीको नतिजाको २५ अंकका आधारमा उम्मेदवारको अन्तिम टुंगो भदौ १५ गते लाग्ने छ ।
भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते सांझ ७ बजेसम्म उम्मेदवार छनोटका लागि पार्टीको मोबाइल एपबाट अनलाइन भोटिङ (प्राइमरी इलेक्सन) हुने पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
प्राइमरी इलेक्सनमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतदानको ८० अंक, क्षेत्रभित्रका मतदाता रहेका पार्टीका तहगत समिति सदस्यको मतदानको १० अंक र केन्द्रीय समिति सदस्यको मतदानको १० अंकभार रहने छ । पार्टी सदस्यको मतदानमा साउन २६ सम्म पार्टी सदस्यता लिएकाले मात्र मतदानमा भाग लिन पाउने सहमहामन्त्री आचार्यले बताए ।
प्राइमरी इलेक्सनमा रास्वपाले छनोट भएका उम्मेदवारहरु मध्ये पार्टी सदस्य मतदातालाई कोही पनि मन नपरेको अवस्थामा त्यस विकल्पमा पनि मतदान गर्न पाइने र नयां उम्मेदवार ल्याउने विकल्प पनि खुला राखेको छ ।
निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
इलाम र बाराको उपचुनावमा नराम्रो हार ब्यहोरेको रास्वपाले यहांको उपचुनाव जितेर पार्टीको शाखलाई फर्काउने रणनीतिमा छ ।