
बुटवल । बुटवल देविनगरमा २५ लाखको लगानीमा हरि ॐ पुजा सामाग्री उद्योग स्थापना भएको छ । यो उद्योगले एक बर्षमै १५ लाख भन्दा बढि रक्षाबन्धन उत्पादन गरेको छ ।
जनै र रक्षाबन्धन उत्पादन गर्दै आएको उद्योगले शास्त्रीय विधि परम्परा अनुसार पूर्ण सरा र शिखा भएको जनै र रक्षाबन्धन उत्पादन गरेर विक्रि गर्दै आएको छ ।
लोकप्रसाद काफ्ले, जनार्दन न्यौपाने र सुन्दर न्यौपानेको संयुक्त लगानीमा स्थापना भएको उद्योगमा २५ लाख लगानी भएको छ । उद्योगका सञ्चालक जनार्दन न्यौपानेले विदेशी जनैका आयात रोक्नुका साथै धर्म संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उद्योग स्थापना गरेको बताए ।
उनले उद्योगबाट उत्पादित जनै विधि पूर्ण र ५४ सरे रहेको बताए ।
‘हरेक नेपालीका घरमा शुभकार्य गर्न जनै अनिवार्य छ’ उनी भन्छन, ‘नेपालमा वार्षिक ५ करोड जनै आवश्यक पर्ने अनुमान छ । त्यसमध्ये १ करोड जति नेपालमा उत्पादन हुँदै आए पनि अझै पनि बाँकी भारतबाट आउने गर्ने अनुमान हाम्रो छ ।’
उनले कपास र धागो भारतमा उत्पादन गरिएको र नेपालमा ल्याएर हातले शिखा पारेर जनै तयार गरिएको बताए । उद्योग बाट उत्पादित जनै युरोप, अमेरिका लगाएतका देशमा समेत विक्रि हुने गरेको उद्योगको दावी छ । जनै तयारका क्रममा १२५ जनाले रोजगारी पाएको उनले बताए ।
उद्योगका अर्का सञ्चालक लोकप्रसाद काफ्लेले लामो समय सम्म विदेशमा बसेर नेपाल फर्किएपछि नेपालमै केही गरौ भन्ने उद्देश्यले उद्योग स्थापना गरेको बताए ।
उद्योगका अर्का सञ्चालक सुन्दर न्यौपानेले जनैपूर्णिमाका तीनपक्ष यज्ञोपवीत, रक्षाबन्धन र अध्यायोकर्मांग ऋषितर्पणी रहेको बताए ।
हिन्दू धर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोत्कर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिकालागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।