
ढुंगासहितको पहिरो खसेर बुधबार बिहानैदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । राजमार्ग एकतर्फी खुले पनि जोखिम भने कायमै रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राजमार्ग अन्तर्गतको पाल्पा–बुटबल सडक खण्ड राति परेको वर्षाका कारण ठूला ढुंगासहितको पहिरोले बुधबार बिहानैदेखि अवरुद्ध भएको थियो ।
सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान हेडबक्स नजिकै बिहान २ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार प्रहरी, सिद्धबाबा सुरुङमार्ग आयोजना र सडक डिभिजनको डोजरले पहिरो पन्छाएर सडक खुलाइएको छ ।
राजमार्गको अन्य स्थानमासमेत पहिरो खसेर सडक एकतर्फी छ । सिद्धार्थ राजमार्गअन्तर्गत दोभान हेडबक्स नजिकै झरेको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएपछि सडकमा सवारी साधन गन्तव्यतर्फ पठाइएको छ ।
राजमार्ग बन्द हुँदा उत्तर–दक्षिण चल्ने राजमार्गका सबै सवारीसाधन ठप्प थिए । पहिरो पन्छाएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट तराईंका आवतजावत गर्ने सवारीसाधन गन्तव्यतर्फ पठाइएको छ ।
यसअघि पनि राजमार्गको दोभान क्षेत्रमा पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध भएको थियो भने मंगलबार पहिरो खसेर मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए ।
पहिरोले राजमार्गमा जोखिम कायमै
पाल्पाको तिनाउ गाउँपालिका ५, चर्चरे र गौडेपुलको बीचमा तीन वर्षअघि खसेको पहिरो समयमै नियन्त्रण नगर्दा सिद्धार्थ राजमार्ग जोखिममा परेको छ ।
सिद्धार्थ राजमार्गबाट डुम्रेखोलामा खसेको पहिरो व्यवस्थापनमा सडक डिभिजन पाल्पाले समयमै ध्यान नदिँदा सडकमा सवारी साधन एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने बाध्यता बनेको छ ।
समयमै पहिरो व्यवस्थापन नभएपछि राजमार्ग जोगाउन एक महिनादेखि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा प्लास्टिक बिछ्याइएर राखिएको छ । समयमै पहिरो नियन्त्रणको काम नहुादा वर्षायाम सुरु भएसागै सबै सडक खोलामा खस्ने त्रास बढेको स्थानीयले जानकारी दिए ।
सडक डिभिजन पाल्पाले समयमै पहिरो नियन्त्रणको काम गरेको भए सडक बच्ने सम्भावना रहेको स्थानीयको गुनासो छ । ठेक्का भएपछि तत्कालै निर्माण व्यवसायीले निर्माणको काम गरेको भए सडकको पहिरो रोकिन सक्थ्यो ।
सडक डिभिजन पाल्पाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा सडक मर्मतसुधार गर्न ६ महिनाअघि ठेक्का गरेको थियो । चर्चरे क्षेत्रको पहिरो व्यवस्थापन गर्न भगवती कन्स्ट्रक्सन बुटवललाई ४२ लाख रुपैयाँ स्टिमेटसहित ठेक्का लगाएको थियो ।