
लुम्बिनी केबकारमा पर्यटकको आकर्षण देखिएको छ । बुटवल–पाल्पा जोडिएको लुम्बिनी केबलकारले दुई वर्षमा साढे तीनलाख पर्यटक भित्र्याएको छ । २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारले दुई वर्ष पूरा हुन १५ दिन बाँकी (बैशाख मसान्तसम्म) मा ३ लाख ४७ हजार ९७६ पर्यटक भित्राएको कम्पनीले जनाएको छ । केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेका अनुसार साढे तीन लाख पर्यटक मध्ये भारतीय पर्यटकको संख्या मात्रै ४१ हजार ६४८ जना र तेस्रो मुलुकका पर्यटकको संख्या २ सय जना छन् ।
बुटवल ३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुरमा केबलकारको माथिल्लो स्टेशन छ । समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाईमा रहेको स्वच्छ, शान्त र रमणीय बसन्तपुर डांडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेशन सहित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ ( आधुनिक पिङ), बाल उद्यान, रेष्टुंरा, सेमिनार हल लगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै सुनसान डांडो लाई केबलकारले आकर्षक पर्यटकीय गन्तव्य बनाएको हो ।
बसन्तपुरको प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुर्गा माताको मन्दिरलाई पुनःनिर्माण गरी नयां बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् । केबलकार बनेसँगै सुनसान गाउंमा आन्तरिक र वाह्य पर्यटकको आगमनले चहलपहल बढेको छ । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन् ।
माथिल्लो स्टेशनमा जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेष्टुरा, ज्वायन्ट स्वीङ (पिङ) लगायत पूर्वाधार बनेका छन् । बसन्तपुरबाट बुटवल, तिलोत्तमा हुँदै भैरहवासम्मको दृश्य र मौसम सफा हुँदा हिम शृंखला समेत देख्न सकिन्छ । समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको भारत सुनौलीका आलोक जोशी बताउँछन् ।
धार्मिक र पर्यटकीय पुर्वाधार, जुनसुकै ऋतुमा अनुकुल मौसम, बजारको कोलाहल र प्रदुषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण बसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको केबलकारका स्थानीय लगानीकर्ता तेजप्रसाद सुनारले बताए ।
अहिले बसन्तपुर सेलिब्रेटी कलाकार, खेलाडी, सबैजसो दलका नेता घुम्न आउने देखि म्युजिक भिडियो सुटिङ गर्ने थलो बनेको सुनारले सुनाए । ‘रुपन्देही आएका बेला पुर्व राष्ट्रपति, प्रधानमन्त्री, पुर्वप्रधानमन्त्री, मन्त्री, सांसद, चर्चित कलाकार सबै एकपटक बसन्तपुर आउने गरेका छन्’, सुनारले भने, ‘शुरु गरेको दुई दशकसम्म केबलकार बनाउन नसक्दा धेरैले खिसिट्युरी गर्थे, अहिले उनीहरु नै स्याबासी दिन्छन् ।’
केबलकारले जन्मदिन परेका व्यक्तिलाई उक्त दिन निशुल्क यात्रा गराउने अफर,हरेक महिनाको एक गते सन्ध्या आरती अफर, ५० जना भन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफरसहित विभिन्न व्यवसायिक संघसंस्थाहरुसंग छुट सम्झौता गरेर बजार प्रवद्र्धन गरिरहेको छ ।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले लुम्बिनी प्रदेशको पहिलो केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा बनेपछि उक्त ठाउँ आकर्षक पर्यटकीय गन्तव्य बनेको बताए । ‘दुई वर्ष अघिसम्म सुनसान थलो अहिले तिनाउ गाउँपालिकाको मात्र हैन प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘केबलकारले पाल्पा तिनाउ–३ र बुटवल वडा नं ३ का बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट तथा प्रतिटिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर वापत दिएको छ, यसले स्थानीय विकासमा पनि राम्रै योगदान भएको छ ।’
केबलकारले दुई वटा स्थानीय तहलाई बैशाख मसान्तसम्म २१ लाख २४ हजारका दरले कूल ४३ लाख ४८ हजार आम्दानी दिएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए । यसवाहेक तिनाउ गाउंपालिकालाई मनोरन्जन कर समेत दिने गरेको छ । अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।
विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी संख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर सैंजू बताउँछन् । केबलकार सञ्चालनमा आएपछि प्रदेश सरकारको पर्यटन विकास परिषद्ले बसन्तपुरलाई प्रमुख पर्यटकीय थलको सूचिमा सूचीकृत गरेको परिषद्का प्रमुख रामु जोशीले बताए ।
केबलकार र पाँचतारे होटेलसहित कुल लागत ५ अर्ब रुपैयाँ लागतको आयोजना अन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा बसन्तपुरमा एकसय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँचतारे होटेल बनाउने प्रक्रिया अघि बढेको छ । केबलकार कम्पनीले बसन्तपुरमा होमस्टे सञ्चालन गर्न गाउँलेलाई आग्रह गरेको छ । उत्पादन भएका सबैखाले कृषि उपज खरिद गरिदिने तथा रोजगारीका लागि योग्य जनशक्ति भए रोजगारी दिने ग्यारेन्टी गरेको केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेले बताए ।
रुपन्देही ब्यापार संघका अध्यक्ष दीपक अधिकारीले लुम्बिनी केबलकार सञ्चालनले बुटवलले प्रदेशको स्थायी राजधानी गुमाउंदा लागेको घाउमा केही हदसम्म मल्हमपट्टि लगाउन सकेको टिप्पणी गर्दै यसले समग्र बुटवलको अर्थतन्त्र चलायमान बनाउन सघाएको बताए । उनले बसन्तपुरमा सबै वर्गका पर्यटकलाई मध्यनजर गरी होटेल छिटो बनाउनुपर्ने सुझाए । ‘क्यासिनो, बैंक्वेट हल, स्वीमिङ पूल सहितको होटेल सञ्चालनमा आउंदा भारतीय र आन्तरिक पर्यटक आगमन बढ्छ,त्यसलाई छिटो अघि बढाउनुपर्छ’, अधिकारीले भने ।
केबलकारलाई दीगोरुपमा सञ्चालन गरी बुटवलको अर्थतन्त्र चलायमान बनाउनुपर्छ भन्ने मान्यताले आफूहरुले केबलकारसंग टिकटमा छुट सहितको सम्झौता नै गरेको अधिकारीले बताए । केबलकारका परिकल्पनाकार लक्ष्मण गौतमले २९ वर्षअघि परिकल्पना गरेर धेरै दुःख, हण्डर खांदै बीचमा धेरैले विश्वास गर्न छाडेको अवस्थामा केबलकार सञ्चालनको सपना पूरा भएपछि बसन्तपुर र बुटवल दुबैलाई गुल्जार बनाएकोमा खुशी व्यक्त गरे । ‘निजी क्षेत्रबाट ठूलो लगानी भएको यस्ता परियोजनालाई दीगोरुपमा चलाउन सरकारी निकायबाट साथ र सहयोग हुनुपर्छ, पर्यटकमैत्री नीति नियम बनाउनुपर्छ’, उनले भने । बुटवलमै स्थानीय लगानीकर्ता रहेको सिद्धार्थ केबलकार पनि सचालनमा आएको छ । तर, औपचारिक उद्घाटन भने भएको छैन ।