
वर्षौदेखि बत्ति मुनिको अध्यारो बन्दै आएको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ को ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी भएका छन् । नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखाको पहलमा गाउंमा विद्युत लाइन बिस्तार गरी मंगलबारदेखि बत्ति बल्न सुरु भएको हो ।
पुर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवल उपमहानगरको तामनगरदेखि ५ किलोमिटर उत्तरतर्फ जंगलको बीचमा रहेको ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय ४६ वर्षीया सुमित्रा गाहाले खुसी भइन । गाउंमा बत्ति पुगेपछि अब दैनिक काम काजमा सहयोग पुग्ने उनले बताइन । प्राधिकरण बुटवल वितरण शाखाका प्रमुख कपिलराज पाण्डेले अब रुपन्देहीमा कुनै पनि गाउं विद्युत सेवाबाट बञ्चित नभएको उल्लेख गरे । ज्यामिरेका ६ घरमा बत्ती बालिएको बताउंदै उनले प्राधिकरणको ४० लाख बढी लागतमा विद्युतीकरण भएको बताए । ८६ वटा विद्युत पोलमार्फत गाउंमा बिजुली पुर्याउने काम भएको उनको भनाई छ ।