
कमलामाई नगरपालिका–३ सिन्धुलीमा स्थापना भएको सिन्धुली कला घरको आयोजनामा कार्तिक १५ र १६ गते बुटवलमा देउसी भैलो कार्यक्रम हुने भएको छ ।
बुटवलका विभिन्न चोकहरुमा सिन्धुली कला घरले कला संस्कृतिको संरक्षण संगै सांस्कृतिक विद्यालयको रुपमा कलाघरलाई विकास गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रमको आयोजना गर्न लागिएको कलाघरका अध्यक्ष सुमन थापा मगरले बताए ।
विश्वका १९५ देशलाई कला मार्फत प्रस्तुत गरी कलाघरलाई विश्व कला घरको रुपमा विकास गर्नुका साथै असायह, दुखि पिडित र बृद्ध रोगी कलाकारहरुका लागि कलाकार आश्रम विकास गर्ने योजना अनुसार देउसी भैलो गर्न लागिएको उनले बताए । तिहारमा देउसी भैलो कार्यक्रम गर्ने कलाघरले त्यसपछि भने मेची महाकाली अभियान सुरु गर्नेछ ।
अध्यक्ष मगरका अनुसार ७७ जिल्लामा सांस्कृतिक कार्यक्रम गरेर कलाघरलाई पूर्ण बनाउन रकम संकलन गरिनेछ । ऐतिहासिक सिन्धुलीगढी नजिकै सिन्धुली कला घर छ । त्यहाँ ४ रोपनी क्षेत्रफल भित्र कला व्यवस्थापन गरी अवलोकन गरिदै आएको छ ।
अध्यक्ष सुमन थापा मगरले राष्ट्रिय झण्डाको आकारमा निर्माण हुने एक विगाहा जमिन खरिदको आर्थिक सहयोगका लागि पनि कार्यक्रम गर्न लागिएको बताए ।
कलाघरको टीमले पञ्चेबाजामा आधारित देउसी भैलोको अलवा लागु औषध दुव्यर्सनी सम्बन्धी गीती नाटक समेत प्रस्तुत गर्नेछ ।